बोहरा मेडिको सेन्टर

स्वास्थ्यमन्त्री मेहतालाई डडेल्धुरा मेडिकल कलेजका डीनको खुलापत्र

dream cafe
learnar

डडेल्धुरा : सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय, डडेल्धुरा मेडिकल कलेजका डीन सहप्राध्यापक डा. डबलबहादुर धामीले डडेल्धुरामा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्न सरकारसँग आग्रह गरेका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतालाई खुला पत्र लेख्दै डीन धामीले सुदूरपश्चिम प्रदेशको ट्रमा सेन्टर डडेल्धुरामा स्थापना गर्न आग्रह गरेका हुन्।

CNA

सरकारले सातै प्रदेशमा आवश्यक पूर्वाधार, आधुनिक उपकरण, दक्ष जनशक्ति तथा बहुविषयगत विशेषज्ञ टोलीसहित प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने तयारी गरेको विषयलाई सकारात्मक रूपमा लिँदै उनले सुदूरपश्चिमको भौगोलिक अवस्था र स्वास्थ्य सेवामा रहेको पहुँचको चुनौतीलाई ध्यानमा राखेर डडेल्धुरालाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन्।

सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाका लागि डडेल्धुरा स्वास्थ्य सेवाको महत्वपूर्ण केन्द्र रहेको उल्लेख गर्दै उहाँले यहाँ ट्रमा सेन्टर स्थापना भएमा डडेल्धुरासहित बैतडी, डोटी, बझाङ, बाजुरा, दार्चुला र अछामका करिब १५ लाख नागरिक लाभान्वित हुने बताएका छन्।

Afano fm

दुर्गम बस्ती, जोखिमपूर्ण सडक सञ्जाल र दुर्घटनापछिको उपचारमा हुने ढिलाइका कारण नागरिकले अकालमै ज्यान गुमाउनुपर्ने तथा दीर्घकालीन अपाङ्गताको जोखिम बेहोर्नुपर्ने अवस्था रहेको पत्रमा उल्लेख छ। डडेल्धुरामा ट्रमा सेन्टर स्थापना भएमा दुर्घटनामा परेका बिरामीलाई समयमै विशेषज्ञ उपचार उपलब्ध हुने र धनगढीलगायत टाढाका स्वास्थ्य संस्थामा रिफर गर्नुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, डडेल्धुरा अस्पताललाई शिक्षण अस्पतालका रूपमा सुदृढ गर्दै ३०० शय्याको अस्पतालका रूपमा चरणबद्ध विकास गर्ने लक्ष्य तथा सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत स्वास्थ्य विज्ञान संकायबाट भइरहेको स्वास्थ्य शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवा विस्तारले डडेल्धुरालाई क्षेत्रीय स्वास्थ्य केन्द्रका रूपमा विकास गर्न आधार तयार गरेको पत्रमा उल्लेख छ।

सरकारको सातै प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने योजनाअन्तर्गत सुदूरपश्चिम प्रदेशको ट्रमा सेन्टर डडेल्धुरामा स्थापना गर्ने निर्णय गरी आवश्यक प्रक्रिया अघि बढाउन मन्त्रीसमक्ष आग्रह गरिएको छ।

हेर्नुस् डीन धामीले लेखेको खुला पत्र

श्रीमान् माननीय निशा मेहता ज्यू
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
सिंहदरबार, काठमाडौं।
विषय:डडेल्धुरामा प्रादेशिक ट्रमा सेन्टर स्थापना गरिदिने सम्बन्धमा।
महोदय,
उपरोक्त विषयमा सडक दुर्घटना, प्राकृतिक विपद् तथा अन्य आकस्मिक चोटपटकका कारण हुने मृत्यु, अपाङ्गता तथा जटिल स्वास्थ्य समस्यालाई न्यूनीकरण गर्न समयमै विशेषज्ञसहितको गुणस्तरीय ट्रमा उपचार सेवा उपलब्ध हुनु अत्यन्त आवश्यक छ।
हालै मन्त्रालयबाट सातै प्रदेशमा आवश्यक पूर्वाधार, आधुनिक उपकरण, दक्ष जनशक्ति तथा बहुविषयगत विशेषज्ञ टोलीसहित प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने सरकारको तयारी सार्वजनिक भएको विषयलाई हामीले सकारात्मक रूपमा लिएका छौँ।
यस सन्दर्भमा सुदूरपश्चिम प्रदेशको पहाडी तथा हिमाली भूगोल, दुर्गम बस्ती, जोखिमपूर्ण सडक सञ्जाल, यातायात दुर्घटनाको सम्भावना तथा आकस्मिक स्वास्थ्य सेवामा रहेको पहुँचको चुनौतीलाई मध्यनजर गर्दै डडेल्धुरामा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्नु अत्यन्त सान्दर्भिक र रणनीतिक रूपमा महत्वपूर्ण हुने व्यहोरा अनुरोध गर्दछौँ।
डडेल्धुरा सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लाहरूका लागि स्वास्थ्य सेवाको महत्वपूर्ण केन्द्र हो। यहाँ प्रादेशिकस्तरको ट्रमा सेन्टर स्थापना भएमा डडेल्धुरासहित बैतडी, डोटी, बझाङ, बाजुरा, दार्चुला, अछामलगायत जिल्लाका १५ लाख नागरिकले समयमै विशेषज्ञ ट्रमा सेवा प्राप्त गर्न सक्नेछन्। यसबाट धनगढी तथा अन्य टाढाका स्वास्थ्य संस्थामा बिरामी रिफर गर्नुपर्ने बाध्यता कम हुनुका साथै दुर्घटनापछिको उपचारमा हुने ढिलाइ, मृत्यु तथा दीर्घकालीन अपाङ्गता न्यूनीकरण गर्न सहयोग पुग्नेछ।
यसै सन्दर्भमा डडेल्धुरा अस्पताललाई शिक्षण अस्पतालका रूपमा थप सुदृढ गर्दै ३०० शय्याको अस्पतालको रूपमा चरणबद्ध विकास गर्ने लक्ष्य तथा सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराबाट स्वास्थ्य शिक्षा, अनुसन्धान र स्वास्थ्य सेवा विस्तार भइरहेको अवस्थाले समेत यस क्षेत्रलाई क्षेत्रीय स्वास्थ्य सेवाको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न महत्वपूर्ण आधार प्रदान गर्दछ।
अतः माननीय मन्त्रीज्यू समक्ष निम्न विषयमा आवश्यक पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
१। नेपाल सरकारको सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने योजनाअन्तर्गत सुदूरपश्चिम प्रदेशको ट्रमा सेन्टर डडेल्धुरामा स्थापना गर्ने निर्णय गरियोस्। डडेल्धुरामा प्रादेशिक ट्रमा सेन्टर स्थापना हुनु केवल एउटा स्वास्थ्य संस्था थपिनु मात्र नभई सुदूरपश्चिमका लाखौँ नागरिकको जीवन रक्षा, स्वास्थ्य सेवामा समान पहुँच र क्षेत्रीय स्वास्थ्य विकासको महत्वपूर्ण उपलब्धि हुनेछ भन्ने हाम्रो विश्वास छ।
यस महत्वपूर्ण विषयलाई सरकारको प्राथमिकतामा राखी आवश्यक निर्णय तथा कार्यान्वयनका लागि सकारात्मक पहल गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
धन्यवाद।
भवदीय,
सह प्रा डा. डबल बहादुर धामी
डीन
स्वास्थ्य विज्ञान संकाय
सुदूरपश्चिम विश्वविद्यालय
डडेल्धुरा।

Ddl dental
Leave A Reply

Your email address will not be published.