आधुनिक कृषि सिकाइरहेका ओमप्रकाश

डडेल्धुरा : पछिल्लो समय धेरै युवाहरू देशमा रोजगारी पाइएन भनेर विदेश जाने गरेका छन्। उनीहरू विदेशमा पसिना बगाउन बाध्य भइरहेका छन् । तर, आफ्नो देशमा भने विदेशमा जस्तै गुर्नपर्ने दुःख, मिहिनेत गर्न चाहिरहेका छैनन् ।

कतिपय युवाहरू विदेशमा सिकेको सीप आफ्नै देशमा प्रयोग गरिरहेका छन् । विदेशमा सिकेको सीप स्वदेशमा प्रयोग गर्नेमध्ये एक हुन्, डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका– ४ कटालका ओमप्रकाश जोशी । जोशी अहिले ३१ वर्षका भए ।

२०७५ असोजमा उनी इजरायल उडे । करिब एक वर्षजति उनी त्यहाँ रहे । त्यहाँ रहँदा उनले कृषिसम्बन्धी थुप्रै सीप हासिल गरे । त्यहाँ सीप हासिल गरेपछि उनलाई आफूले सिकेको सीप स्वदेशमै प्रयोग गर्नुपर्छ भन्ने लाग्यो ।

यही हेतुले उनी २०७६ भदौ ९ गते नेपाल फर्किए । र, जमिन भाडामा लिएर व्यावसायिक कृषि खेतीमा लागे । भदौमा नेपाल फर्किएका ओमप्रकाश अहिले आफ्नै ठाउँमा कृषि पेसामा लागेका छन् ।

तालिमका लागि इजरायल गएका ओमप्रकाश ११ महिने कृषि तालिम सकेर स्वदेश फर्किएर अहिले आफ्नै ठाउँमा विदेशमा सिकेको तालिमका आधारमा आधुनिक रूपमा कृषि गरिरहेका छन् । ओमप्रकाश सोही ठाउँको साना किसान सहकारी संस्थामार्फत् ११ महिने कृषि प्राविधिक तालिममा सिफारिस भई इजरायल गएका थिए ।

११ महिना इजरायलको बसाइपश्चात् स्वदेश फर्किएका उनी हाल आएर आफूले सिकेको आधारमा आधुनिक कृषि प्रणाली अपनाएर तरकारी खेतीमा लागेका छन् ।

बीबीएस अध्ययन पूरा गरेका उनले दुई बिघा जमिन भाडामा लिएका छन् । उनका अनुसार उक्त जमिनको वार्षिक भाडा २० हजार रुपैयाँ छ ।

डेढ बिघामा आलु खेती
उनले डेढ बिगा जमिनमा आलु खेती सुरु गरेका छन् । ‘मल्चिङ विधि’ प्रयोग गरेर उनले आलु खेती गरिहेका उनी बताउँछन् ।

‘डेढ विघामा आलु लगाएको छु’, उनले भने, ‘एक कठ्ठामा केरा खेती पनि गरिरहेका छु । एक कठ्ठाजतिमा टमाटर लगाएको छु ।’

कृषिबाट परशुराम नगरपालिकालाई नमुना नगरपालिका बनाउने उनको लक्ष्य छ । साथै, नगरपालिकामा बेरोजगार रहेका युवाहरूलाई आफूले आगामी दिनमा रोजगारीसमेत दिने उनको भनाइ छ ।

‘हामीले वातावरण सुहाउँदो खेती गर्नुपर्छ । परशुराम नगरपालिकालाई कृषिमा एउटा नमुना नगरपालिकाका बनाउन र यहाँका बेरोजगार युवाहरूलाई रोजगार दिनका लागि पनि म लागिरहेको छु ।’ उनले भने ।

सिकेको सीप सिकाउँदै
आफ्ना छरछिमेकी र स्थानीय बासिन्दाहरूलाई समेते ओमप्रकाशले आधुनिक कृषि कसरी गर्ने भनेर सिकाइरहेका छन् ।

विगतमा परम्परागत कृषि गर्ने यहाँका किसान अहिले ओमप्रकाशले आधुनिक प्रविधिबाट खेती गर्न सिकाएपछि आधुनिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।

परशुराम नगरपालिका– ४ कटालकै नन्दादेवी जोशी विगतमा परम्परागत खेती गर्थिन् । अहिले ओमप्रकाशले नयाँ आधुनिक तरिकाले खेती गर्न सिकाएपछि उनी पनि आधुनिक तरकारी खेती नै गर्न थालेकी छन् ।

‘विगतमा हामी अन्य तरिकाले खेती लगाउँथ्यौँ । उहाँ (ओमप्रकाश) ले इजरायलमा सिकेर आएपछि हामीलाई पनि सिकाउन थाल्नु भएको छ । अहिले आधुनिक तरिकाले कृषि गरिरहेका छौं ।’, उनले भनिन्, ‘पहिलेभन्दा उत्पादन पनि बढ्दै गएको छ । आमदानी पनि राम्रै गरिरहेका छौं । पोलिहाउस बनाएपछि त बाह्रै महिना ताजा तरकारी नि खान पाइएको छ ।’

यहाँका कृषकलाई कृषि ज्ञानकेन्द्र डडेल्धुराले पनि अनुदान दिएर कृषि तर्फ आर्कषण बढाइरहेको छ । फिल्ड प्रतिवेदनका आधारमा कृषक छनोट गरेर कृषि ज्ञानकेन्द्र डडेल्धुराले ५० प्रतिशत अनुदान दिइरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका योजना अधिकृत गोविन्द भट्टले बताए ।

उनी भन्छन्, ‘त्यसमा ५० प्रतिशत लगानी किसानको र ५० प्रतिशत लगानी कृषि ज्ञान केन्द्रले गर्ने गरेको छ ।’

तरकारीमा आत्मनिर्भर डडेल्धुरा
निर्वाहमुखी खाद्यबाली छोडेर व्यवसायीक तरकारी खेती गर्ने लहर चलेसँगै डडेल्धुरामा तरकारी उत्पादन बढ्दै गएको छ । सुदूरपश्चिममा तरकारी उत्पादनमा अग्रणी स्थानमा रहेको डडेल्धुरामा हिउँदे, बसन्ते र बर्षे गरी तीन सिजनमा तरकारी खेती हुँदै आएको छ ।

जिल्लामा तरकारी खेती गर्ने किसानको संख्या बर्सेनि बढ्दै गएको छ भने तरकारी खेती गर्ने क्षेत्रफल समेत बढिरहेको छ । कृषि ज्ञान केन्द्र डडेल्धुराका अनुसार जिल्लामा एक वर्षमा झण्डै ७० हजार मेट्रिकटन तरकारी उत्पादन हुने गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा छ सय ६५ हेक्टरमा बर्षे तरकारी खेती गरिएकोमा आठ हजार नौं सय मेट्रिकटन ताजा तरकारी उत्पादन भएको छ । यस्तै चार सय ४० हेक्टरमा बर्षे आलु खेती गरिएकोमा १२ हजार पाँच सय मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

यस्तै एक हजार तीन सय ७० हेक्टरमा हिउँदे तरकारीको खेती गरिएको थियो । १८ हजार चार यस ६० मेट्रिकटन ताजा तरकारी उत्पादन भएको छ । हिउँदे आलु १५ सय हेक्टरमा खेती गरिएकोमा ३० हजार मेट्रिकटन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा झण्डै साढे दुई अर्बको आलु मात्रै उत्पादन भएको छ । यसबाहेक, २५ करोडको बन्दा, १५ करोडको टमाटर, तीन करोडको प्याज पनि बर्सेनि उत्पादन हुँदै आएको छ । यस्तै, सिमी, केराउ, भेडे खुर्सानी, गाजर, रायो, मुला, ब्रोकाउली, काउली, बोडी, अकबरे खुर्सानी, खुर्सानी, भिन्टी, भान्टा, प्याज, काक्रा, फर्सी, करेला, लौका, धनीया, पालुङगो, चम्सुरको उत्पादन पनि बर्सेनि बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

यकिन तथ्यांक नभए पनि जिल्लामा एक वर्षमा चार अर्ब बढीको तरकारी उत्पादन हुने गरेको छ । ज्ञान केन्द्रका प्रमुख खेमराज पनेरुका अनुसार डडेल्धुरा तरकारीमा आत्मनिर्भर छ ।

‘यदी डडेल्धुरामा उत्पादित सबै तरकारी निर्यात नगर्ने हो भने यहाँ खपत हुनै मुस्किल हुन्छ ।’ पनेरुले भने, ‘यहाँ उत्पादन भएको आधाभन्दा बढी तरकारी अन्य जिल्लामा निर्यात हुन्छ । त्यसैले डडेल्धुरामा पनि बर्सातको दुई महिना र सुख्खा खडेरीको समयमा केही तरकारी आयात भइरहेको हुन्छ ।’

डडेल्धुराबाट कैलाली, कञ्चनपुर, डोटी, अछाम, बाजुरा, बैतडी, बझाङ र दार्चुला लगायतका जिल्लामा तरकारी निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार डडेल्धुरामा आयात भइरहेको तरकारीभन्दा बढी मूल्यको तरकारी यहाँबाट निर्यात भइरहेको छ ।

यहाँ उत्पादित तरकारीले अन्य जिल्लामा राम्रो मूल्य पाउने भएकाले पनि निर्यात बढेको किसानहरु बताउँछन् । ‘डडेल्धुराका होटल व्यवसायीहरुले सस्तो तरकारी खोज्ने भएकाले तराई र भारतबाट पनि तरकारी आउने गरेको छ ।’ तरकारी किसान मोहन भट्टले भने, ‘तर, डडेल्धुराको तरकारी ब्राण्ड नै बनिसकेकोले अन्य जिल्लामा राम्रो मूल्य पाउँछ । त्यसैले हामीले तरकारी अन्यत्र पठाउने गरेका छौं ।’

कृषि निर्देशनालय दीपायलका निर्देशक खगेन्द्र शर्माका अनुसार डडेल्धुरा प्रदेशमा तरकारी उत्पादनमा अग्रणी स्थानमा छ । ‘डडेल्धुरा सबै खाले तरकारीमा आत्मनिर्भर भइसकेको जिल्ला हो ।’ शर्माले भने, ‘तर, डडेल्धुरामा उत्पादित धेरै तरकारी अन्य जिल्लामा निर्यात हुने भएकाले डडेल्धुरामा पनि तरकारी आयात भइरहेको हुन्छ ।’

तरकारी उत्पादनका लागि डडेल्धुराको रुवाखोला, सकायल क्षेत्र, भेटा, धौलाकोट, ठूल्खाली, तडिबाटा, भात्काडा, डोटी घटाल क्षेत्र, पोखरा, ढाँटगाउँ, मालम, फिन्नेकोट, डोला, असुर्पा, डाँडावन क्षेत्र, बगरकोट, रुपाल, चुल्ल, सिराड, चप्परचौडी, हर्तोला लगायतका क्षेत्र प्रसिद्ध छन् ।

Leave A Reply

Your email address will not be published.