जब आमाको उपचारमा फोटोकपी बाधक बन्यो…

dream cafe
learnar

बेला बखत डडेल्धुरा अस्पतालको रिपोर्टिङ गर्ने गर्छु। संघीय सरकारअन्तर्गत सुदूरपश्चिममा रहेको यो एक मात्र अस्पताल हो।

तर, यति ठूलो संरचना भएको अस्पतालमा पनि स्वास्थ्यचौकीसरहको सेवा–सुविधा नपाइने गुनासो बारम्बार सुन्ने गर्छु।

Ird

यस्ता गुनासोहरू प्रायः अस्पतालप्रति ठूलो अपेक्षा राखेकाबाट आउने गर्छन्, जसले गर्दा यस्तो अवस्था ‘सामान्य’ जस्तै लाग्न थाल्छ।

म बिरामीको रूपमा भने निकै कम अस्पताल जान्छु। तर, कहिलेकाहीँ बिरामीको सहयोगीको रूपमा पुग्दा अनुभूति फरक हुन्छ। रिपोर्टिङभन्दा गहिरो र व्यक्तिगत।

आज त्यही भोगाइ यता समेट्ने प्रयास गरेको छु।

हिजो बेलुका आमालाई अचानक सन्चो नभएपछि हतारहतार डडेल्धुरा अस्पताल पुर्‍याउनुपर्‍यो।

इमर्जेन्सी वार्डमा रहेकी एकजना म्यामले सोध्नुभयो, बिमा छ। मैले भने ‘छैन’।

उहाँले सोध्नुभयो, ‘भत्ता लिनुहुन्छ?’ मैले भनेँ, ‘लिनुहुन्छ, सामाजिक सुरक्षा भत्ता (एकल महिला)।’

उताबाट जवाफ आयो उसो भए ‘परिचयपत्र ल्याउनुहोस्, निशुल्क हुन्छ।’

डाक्टरले आमाको उपचार गरिरहनुभएको थियो। दिदीको जिम्मामा छोडेर म तुरुन्तै घर गएँ, ‘एकल महिला परिचयपत्र’ लिएर फर्किएँ।

समय घर्किँदै थियो। घडी हेरे रातिको साढे ८ हुँदै थियो।

परिचयपत्र देखाएपछि मलाई बिल काउन्टर कोठा नम्बर १२ मा जान भनियो। कोठा नं १२ मा एकजना महिला कर्मचारी थिइन्।

मैले  बिरामीको पुर्जी र कार्ड थमाएँ। डाक्टरले एक्सरेदेखि रगत परिक्षण बारे लेखेको थियो।

हेर्दा हेर्दै ती महिलाले भनिन्, ‘यो के हो? फोटोकपी गरेर ल्याउनुहोस्।’

HARDIK AGRo NEw

मैले भनेँ, ‘रातको समयमा फोटोकपी गर्ने ठाउँ छैन, कार्ड यही राखिदिनुहोस्, बिहानै फोटोकपी ल्याइदिन्छु।’

तर, उनको अनुहारमा कुनै भाव देखिएन। उनी झर्किँदै भन्न थालिन्, ‘फोटोकपी गरेर ल्याउनुहोस्। फोटोकपी नल्याएर हुन्न। भोलि बिहान ७ बजे आउनुस्।’

मैले विनम्रतापूर्वक सम्झाएँ, ‘बिरामी इमर्जेन्सीमा छन्। रातको बेला फोटोकपी कहाँ हुन्छ?’ तर उनी सुनिदिने अवस्थामा थिइनन्। बरु उल्टै अस्पतालको व्यवस्थापन पक्षको बारेमा नानाथरी भनिरहिन्।

म बाध्य भएर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ‘करुणाकर ओझा’लाई फोन गरें।

उहाँले भन्नुभयो, ‘भाइ,  फोटोकपी त्यहीँ हुन्छ।’ मैले ती महिलाले भनेको कुरा अध्यक्षलाई भने।

फोन ती महिलालाई दिएँ। सुरुमा लिन मानिनन्। पछि लिइन्, कुरा गरिन्। अनि मलाई फोन दिइन्। उताबाट उत्तर आयो, ‘फोटोकपी त्यतै हुन्छ भाइ।’

तर, व्यवहार अझै नरम भएन। उनी अझै अडिइरहिन्। उल्टै दिदी भनेर कसैलाई फोन गर्दै थिइन्, ‘एकल महिलालाई छुट दिनुपर्ने हो र?’ त्यहाँबाट जवाफ आयो, ‘ हो, हुन्छ, गर्देउ न।’

रिस उठिरहेको थियो। तर, मैले आफैंलाई सम्हाल्दै सोधेँ, ‘तपाईंको नाम के हो?’  आइडीकार्ड नभिरेकी ती महिलाको जवाफ आयो  ‘नाम किन चाहियो?’

मैले भनेँ, ‘त्यतिकै कतै देखेजस्तो लागे।’ त्यसपछि उनी उल्टै सोधिन्,  ‘घर कता?’ ‘अमरगढी’, भनेपछि थपेँ,  ‘ म शेर भण्डारी।’

त्यसपछि केही नबोली उनी अर्को कोठामा गइन्। फोटोकपी गरिन्। बिल काटिन्। पछि थाहा भयो, ती महिला… ‘पन्त’ थिइन्। कसैले कानमा भने, ‘सर, पावरवाली हुन्।’

त्यसपछि एक्सरे र ल्याब कक्षमा पुगेँ। त्यहाँका कर्मचारीको व्यवहार आत्मीय र सहयोगी लाग्यो।

त्यो देख्दा मनमा लाग्यो, ‘यही त हो फरक। पहुँचका भरमा भर्ना भएका कतिपयको व्यवहार र सेवामा आएका धेरैको बीचको अन्तर।’

फेरि अध्यक्ष  दाइ (करुणाकर) को फोन आयो, ‘उपचार हुँदै छ नि भाइ, केही परे भन्नु।’ मैल ‘हुन्छ दाइ।’ भन्दै फोन काटे।

मसँग अध्यक्षलाई फोन गर्ने ‘पहुँच’ थियो। त्यसैले सहुलियत भयो। तर, मजस्तै अरू हजारौं बिरामीका आफन्त, गाउँका ती आमाबुवा, ती दिदीबहिनीहरू जसको पहुँच छैन… ‘उनीहरूले कति सास्ती सहनुपर्छ होला?’ ‘कसले सुन्छ उनीहरूको आवाज?’ ‘कसले बुझ्छ उनीहरूको विवशता?’

अस्पताल सेवाको आत्मा ‘सम्वेदना’ हो। तर पावरको आडमा त्यही सम्वेदना दह्रो चोक्टी लगाउनेहरूकै कारण स्वास्थ्यसेवा प्रती जनताको भरोसा कमजोर भइरहेको छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.