

डडेल्धुरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डडेल्धुराको जिल्ला नेतृत्वको सक्रियतालाई लिएर पार्टीभित्रै असन्तुष्टि देखिन थालेको छ।
पार्टीका जिल्ला सहसचिव बसन्त पाण्डेयले सामाजिक सञ्जालमार्फत जिल्ला नेतृत्व जिल्लाबाहिर केन्द्रित भएको भन्दै असन्तुष्टि जनाएका छन्।

अधिवेशनका बेला पदका लागि सक्रिय हुनेहरू अधिवेशनपछि भने जिल्लामा नदेखिएको भन्दै उनले नेतृत्वप्रति प्रश्न उठाएका हुन्।
‘पदका लागि अधिवेशनमा मरिहत्ते गर्नेहरू अधिवेशनपछि न जिल्लामा छन्, न जनता माझ गाउँतिर, न पार्टीको संगठन विस्तारमा,’ पाण्डेयले लेखेका छन्, ‘पार्टी कार्यालय बन्दको बन्दै छ।’
उनले नेतृत्व जिल्लामा नहुँदा पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन र जनतासँगको सम्बन्ध प्रभावित भइरहेको संकेत गरेका छन्।
रास्वपा डडेल्धुराका सभापति सुरेन्द्र अवस्थी काठमाडौंमा, उपसभापति मदन धामी दिल्लीमा र सचिव टंक अवस्थी धनगढीमा रहने गरेको पार्टीभित्र चर्चा छ।

सचिव अवस्थी कहिलेकाहीँ जिल्लामा आउने गरे पनि सभापति अवस्थी र उपसभापति धामी जिल्ला बाहिर नै बढी रहने गरेको नेताहरू बताउँछन्।
एक जिल्ला नेताले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै भने, ‘उपसभापति जी के दिल्ली, के परशुराम, त्योभन्दा यताउताको न चासो न चिन्ता। सभापति जी काठमाडौंमै। कमजोर मानसिकताले पार्टी धरापमा जाँदैछ।’
केही दिनअघि मात्रै रास्वपा डडेल्धुराले पार्टी कार्यालयबाट ‘हामी सुन्छौं’ अभियान सुरु गरेको थियो।
तर अभियान सुरु भएको पार्टी कार्यालयमै लामो समयदेखि ताला लागेको छ।
पार्टी कार्यालयको चाबी सभापति र सचिवसँग मात्रै रहेकाले कार्यालय खोल्नसमेत समस्या भइरहेको रास्वपा नेताहरूको भनाइ छ।
यसैबीच, सहसचिव पाण्डेयको स्टाटसमा जिल्ला उपसभापति मदन धामीले ‘म आउँदैछु सर’ भन्दै प्रतिक्रिया दिएका छन्।
सभापति अवस्थी भने धनगढी पुगेको खबर पार्टीभित्र रहेको बताइएको छ।
जिल्ला नेतृत्वको सक्रियता, पार्टी कार्यालय सञ्चालन र संगठन विस्तारलाई लिएर रास्वपा डडेल्धुराभित्र असन्तुष्टि बढ्दै गएको देखिएको छ।


