डडेल्धुरा : भौगोलिक हिसाबले आकर्षक, प्राकृतिक दृष्टिले रमणीय, ऐतिहासिक कोणले महत्वपूर्ण।
महाभारतको रमणीय लेक। नजिकै डोटी खोला। एकान्त अनि चराचुरुङ्गीको चिरविर आवाज। सुन्दर, शान्त र मनोहर। त्रिपुरासुन्दरी अर्थात् बुढी घटाल पुग्दा मन रमाउँछ।
जिल्ला सदरमुकामनजिकै रहेको प्रसिद्ध धार्मिक शक्तिपीठ हो, त्रिपुरा सुन्दरी (बुढी घटाल) मन्दिर। यो मन्दिर डडेल्धुराको अमरगढी नगरपालिका २ मा अवस्थित छ।
यो स्थल सदरमुकामबाट करिब २ किलोमिटर टाढा डोटी खोलाको किनारमा महाभारत श्रृंखलाको फेदीमा रहेको छ। प्यागोडा शैलीमा त्रिपुरासुन्दरी (बुढी घटाल) मन्दिर निर्माण भएको छ।
बुढी घटाल देवतालाई अति पावनस्थल मानिएको छ। पौराणिक कालदेखि आफ्ना साधक भक्तजनलाई इच्छित मुक्ति प्रदान गर्ने आदि शक्तिको रुपमा त्रिपुरा सुन्दरी (बुढी घटाल) नामले अति प्रख्यात रहँदै आएकी छन्।
यिनै जगतमाताको नजिक रमणीय टाकुरामा परिपुर्णेश्वर महादेवको वाण लिंग वा शोव पञ्चायनका अति मोनमोहक देवताको समेत स्थपना भई सुन्दरताको जीवन्त उदाहरण प्रस्तुत गरेको छन्।
अध्याशक्ति त्रिपुरा सुन्दरी (बुढी घटाल) जगतमाताको उत्पतिको विषयमा कहिलेदेखि उत्पति भएको हो भन्ने प्रमाण छैन। यथार्थ त्रिपुरा सुन्दरी माताको मूर्ति स्थापना भएको नभई स्वयं उत्पति भएको कुरा निर्विवाद छ।
जगतमाता को मूर्ति रहेको ठाँउमा धेरै वर्ष अगाडि कुनै मन्दिर नभएको कुरा बुढा-पाकाबाट थाहा पाउन सकिन्छ।
माता त्रिपुरा सुन्दरी (बुढी घटाल) को मन्दिर निर्माण गराउने शिलशिलामा स्वामी माधवानन्द गिरीलाई स्वप्नामा माताले दर्शन दिएको र मन्दिरको जग खन्दा प्राचीन मूर्तिलाई साविक स्थानमा सुरक्षित नै राख्ने त्यही मणियुक्त नागको दर्शन पाइन्छ।
यस मन्दिरको वार्षिक पूजा-आजा गर्ने परम्परा अर्थात मूर्ति उत्खनन नगर्ने आदेश भएको भनिन्छ। त्रिपुरा सुन्दरी माताको मन्दिर परिसरभित्र एक मणीले युक्त भएको नाग रहन्छ।
साधक पुरुषका अनुसार आजसम्म पनि सारदीय नवरात्रि पर्वमा पूजापाठ ध्वनि आदि चल्दै आएको छ। माताको मन्दिर करिब ८० वर्षअघि सिद्ध महात्मा माधवा नन्द स्वामिजीले निर्माण गराएको हुन्।
करिब ३० वर्षदेखि पूज्यपाद स्वामी दिगम्बर गौरी शंकर पुरी महाराजको अखण्ड आश्रमको रुपमा सुप्रसिद्ध यस पवित्र देवस्थलमा अनेकौ प्रकारको धार्मिक सामाजिक कार्यक्रमका साथै विविध निर्माण कार्यहरू अविरल रुपमा प्रवाह भइरहेका छन्।
यस धार्मिक तथा सामाजिक क्षेत्रको चारैतिर करिब ५७६ मिटर लम्बाइ २ मिटर उचाइ तथा १/२ मिटर चौडाइ भएको ढुंगाको ठूलो पर्खाल निर्माण गरिएको छ।
कतै कतै त्यस ठाउँमा एकजना महिला मान्छे घाँस काटिरहेको समयमा एक्कासी रगत बगेको र त्यो रगत कसरी बग्यो भनेर खोजी गर्दा एउटा शिला भेटिएको भन्ने भनाइ पनि बुढापाखाबाट सुन्न सकिन्छ।
स्नान गरे पूण्य कमाइने ‘गोविघाट’
त्रिपुरा सुन्दरी (बुढी घटाल) मन्दिरबाट बगेर आउने खोला र महाभारत पर्वत श्रेणीबाट बगेर आउने डोटी खोलाको दोभानमा ‘गोविघाट’ रहेको छ।
खोलाको बीचमा एउटा समथर ढुंगामा गाइको खुट्टाको छाप रहेको छ। ढुंगामा गाइको खुट्टाको छाप रहेको कारणले यस क्षेत्रलाई ‘गोविघाट’ भन्ने गरेको स्थानीबासी बताउँछन्।
‘गोविघाट’ क्षेत्रमा बाह्रै महिना जमिनको मुनिबाट तातो पानी आइरहन्छ। र तेही ठाउँमा एउटा सानो तलाउ छ। तेही तलाउको पानी त्रिपुरासुन्दरी (बुढी घटाल)को मन्दिरमा लगेर पूजा-आजा गर्ने गरिन्छ।
यस क्षेत्रमा स्नान गरे पुण्य कमाइने जनविस्वास रहिआएको छ। विशेष गरेर ‘गोविघाट’ मा माघे संक्रान्तिका दिन र सूर्य ग्रहण तथा चन्द्र ग्रहण लागेपछि क्षेत्रका स्थानीयले स्नान गर्ने गरेका छन्। यस क्षेत्रमा स्नान गरे पुण्य कमाइने विश्वास रहिआएको छ।
सती जाने ढुंगा
हाल अमरगढी नगरपालिका ३ मा रहेको घटाल थान यसै क्षेत्रमा रहेको किम्बदन्ती रहेको पाइन्छ। शव जलाउने तथा मृत्यु भएका बालबच्चालाई यस क्षेत्रमा खाल्टोमा पुर्ने गर्थे।
नजिकै एउटा वृद्ध महिलाको घर रहेको मसान घाटमा शव जलाउने गरेका कारण गन्ध आउने भएकाले ती बुढी आइमाइले बिहान बेलुकी दिनहुँ घटाल बाबालाई गाली गर्ने गर्थी। (न मु मद्दो न यो घटाल सद्दो डोटेली भाषा) अर्थात् न म मर्छु न यो घटाल सर्छ भनेर।
ती वृद्ध महिलाको गाली घटाल बाबालाई मन नपरेको र जुन दिन ती वृद्ध महिला मृत्यु भयो। त्यसै दिन घटाल बाबा पनि त्यस ठाउँ छोडेर हाल घटाल रहेको क्षेत्र (अमरगढी ३) मा सरेको किम्बदन्तीमा पाइन्छ।
परापूर्व कालमा श्रीमानको मृत्यु हुँदा श्रीमतीले सती जाने क्रममा महिलालाई जिउँदै ढुंगाले मार्ने गरिन्थ्यो। ती ढुंगा यस क्षेत्रमा आजभोलि पनि देख्न सकिन्छ।