

डडेल्धुरा : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले डडेल्धुराका बायाँहाते मध्यम गतिका बलर टेकराज थलाललाई ‘आइकोनिक’ खेलाडीका रूपमा छनोट गरेको छ।
ट्यालेन्ट हन्टका आधारमा उनलाई छनोट गरिएको हो।

सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना गरिएको ट्यालेन्ट हन्टमार्फत टोलीले स्थानीय प्रतिभाको खोजी गरेको थियो।
असोज १४ गते बैतडीको डिलासैनीबाट सुरु भएको यो अभियान असोज १५ गते बझाङ, असोज १६ गते डोटी र डडेल्धुरा तथा असोज १७ गते अछाम र बाजुरा पुगेको थियो।

यस्तै असोज १९ गते धनगढीमा कैलाली र कञ्चनपुरका खेलाडीहरूको ट्यालेन्ट हन्ट लिइएको थियो भने यसको अन्तिम चरण असोज २० र २१ गते धनगढी ओभलमा सञ्चालन गरिएको थियो।
ट्यालेन्ट हन्टमा सुदूरपश्चिमका सबै नौ वटै जिल्ला दार्चुला, बैतडी, बझाङ, डोटी, डडेल्धुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाडीहरूको सहभागिता थियो।
यसअघि सुदूरपश्चिमको डेभलपमेन्ट स्क्वाडमा रहेर खेलिसकेका टेकराजलाई यसपटक भने टोलीले एनपीएलका लागि आइकोनिक खेलाडीका रूपमा अघि सारेको छ।
यसैबिच, ट्यालेन्ट हन्टबाट कञ्चनपुरका धीरेन्द्र साउद र लोकेश जोशी, कैलालीका हेमन्त बुढा, सन्तोष विश्वकर्मा र सुधांशु रावल तथा दार्चुलाका वीरेन्द्र बमलाई ‘हिरोज’का रूपमा छनोट गरिएको छ।
छनोट भएका यी छ जना खेलाडी सुदूरपश्चिम रोयल्सको डेभलपमेन्ट स्क्वाडमा समावेश हुनेछन्।


