अरू तीर्थ पटकपटक, परशुराम धाम एकपटक

dream cafe
learnar

डडेल्धुरा : हिन्दुग्रन्थ स्कन्द पुराणमा महाकालीको ‘विष्णुपुर` बारे चर्चा गरिएको छ।

विष्णुपुर तीर्थ परशुराम नगरपालिका-५. डडेल्धुराको परशुराम धाम हो। यसलाई चक्र तीर्थ भनिन्छ, जहाँ स्नान गरेमा सबै पाप नाश हुने र स्वर्गनजिकै विष्णुलोक पुगिने जनविश्वास छ।

Amargadhi Education

रगुन (ऐला) र महाकाली (श्यामा) नदीको सङ्गममा अवस्थित छ, परशुराम धाम रंगुन पूर्वबाट पश्चिम बगेकी छिन् भने महाकाली उत्तरबाट दक्षिण।

परशुराम धामको महिमा ठूलो छ। त्यसैले जनबोलीमा अरू तीर्थ पटकपटक, परशुराम धाम एकपटक भनिन्छ।

महाकाली किनारमा स्यानो टापु छ। टापुको बलौटे माटो कालो देखिन्छ। त्यसलाई परशुरामले यज्ञ गर्दा डढाइएको चरू मानिन्छ।

उहिल्यै यहीं देवसभा हुँदा भगवान परशुरामलाई अजम्बरी हुने बरदान मिलेको थियो। भगवान विष्णुका दश अवतारमध्ये परशुराम छैटौ हुन्।

सप्त ऋषिमध्येका एक जमदग्निका छोरा। उनले शिवको तपस्या गरे। भगवान खुसी भएर बन्चरो उपहार दिए। त्यसैले परशुरामलाई बन्चरो बोक्ने राम पनि भनिन्छ।

विष्णुपुरमा तपस्या गरेर उनी चिरञ्जीवी बने। यहाँ उनले भीष्म पितामह, द्रोणाचार्य र कर्णलाई धनुर्विद्या सिकाएका थिए। त्यति मात्र होइन, असुरहरुको विनाश गरेर पृथ्वीलाई पटकपटक अधीनमा लिएका थिए।

उनले आफ्‌नो बन्चरो हिर्काएर तीन हात लम्बाइ, तीन हात चौडाइ र तीन हात गहिराइको कुण्ड बनाए। त्यसमा विश्वकर्माले विष्णुको मूर्ति राखे। आज कुण्ड देखिंदैन।

अजयमेरु फाैजी केरा

नदी किनारमा एउटा द्वार छ। यसलाई युधिष्ठिर स्वर्ग जानुअघि छिरेको धर्मद्वार भनिन्छ। द्वार छेउमा उम्रिएको बाबियो गाँठो पारेमा मनोकामना पूरा हुने, प्रेम सफल हुने र भाग्य बलियो बन्ने भनाइ छ।

टापुमा शिवजीको मन्दिर छ। विष्णुपुरमा भगवान ब्रह्माले सत्य युगमा रोपेको भनिएको वर र पिपल छन्। ती बिरूवा न कहिले बढ्छन् न कहिल्यै घट्छन्। तिनलाई विष्णुस्वरूप मानेर पुजिन्छ।

जीवनमा एकपटक दर्शन गर्ने पर्ने तीर्थ हो, परशुराम धाम। नेपाली त आउँछन् नै, भारतीयलाई आउन भने सजिलो छैन। सीमानजिकैको पूर्णागिरिमा बर्सेनि लाखौ भारतीयले पूजापाठ गर्छन्। महाकालीमाथि भारतले पुल बनाउँदैछ, त्यसपछि परशुराम धाममा उनीहरू पनि बढ्ने आशा छ।

यहाँ माघ महिनाभर मेला लाग्छ। भक्तजन कल्प बास बस्छन्। साथै साउने सोमबार, अक्षय तृतीया र शिवरात्रिमा पनि मेला लाग्छ। परशुराम क्षेत्रमा देउरा राख्ने घर छन्। देउस भनेका चल देवता’ हुन्।

मकर स‌ङ्क्रान्ति र सूर्यग्रहण लागेका बेला डडेल्धुराका १६ वटा शिवालयका देउरा यहाँ ल्याइन्छ। तिनलाई स्नान गराइन्छ।

खिट्केश्वर, भागेश्वर, असीग्राम, बैद्यनाथलगायतका देउरा ल्याइन्छ। परशुराम क्षेत्र विकास समिति पूर्वाधार विकास गर्दैछ। यहाँ ५२ फिट अग्लो परशुरामको मूर्ति पनि बनाइएको छ।

परशुराम धाममा खाजा पसल र धर्मशाला पनि छन्। नजिकैका परीगाउँ र जोगबुढा बजारमा भने होटल सुविधा पनि छ।

कञ्जनपुरको महेन्द्रनगरबाट ४३ किलोमिटर र डडेल्धुराको बुढरबाट ४५ किलोमिटर दुरीमा पर्दछ परशुराम धाम। महेन्द्रनगर, धनगढी र डडेल्धुराबाट बिहान परशुराम धाम क्षेत्रका लागि गाडी छुट्छन्।

गणेशप्रसाद जोशी
जोशी परशुराम क्षेत्र विकास समितिका अध्यक्ष हुन्। उनको यो लेख बुद्ध एयरको जनवरी महिनाको यात्रा अंकबाट साभार गरिएको हो।

तस्वीर : भरतबन्धु थापा

Ddl dental
Arthik
Leave A Reply

Your email address will not be published.