

- मदनराज पाण्डेय
नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक सुनिश्चित गरेको छ। साथै, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने स्पष्ट संवैधानिक व्यवस्था छ।

संविधानले प्रत्याभूत गरेको स्वास्थ्यसम्बन्धी मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गर्न स्थानीय तहको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। स्थानीय सरकारमार्फत सञ्चालित आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी तथा आधारभूत अस्पतालहरू नै नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्ने पहिलो र महत्त्वपूर्ण आधारस्तम्भ हुन्।
यी स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरू नागरिकको स्वास्थ्य आवश्यकतासँग प्रत्यक्ष जोडिएका हुन्छन्।
सामान्य स्वास्थ्य समस्याको पहिचानदेखि जटिल अवस्थाको प्रारम्भिक व्यवस्थापन र आवश्यकताअनुसार बिरामीलाई माथिल्लो स्वास्थ्य संस्थामा प्रेषण (Referral) गर्नेसम्मको संवेदनशील जिम्मेवारी उनीहरूकै काँधमा हुन्छ। त्यसैले स्वास्थ्यकर्मीको ज्ञान, सीप, दक्षता र चिकित्सकीय निर्णय क्षमता स्वास्थ्य सेवाको गुणस्तरसँग प्रत्यक्ष रूपमा गाँसिएको हुन्छ।
तर स्वास्थ्य क्षेत्र कहिल्यै स्थिर रहँदैन। समयसँगै रोगको स्वरूप र प्रवृत्ति तीव्र रूपमा परिवर्तन भइरहेको छ। एकातिर नयाँ तथा पुनः देखा पर्ने रोगहरू (Emerging and Re-emerging Diseases) र महामारीको जोखिम बढ्दो छ भने अर्कोतिर नसर्ने रोगहरूको (Non-Communicable Diseases–NCDs) भार पनि उत्तिकै चुनौतीपूर्ण बन्दै गएको छ।
उपचारका नवीन विधि, वैज्ञानिक अनुसन्धान, राष्ट्रिय स्वास्थ्य नीति, निर्देशिका तथा उपचार प्रोटोकलहरू समयसापेक्ष परिमार्जन भइरहेका छन्। यस्तो गतिशील अवस्थामा स्वास्थ्यकर्मीले अध्ययनकालमा प्राप्त गरेको प्रारम्भिक ज्ञान र तालिम मात्र पर्याप्त हुँदैन। उनीहरूलाई नियमित रूपमा अद्यावधिक ज्ञान, सीप र व्यावहारिक अनुभवको खाँचो पर्दछ।
यसै सन्दर्भमा स्थानीय तहअन्तर्गतका प्रत्येक स्वास्थ्य संस्थामा प्रत्येक दिन कम्तीमा एक घण्टा ‘निरन्तर जनस्वास्थ्य शिक्षा कार्यक्रम (Continuing Public Health Education Program CPHEP) सञ्चालन गर्नु आजको अपरिहार्य आवश्यकता देखिएको छ।
- मुख्य सन्देश स् किन आवश्यक छ दैनिक एक घण्टे सिकाइरु :
संवैधानिक दायित्वको कार्यान्वयन : धारा ३५ ले सुनिश्चित गरेको निःशुल्क आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन।
बदलिँदो रोगको भार : नसर्ने रोग (उच्च रक्तचाप, मधुमेह) र नयाँ संक्रामक महामारीको सही पहिचान र व्यवस्थापन गर्न।
नवीन प्रोटोकलको अवलम्बन : परिमार्जित राष्ट्रिय उपचार निर्देशिका र मापदण्डलाई दैनिक अभ्यासमा उतार्न।
शून्य अतिरिक्त बजेटमा नतिजा : उपलब्ध जनशक्ति र स्रोतसाधनकै परिचालनबाट संस्थागत क्षमता अभिवृद्धि गर्न।
किन आवश्यक छ निरन्तर जनस्वास्थ्य शिक्षा ?
स्वास्थ्यकर्मीले दैनिक कार्यसम्पादनका क्रममा विभिन्न प्रकारका जटिल स्वास्थ्य समस्या र चुनौतीहरूको सामना गर्नुपर्छ। कतिपय अवस्थामा बिरामीको सही पहिचान, विभेदात्मक निदान (Differential Diagnosis), जोखिमका संकेतहरूको पहिचान, प्रारम्भिक उपचार तथा उपयुक्त समयमा प्रेषण गर्ने निर्णय अत्यन्त निर्णायक हुन्छ। यस्ता चिकित्सकीय निर्णयमा हुने सानो कमजोरीले पनि बिरामीको जीवनरक्षा र स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ।
त्यसैगरी मातृ तथा नवजात शिशु स्वास्थ्य, बाल स्वास्थ्य, पोषण, खोप, परिवार नियोजन, सुरक्षित मातृत्व, नसर्ने रोग, सरुवा रोग, महामारी पूर्वतयारी तथा प्रतिकार्य, स्वास्थ्य प्रवर्द्धन, रोग रोकथाम, वातावरणीय स्वास्थ्य तथा स्वास्थ्य सूचना व्यवस्थापनजस्ता बहुआयामिक विषयमा स्वास्थ्यकर्मीको ज्ञान निरन्तर अद्यावधिक हुनुपर्छ। नियमित सिकाइको अवसरले स्वास्थ्यकर्मीलाई नयाँ निर्देशिका र उपचार प्रोटोकल बुझ्न, व्यावहारिक समस्याबारे छलफल गर्न तथा आफ्नो कार्यसम्पादनमा सुधार ल्याउन सहयोग पुर्याउँछ। यसले उनीहरूको प्राविधिक दक्षता मात्र नभई आत्मविश्वास, व्यावसायिक जिम्मेवारी र निर्णय क्षमता समेत अभिवृद्धि गर्छ।
“प्रत्येक दिन एक घण्टा सिकाइका लागि छुट्याउनु सामान्य अभ्यासजस्तो देखिए पनि नागरिकको जीवनरक्षा र सेवाको गुणस्तरमा यसको प्रभाव दीर्घकालीन हुन्छ।”
प्रत्येक दिन एक घण्टा कसरी प्रभावकारी बनाउन सकिन्छ ?
प्रत्येक स्वास्थ्य संस्थाले आफ्नो नियमित बहिरङ्ग (OPD) तथा आकस्मिक सेवाको कार्यतालिकालाई असर नपर्ने गरी बिहान वा अपराह्नको उपयुक्त समयमा दैनिक कम्तीमा एक घण्टा निरन्तर जनस्वास्थ्य शिक्षा कार्यक्रमका लागि छुट्याउन सक्छ। यस कार्यक्रमलाई औपचारिक तालिमभन्दा पनि नियमित सिकाइ, समूहगत छलफल र अनुभव आदानप्रदानको साझा मञ्च का रूपमा विकास गर्न सकिन्छ।

कार्यक्रममा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूले पालैपालो विभिन्न विषय प्रस्तुत गर्न सक्छन्। राष्ट्रिय स्वास्थ्य निर्देशिका, उपचार प्रोटोकल, कार्यसञ्चालन पुस्तिका (Standard Operating Procedures–SOPs), वैज्ञानिक लेख, घटनामा आधारित अध्ययन (Case Studies) तथा डिजिटल सिकाइ सामग्रीलाई छलफलको आधार बनाउन सकिन्छ। स्वास्थ्य संस्थामा देखिएका वास्तविक समस्या, उपचारका क्रममा आएका चुनौती र प्रेषणसम्बन्धी अनुभवहरूलाई जीवन्त छलफलको विषय बनाउन सकिन्छ।
उदाहरणका लागि, कुनै दिन उच्च रक्तचाप तथा मधुमेह (Diabetes Mellitus) को पहिचान र व्यवस्थापनबारे छलफल गर्न सकिन्छ भने अर्को दिन गर्भावस्थाका जोखिमका संकेत, नवजात शिशुको प्रारम्भिक हेरचाह (Essential Newborn Care), बालबालिकामा देखिने खतराका लक्षण वा महामारी व्यवस्थापनबारे सिकाइ गर्न सकिन्छ। यसरी विषयगत छलफललाई स्वास्थ्य संस्थाको सेवा प्रवाह र स्थानीय आवश्यकतासँग प्रत्यक्ष जोड्न सकिन्छ।
यस कार्यक्रमको अर्को महत्त्वपूर्ण पक्ष भनेको तालिमबाट प्राप्त ज्ञान र सीपलाई सहकर्मीबीच हस्तान्तरण गर्नु हो। कुनै स्वास्थ्यकर्मीले बाह्य तालिममा सहभागी भएर सिकेका विषयहरू अन्य सहकर्मीसँग साझा गर्न सक्छन्। यसबाट एउटै तालिमको ज्ञान सम्पूर्ण टिममाझ विस्तार हुन्छ र संस्थाभित्र सामूहिक सिकाइको संस्कृति निर्माण हुन्छ।
सेवाको गुणस्तरमा पर्ने सकारात्मक प्रभाव
निरन्तर जनस्वास्थ्य शिक्षा कार्यक्रमले स्वास्थ्यकर्मीको ज्ञान र सीप अद्यावधिक गर्नुका साथै सेवा प्रवाहमा प्रत्यक्ष र देखिने सुधार ल्याउँछ। नियमित छलफल र अभ्यासबाट बिरामीको इतिहास लिने तरिका (History Taking), स्वास्थ्य समस्याको सही पहिचान, अभिलेख व्यवस्थापन तथा उपचारसम्बन्धी निर्णय प्रक्रियामा गुणात्मक सुधार आउँछ।
विशेषगरी आकस्मिक अवस्थामा बिरामीलाई माथिल्लो स्वास्थ्य संस्थामा प्रेषण गर्दा बिरामीको अवस्था, देखिएका लक्षण, गरिएको प्रारम्भिक उपचार र आवश्यक चिकित्सकीय जानकारी स्पष्ट रूपमा सम्बन्धित चिकित्सक वा स्वास्थ्यकर्मीलाई उपलब्ध गराउन सहयोग पुग्छ। यसले प्रेषण प्रक्रियालाई व्यवस्थित बनाउन र बिरामीको निरन्तर उपचारमा सहजता ल्याउन महत्त्वपूर्ण भूमिका खेल्छ।
त्यसैगरी स्वास्थ्यकर्मीबीच ज्ञान र अनुभव आदानप्रदान हुने भएकाले कार्यस्थलमै सिक्ने संस्कृतिको विकास हुन्छ। यसले व्यक्तिगत दक्षतासँगै संस्थागत क्षमता अभिवृद्धि गर्न मद्दत गर्छ।
यद्यपि, यस्तो कार्यक्रम औपचारिक, प्रमाणपत्र प्रदान गरिने वा व्यावहारिक अभ्यास आवश्यक पर्ने तालिमको विकल्प भने होइन। बरु यसले नियमित तालिमबाट प्राप्त ज्ञानलाई निरन्तरता दिन र कार्यस्थलमा व्यावहारिक रूपमा प्रयोग गर्न सहयोग पुर्याउने पूरक माध्यम का रूपमा काम गर्दछ।
स्थानीय सरकारको भूमिका र कार्यान्वयन ढाँचा
यस कार्यक्रमलाई प्रभावकारी र दिगो बनाउन स्थानीय तहको स्वास्थ्य शाखाले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ। स्थानीय तहले वार्षिक स्वास्थ्य कार्यक्रम तथा नीतिमा निरन्तर जनस्वास्थ्य शिक्षा कार्यक्रमलाई समावेश गरी आवश्यक समन्वय र सहजीकरण गर्न सक्छ।
- कार्यान्वयनका व्यावहारिक आधारहरू :
मासिक विषयसूची निर्माण : प्रत्येक स्वास्थ्य संस्थाले स्थानीय रोगको प्रवृत्तिअनुसार वार्षिक वा मासिक सिकाइ तालिका तयार गर्ने।
व्यक्तिगत तथा संस्थागत अभिलेख : सञ्चालन मिति, छलफल गरिएका विषय, सहभागी स्वास्थ्यकर्मी र मुख्य सिकाइका बुँदाहरू लगबुकमा अभिलेख राख्ने।
अन्तर-संस्था अनुभव आदानप्रदान : स्थानीय तहले समय–समयमा पालिकाभित्रका स्वास्थ्य संस्थाहरूबीच साझा सिकाइ र समीक्षा बैठक सञ्चालन गर्ने।
विज्ञ समन्वय : आवश्यकताअनुसार पालिकास्तरका चिकित्सक, विषयविज्ञ तथा तालिम प्राप्त स्वास्थ्यकर्मीको प्राविधिक सहयोग लिने।
यसका लागि ठूलो आर्थिक बजेट वा छुट्टै भौतिक संरचना आवश्यक पर्दैन। उपलब्ध जनशक्ति, राष्ट्रिय निर्देशिका, स्वास्थ्यसम्बन्धी सामग्री तथा डिजिटल स्रोतहरूको सदुपयोग गरेरै कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ।
अबको आवश्यकता
गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न स्वास्थ्य संस्थामा औषधि, उपकरण र भौतिक पूर्वाधारको उपलब्धता मात्र पर्याप्त हुँदैन। ती स्रोतसाधनको विवेकपूर्ण र प्रभावकारी उपयोग गर्न सक्षम, दक्ष र अद्यावधिक ज्ञान भएका स्वास्थ्यकर्मी पनि उत्तिकै आवश्यक हुन्छन्। स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने प्रयास स्वास्थ्यकर्मीको निरन्तर सिकाइ र क्षमता विकाससँग अनिवार्य रूपमा जोडिनुपर्छ।
स्थानीय तहअन्तर्गतका आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी तथा आधारभूत अस्पतालहरूमा प्रत्येक दिन कम्तीमा एक घण्टा निरन्तर जनस्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्न सकिएमा यसले स्वास्थ्यकर्मीको व्यक्तिगत दक्षता र स्वास्थ्य संस्थाको संस्थागत क्षमता अभिवृद्धि गर्न कोसेढुङ्गाको काम गर्नेछ।
त्यसैले स्थानीय सरकार, स्वास्थ्य शाखा तथा स्वास्थ्य संस्थाका प्रमुखहरूले यस अवधारणालाई नीतिगत प्राथमिकताका साथ अघि बढाउनु आवश्यक छ। नियमित सिकाइ, अनुभव आदानप्रदान र ज्ञानको अद्यावधिकताबाट स्वास्थ्यकर्मीलाई अझ सक्षम बनाउँदै नागरिकले प्राप्त गर्ने स्वास्थ्य सेवालाई गुणस्तरीय, सुरक्षित र भरपर्दो बनाउन सकिन्छ।
- लेखक पाण्डेय जन स्वास्थ्य निरीक्षक हुन्।

