

डडेल्धुरा : आलिताल गाउँपालिका – ८ डडेल्धुराका लालबहादुर डाला मगर विगतका वर्षमा धान र गहुँ खेती गर्थे।
घरपरिवारलाई खान पुग्नेगरी आफूसंग उपलब्ध जमिनमा अन्नबाली लगाउने डालामगर थोरै मात्रै आलु लगाउथे।

वर्षौदेखि परम्परागत खेतीमा सीमित उनी पछिल्लो समय व्यवसायिक आलु खेती तर्फ आकर्षित हुँदै व्यावसायिक आलुखेती गर्न लागेको बताउँछन्।
आलुखेतीबाट कस्तो आम्दानी हुन्छ, थाहा छैन। तर, डाला आलुखेतीको हरियो बगैचामा रमाउदै छन्।
उनी भन्छन् ‘आफ्नो करिब १० रोपनी जमिनमा यो वर्षदेखि आलुखेती गरेको छु।’
‘पहिले हामी खेतमा यो सिजनमा गहुँ र अर्को सिजनमा धान खेती गर्थौ। अहिले मुनाफा हुनेखेती भनेर आलुखेती सुरु गरेकाछौँ,’ डाला भन्छन्, बोट देखेरै राम्रै होलाकी भन्नेमा आशामा छु।’
रंगुन ताजा तरकारी कृषक समुहका अध्यक्ष रहेका डालामगरका अनुसार चालु आर्थिक वर्षमा समुहको करिब एकसय रोपनीमा १ सय ५ क्यिन्टल आलु लगाएको बताए।
उनका अनुसार आलु खन्ने सिजन पछाडीका तीन महिना सम्म आलु भण्डारण गर्न सकेका ३० देखी ४० प्रतिशतले मूल्यबृद्वि हुने भएकाले राम्रो आम्दानी गर्न सकिने बताए।
लालबहादुर एक उदाहरण मात्र हुन्, परशुराम नगरपालिका – १२ खजुरानीका २५ परिवारले आलुखेती गर्दै आइरहेका छन्।
जिल्ला सदरमुकामबाट ८० किलोमिटरको दुरीमा रहेको उक्त बस्तिका किसानहरु पछिल्लो समय परम्परागत खेती छोडेर आलुखेतीतर्फ आकर्षित भएका हुन्।
डडेल्धुरामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाई लागू भएपछि कार्यालयले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै कृषकलाई व्यवसायीक आलुखेतीमा ध्यान केन्द्रीत भएको परशुराम नगरपालिका – १२ स्थित भित्रीमदेश प्रगतिशिल कृषक समुहका अध्यक्ष मनिसिंह बोहराले बताए।

विगत चार पाँच वर्षयता कार्यालयले यान्त्रिकरण र विउ तथा ढुवानीमा सहयोग गर्दे आएको अध्यक्ष बोहराले बताए।
परशुराम नगरपालिका – ५ स्थित सिद्धनाथ बहुउद्धेश्यीय कृषक समुहका अध्यक्ष सुरेन्द्र बोहरा आलुखेतीको उत्पादन राम्रोहुने देखेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आलु सुपरजोन कार्यान्वयन इकाइ डडेल्धुरासंगको सहयोग समन्वयमा बिउ तथा खायन आलुखेती गर्दै आइरहेका छन्।
यस्तै परशुराम नगरपालिका – १२ खजुरानीका मान बहादुर भण्डारीले खेतमा काडिनल र पिबिएस दाना गरि १० क्युन्टल आलुबिउ लगाएको बताए। भण्डारीको ४० क्युन्टल आलु उत्पादन गर्ने लक्ष्य रहेको छ।
परशुराम नगरपालिकाको १, ४,५, ७ र १२ वडाका दर्जनौ बस्तीहरुमा स्थानीय किसानले आलुखेती गर्दै आएको परशुराम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कल्पना भट्टले बताए।
नगरपालिका अन्तरगर्त आलुखेतीमा आत्मनिर्भर किसानहरुका लागी पालिकाबाट आलु ढुवानी र प्राविधिक सहयोग गर्ने प्रमुख प्रशासकिय अधिकृत भट्टले बताए।
बिउआलु उत्पादन गरेर कोल्डस्टोरमा राखी पहाडी जिल्लाहरुमा समेत निर्यात गर्ने गरेको उग्रतारा शित भण्डारका अध्यक्ष भोजराज भट्टले बताए।
अध्यक्ष भट्टले भने ‘जिल्लाको अमरगढीमा पहिलेदेखि आलुखेती हुन्थ्यो तर व्यवस्थित तथा व्यवसायीक थिएन। अहिले आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा सयौ क्युन्टल आलु उत्पादन हुने गरेको छ।’
पहिले खाली रहने शितभण्डार विगत ३/४ वर्षयता क्षमताभन्दा बढी बिउआलु भण्डार हुदै आएको अध्यक्ष भट्टले बताए।
गहुँ खेती छोडेर गरिरहेको व्यबसायीक आलुखेती गर्ने किसानहरुलाई अनुदानमा सिचाँई पोखरी निमार्ण, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान, बिउमा अनुदान लगायतका सेवासुविधामा सहयोग गर्दै आएकोे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई (आलु सुपरजोन) डडेल्धुराका प्रमुख भिष्मराज रेग्मीले बताए।
कार्यालय प्रमुख रेग्मीले भने, ‘डडेल्धुरा जिल्लाका सातवटै स्थानिय तहमा आलु सुपरजोनको क्षेत्र विस्तार भएर अहिले एउटै समुहले नै १ सय ५० क्युन्टल आलु उत्पादन हुने भएकाले आलुखेती तर्फ किसान आकर्षित मात्रै नभइ आत्मनिर्भर भएको पाइन्छ। किसानको खेतबारी जोगाउन कठिन छ, वन्यजन्तु र रोगबाट बचाउन सक्योभने किसानलाई आलुखेतीले मनग्य फाइदा हुने गरेको छ।’
अहिले जिल्लामा करिब ८ सय २२ हेक्टर क्षेत्रफलमा आलुखेती भइरहेको (आलु सुपरजोन) डडेल्धुराका प्रमुख रेग्मीले बताए।
प्रमुख रेग्मी भन्छन्, ‘आलु सुपरजोन डडेल्धुराले आर्थिक, प्राविधिक तथा यन्त्र उपकरण समेत सहयोग गर्ने गरेको छ। डडेल्धुरा जिल्लामै वर्षको चार महिना बाहेक बिउआलु र खायन आलु प्रर्याप्त मात्रामा पाइन्छ।’
