

डडेल्धुरा: दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा कर्णाली प्रदेशले पहिलो जित निकालेको छ।
बिहीबार कालुन्चोक मैदानमा भएको उद्घाटन खेलमा कर्णालीले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो।

कर्णालीको जितमा विपिन रावलले उत्कृष्ट ब्याटिङ गरे। उनले ३५ बलमा ६० रन बनाएपछि १२८ रनको लक्ष्य पछ्याएको कर्णालीले १३ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।

खेलको सुरुआतमै ओपनर दिनेश रावत गोल्डेन डकमा आउट भएपछि कर्णाली दबाबमा परेको थियो।
तर विपिनले आक्रामक ब्याटिङ गर्दै टोलीलाई जिततर्फ अघि बढाए। कर्णालीका दिनेश अधिकारीले १५ रन बनाए भने मनिष थापा र कप्तान रविन्द्रजंग शाहीले समान १३ रनको योगदान दिए।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनाएको थियो। सुदूरपश्चिमका अभिषेक पालले सर्वाधिक २८ रन बनाए भने दीपक बोहराले १८ रन जोडे।
बलिङतर्फ कर्णालीका दिवान पुन, राजकुमार साह र दिनेश अधिकारीले समान दुई-दुई विकेट लिए।

