CAMBRIDGE PUBLIC SCHOOL

डिभिजन वन डडेल्धुराले १२ हेक्टर जमिनमा १७ हजार टिमुर रोप्यो

हिक्मत सिंह
डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका –८ का बिभिन्न पाँच वटा कबुलियत वन समुहमा व्यवसायीक रुपमा टिमुर खेती शुरु गरिएको छ ।
डिभिजन वन कार्यालय डडेल्धुराको चालु आर्थिक बर्षमा स्वीकृत कार्यक्रम अनुसार पाँच वटा कबुलियत वन समुहको कुल १२ हेक्टर क्षेत्रफलमा १७ हजार टिमुरका बिरुवा रोपिएको हो । कवुलियत वन समुहमा आवद्ध उपभोक्ताहरुको आयआर्जन बढाउन र वन क्षेत्र संरक्षण सम्वद्र्धनका लागि व्यवसायीक टिमुर खेती शुरु गरिएको डिभिजन वन कार्यालय डडेल्धुराका डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले जानकारी दिनुभयो ।

टिमुर दाल र अचारमा मसलाका साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदिक औषधिका रुपमा प्रयोग गरिन्छ । समुन्द्री सतहदेखि एक हजार दुई सयदेखि दुई हजार पाँच सय मिटर उचाइमा टिमुरको खेती उत्तम मानिने डिभिजन वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत कृष्णबहादुर बोहराले बताउनु भयो ।

पाँच वटै कवुलियत वन समुहका उपभोक्ताहरुलाई वन क्षेत्रको जमिन भागबन्डा गरेर टिमुर खेती शुरु गरिएको र आफुले टिमुर खेती गरेको क्षेत्रको टिमुर सम्बन्धित उपभोक्ता आफैले बेच्ने भएकाले उपभोक्ताहरुको आम्दानी वृद्धी हुने डिभिजन वन अधिकृत ठाकुरले बताउनुभयो । बजारमा प्रति किलो रु आठ सय ५० रुपैयाँदेखि एक हजार रुपैयाँका दरले टिमुर बिक्री हुने गरेको डडेल्धुरा उद्योग बाणिज्य संघका अध्यक्ष द्वीजराज भट्टले बताउनु भयो ।


राम्रो तरिकाले फलाउन सकेमा एउटा बोटमा चार किलोसम्म टिमुर फलाउन सकिने अमरगढी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष नरबहादुर साँकीले बताउनु भयो । वृक्षारोपण गरिएको चार बर्षपछि टिमुर उत्पादन शुरु हुने स्थानीय बताउनुहुन्छ । टिमुर खेतीबाट वन क्षेत्रको संरक्षणसँगै उपभोक्ताहरुको आम्दानी वृद्र्धी हुने भएकाले जिल्लाका अन्य स्थानमा पनि कार्यक्रम विस्तार गर्न आवश्यक भएको सुदूरपश्चिम प्रदेश सभाका साँसद डा. ताराप्रसाद जोशीले बताउनु भयो ।
टिमुर खेतीको लागि हिउँदमा ठण्डा र गर्मीमा न्यानो हुने उपोष्ण र शीतोष्ण हावापानी भएको क्षेत्र उत्तम हुने प्रावधिकहरु बताउछन । माटोको अमलिएपन ६.५ देखि ७.० भएको बलौटे माटो यसको लागि सबैभन्दा उपयक्त हुने गरेको डिभिजन वन कार्यालय डडेल्धुराका सहायक वन अधिकृत रणेन्द्र सिँहले बताउनुभयो । उँहाले वन्यजन्तु र घरपालुवा जनावरहरुले पनि टिमुर खेतीमा क्षति नपुगाउने भएकाले वन क्षेत्रमा टिमुर खेती प्रवद्र्धन गरिएको जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेश सभाकी साँसद सरस्वती खडकाले सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा टिमुर खेतीको प्रयाप्त सम्भावना रहेकाले टिमुर खेती विस्तारसँगै प्रशोधन र बजारीकरणमा योगदान पुगाउन सकिएमा यँहाका बासिन्दाहरुको जीवनस्तरमा सुधार ल्याउन सकिने बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.