एमालेभित्र पूर्वमाओवादी अतिथिजस्तै : न जिम्मेवारी, न सम्मान

dream cafe
learnar

धनगढी : नेकपा (एमाले) मा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको संकेतसँगै आन्तरिक गुटबन्दी फेरि तातिएको छ।

पार्टीभित्र वर्चस्वको नयाँ होड सुरु हुँदा खासगरी माओवादी र मसाल पृष्ठभूमिका नेताहरू थप पछाडि धकेलिएका छन्।

Amargadhi Education

उनीहरूको राजनीतिक हैसियत कमजोर हुँदै गएको छ भने, सत्ताकेंद्रमा पहुँच टाढिँदै गएको छ।

पूर्वमाओवादीहरूले पार्टी छाडेर एमाले रोजेको केही वर्षमै उनीहरू आफैं पार्टीभित्र ‘अतिथिजस्तै’ बन्दै गएका छन्।

जिम्मेवारीबाट वञ्चित, भूमिकाविहीन र नेतृत्वविहीन अवस्थाको यो संयोजनले उनीहरूको राजनीतिक भविष्यमाथि प्रश्नचिन्ह उठाएको छ।

विद्या भण्डारीले पार्टी नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्ने संकेत दिएपछि ओलीपक्षीय शक्ति सन्तुलन पुनः गडबडिएको छ।

यसले पुराना नवप्रवेशीहरूप्रति ओलीको प्राथमिकता फेरिएको महसुस उनीहरूमा छ।

एक नेताको भनाइमा, ‘भण्डारीजी पुनः फर्किँदा हामीझैँ पछाडि परेकाहरू अझै पर सरेका छौँ।’

ओलीको संरक्षणमा एमाले पसेका माओवादी पृष्ठभूमिका नेताहरू अहिले स्वयं ओलीमाथि नै बढ्दो चुनौतीसँगै असहज बनेका छन्।

आफूहरू प्रत्यक्ष प्रतिस्पर्धामा नजाने तर अध्यक्षको भरोसाले टिकिरहेकाहरू अब त्यही भरोसा खिस्किँदा थप असहज बनेका हुन्।

बादलदेखि लेखराजसम्म…

गृहमन्त्री हुँदै एमाले उपाध्यक्षसम्म बनेका रामबहादुर थापा ‘बादल’ लामो समयदेखि राजनीतिक रूपमा मौन छन्।

उनले अध्यक्ष ओलीको भरमा पार्टी पाएका भए पनि अहिले वरीयतामा पछि परेका छन्।

बैठकमा जाँदा नबोल्ने, अनौपचारिक कुराकानीमा सहभागी नहुने, कमिटीहरू प्रभावशाली बनाउन नसक्ने स्थितिले उनलाई निष्क्रिय नेताका रूपमा चित्रित गरिरहेको छ।

लेखराज भट्ट सचिव भए पनि भूमिकाहीन छन्। मणि थापा मन्त्री भइसके पनि अहिले सार्वजनिक रूपमा देखिँदैनन्।

टोपबहादुर रायमाझी भ्रष्टाचार मुद्दामा जेल परेपछि राजनैतिक दृष्टिले निष्क्रिय भएका छन् भने, प्रभु साहले पार्टी नै टुक्र्याएर नयाँ मोर्चा सम्हालेका छन्।

संगठनभित्र सौतेनी व्यवहार र निराशा

अजयमेरु फाैजी केरा

पूर्वमाओवादी र मसाल पृष्ठभूमिका नेताहरू एमालेभित्र हेपिएर बसेको अनुभूति खुलस्त रूपमा व्यक्त गर्छन्।

उनीहरू भन्छन्, ‘यहाँ योगदानको मूल्य छैन, पैसा र पहुँचले मात्रै अवसर मिल्छ।’

आर्थिक हिसाबले बलियो लेखराज भट्ट जस्तो थोरै टिक्न सकेका छन्, अरू नेता झन् ओझेलमा परेका छन्।

बाग्लुङका लीलाबहादुर थापालाई जुनियर नेतामाथि मातहत राखिएको छ।

मञ्जु चालिसे, नवराज शर्मा जस्ता कांग्रेसबाट आएका नेताहरू पनि कुनै जिम्मेवारी नपाएकोमा चित्त दुखाइरहेका छन्।

विरासत जोगाउने चुनौती, तर नेतृत्व छैन

पूर्वमाओवादीहरूबीच अलग अस्तित्व देखाउने विचार बलियो हुँदै गएको छ।

‘हाम्रो युद्धकालीन संघर्ष, संगठन निर्माण र बलिदानको मूल्य बाँकी रहनुपर्छ’ भन्ने उनीहरूको आग्रह छ।

तर नेतृत्वविहीनताको कारण त्यस्तो पहल सम्भव भएको छैन।

बादलजस्ता शीर्ष नेताको मौनता र निष्क्रियता तल्लो तहका कार्यकर्ताहरूका लागि निराशाको स्रोत बनेको छ।

प्रतिनिधित्वको सीमितता

एमालेबाट माओवादी पृष्ठभूमिका प्रतिनिधिहरू संघ, प्रदेश र स्थानीय तहमा गनिनसक्ने छन्।

संघमा प्रत्यक्ष निर्वाचित टोपबहादुर थिए, तर पद निलम्बित छ। बादल पत्नी नैनकला थापा मात्र समानुपातिक सांसद छिन्।

प्रदेशमा लीलाबहादुर थापा मात्रै गण्डकीतिर समानुपातिक सांसद छन्।

बादलसँग च्यासल पसेका २३ केन्द्रीय सदस्यमध्ये अधिकांश या त पुरानै पार्टी फर्किए या राजनीति छाडे।

‘यदि उनीसँग नेतृत्व क्षमता हुन्थ्यो भने २० पालिका, १० प्रदेश सांसद र ५/७ जना संघीय सांसद पाउने सम्भावना थियो’, एक नेताको भनाइ छ। तर उनी ढुंगाजस्तै मौन छन्, बोल्दैनन्, चल्दैनन्।

एमालेभित्र पूर्वमाओवादी समूह अस्तित्व संकटमा छ। न उनीहरूको आवाज सुनिन्छ, न उनीहरूसँग विकल्प छ।

न उनीहरूले पार्टी परिवर्तनको साहस देखाएका छन्, न पार्टीभित्रै सम्मान जनाउने हैसियत बनाउन सकेका छन्। यस्तो अवस्थामा उनीहरूको भविष्य झन् अनिश्चित देखिन्छ।

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.