डडेल्धुराको शिरमा आत्मगौरव बढाउने किल्ला

dream cafe
learnar

अमरगढी : डडेल्धुरा सदरमुकामको शिरमा एउटा ऐतिहासिक सम्पदा छ, अमरगढी किल्ला।

कचौरा आकारको किल्ला। ढुङ्‌गैढु‌ङ्गाले बनाइएको। यहीं बन्दुक हान्ने र तोप राख्ने गुफा, सुरुङ, कोतघर आदि छन्। बीचमा छ, कालभैरव मन्दिर।

GBL NEW

किल्लाको प्रवेशद्वारमै बडाकाजीको सालिक छ। सालिकको तल्लो भागमा लेखिएको छ, ‘म बाघको डमरू हुँ, मलाई सिनो खाने कुकुर नसम्झ बडाकाजी अमरसिंह थापा।

किल्ला अर्थात् हाम्रो गौरवगाथा। किल्लामा पुग्दा आत्मगौरव बढ्छ। इतिहासअनुसार श्री ५ रणबहादुर शाहको शासनकालमा अधिराजकुमार बहादुर शाहको प्रत्यक्ष नेतृत्वमा सञ्चालित नेपाल एकीकरण अभियानमा वि.स.१८४७ भदौ ३१ गते सेती नदीको नारीदाङमा गोरखाली फौजसँग डोटेली सेनाको हार भयो। अनि डोटेली राज्य पनि बृहत् नेपाल राज्यमा गाभियो।

त्यहीबेला युद्ध विस्तार गर्न र यस क्षेत्रलाई सम्हाल्न अमरसिंह थापालाई प्रशासक नियुक्त गरियो। उनले त्यही वर्ष किल्ला बनाए। त्यसैले यसलाई ‘अमरगढी किल्ला भनिएको। अमरगढीलाई आधार मानी उनले अल्मोडा, गढ़वाल र काँगडासम्म राज्य विस्तार गरेका थिए।

बडादसैको फूलपातीका दिन गढीको तोप टुडिखेलमा लगेर बढाई गरिन्थ्यो। दशमीमा पनि तोप पड्किएपछि मात्र जमरा काटिन्थ्यो र टीकाको साइत सुरु हुन्थ्यो।

२०३५ सालतिर सेनाले यहाँबाट तोपहरु सल्यानमा लगेको सुनिन्छ। तिनलाई फिर्ता ल्याउन सके अमरगढी किल्लाको आकर्षण बढ्ने थियो।

विजय अभियानको समाप्तिपछि अमरगढीको मातहतमा रहने गरी एउटा किल्ला कुमाउमा पनि राखिएको थियो। यसरी बडाकाजी थापाले नेपालको गौरव बढाए। यही ऐतिहासिक किल्लाको नामबाट अमरगढी नगरपालिका नामकरण गरिएको हो।

किल्लामा पुराना हातहतियार, बन्दुक, तोप आदि भने देखिदैन। किल्लाभित्रका भवन जीर्ण भइसके। गढीको राम्रो संरक्षण गरी यसलाई इतिहास अध्ययन केन्द्रका रूपमा विकास गर्नु पर्ने देखिन्छ।

किल्ला विगतमा नेपाली सेनाको स्वामित्वमा थियो। अचेल स्थानीय नगरपालिकाले स्वामित्व लिएको छ। नेपालीले ५० रुपैयाँको टिकट काटेर गढी अवलोकन गर्न पाउँछन्। विद्यार्थीले भने २० रूपैयाँ तिरे पुग्छ।

गढी भनेकै अग्लो ठाउँमा बनाइने सामरिक महत्वको सम्पदा। यहाँबाट पनि चारैतिरका बस्ती, हिमाली शृङ्खला, सूर्योदय र सूर्यास्तका दृश्यहरु अवलोकन गर्न पाइन्छ।

किल्लानजिकै पर्यटकीय सुविधाका होटल तथा रेस्टुराँ छन्। डडेल्धुरा बसपार्कबाट हिँडेर किल्लामा पुग्न ५ मिनेट लाग्छ। किल्ला प्रवेशद्वारमै सडक जोडिएको छ।

  • संस्कृतिकर्मी वीरबहादुर जैरूले बुद्ध एयरको जनवरी महिनाको यात्रा अंकमा लेखेको लेख साभार गरिएको

Ddl dental
Leave A Reply

Your email address will not be published.