

डडेल्धुरा : डडेल्धुराका सफल उद्योगी तथा व्यवसायी लालमणी पन्तले निजी क्षेत्रतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने उत्कृष्ट करदाताको सम्मान लगातार तीन आर्थिक वर्ष प्राप्त गरेका छन्।
इमानदार व्यवसाय र करप्रतिको जिम्मेवारीलाई निरन्तरता दिँदै उनले जिल्लामै उदाहरणीय पहिचान बनाउन सफल भएका हुन्।

अमरगढी नगरपालिका–५ तुफानडाडामा रहेको जि.वी.एल हार्डवेयर प्रालिका सञ्चालक पन्तलाई आन्तरिक राजस्व कार्यालय डडेल्धुराले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा उत्कृष्ट करदाताका रूपमा सम्मान गरेको हो।
आन्तरिक राजश्व कार्यालय डडेल्धुराले आफ्नो सेवा क्षेत्रभित्र पर्ने उत्कृष्ट करदातामा पन्तलाई सम्मान गरेको कार्यालय प्रमुख गगनबहादुर शाहीले जानकारी दिए।
सोमबार जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा डडेल्धुराबाट निर्वाचित सांसद डा. ताराप्रसाद जोशीले पन्तलाई दोसल्ला ओढाउँदै सम्मानपत्र प्रदान गरे।

पन्त आर्थिक वर्ष २०७९\०८०, २०८०\०८१ र २०८१\०८२ गरी लगातार तीन आर्थिक वर्ष निजी क्षेत्रतर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएका हुन्।
लगातार तीन वर्षसम्म उत्कृष्ट करदाताको सम्मान प्राप्त गर्नुलाई आफ्नो व्यवसायिक जीवनको महत्वपूर्ण उपलब्धिका रूपमा लिएका पन्तले यसको सम्पूर्ण श्रेय ग्राहक, शुभेच्छुक तथा व्यवसायमा आबद्ध कर्मचारीलाई दिएका छन्।
‘ग्राहकहरूले गर्नुभएको विश्वास, माया र सहयोगकै कारण यो सफलता सम्भव भएको हो। यसका लागि सम्पूर्ण ग्राहक तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु,’ पन्तले भने।
उनले व्यवसाय सञ्चालन गर्नु नाफा कमाउने माध्यम मात्र नभई राज्यप्रतिको दायित्व निर्वाह गर्ने अवसरसमेत भएको उल्लेख गरे। राज्यलाई इमानदारीपूर्वक कर तिर्नु प्रत्येक व्यवसायीको जिम्मेवारी भएको उनको भनाइ छ।
‘व्यवसाय सञ्चालनसँगै राज्यलाई इमानदारीपूर्वक कर तिर्नु हाम्रो दायित्व हो। कर तिर्ने संस्कारले राष्ट्र निर्माण र विकासमा महत्वपूर्ण योगदान पुर्याउँछ। करदातालाई सम्मान तथा प्रोत्साहन गरेर थप हौसला प्रदान गरेकोमा आन्तरिक राजस्व कार्यालय डडेल्धुराप्रति आभारी छु,’ उनले भने।
लगातार तीन वर्ष उत्कृष्ट करदाताका रूपमा सम्मानित पन्तको यो उपलब्धिले व्यवसायमा इमानदारी, पारदर्शिता र राज्यप्रतिको उत्तरदायित्वको महत्वलाई उजागर गरेको छ।
साथै, कर तिर्नुलाई बोझका रूपमा नभई राष्ट्र निर्माणमा आफ्नो योगदानका रूपमा लिनुपर्ने सकारात्मक सन्देशसमेत दिएको छ।

