आमा चिन्ता नलिनुस्, म चाँडै फर्किने छु!

dream cafe
learnar

जीवन एउटा लामो यात्रा रहेछ, जहाँ संघर्ष नगरी आफूले चाहेका कुराहरू पूरा गर्न सकिँदैन।

आफू भोकभोकै बसी दिन रात पसिना बगाई आफ्नो सन्तान र परिवारको इच्छा पूरा गर्न एकछिन पनि आनन्दले नबस्ने बुवा र आमाको सपना पूरा गर्न म अघि बढेँ।

Bohora madico

सानैमा घर, परिवारको गरिबी देखेर र आफन्तले ‘गरिब’ भनि हेपेको देख्दा यी आँखा रसाएर आउँछन्।

दैनिक जीविकोपार्जन गर्न र एकछाक रोटी खान धौधौ भएपछि १२ कक्षाको पढाइ सकेपछि आफ्ना साथीहरूजस्तै रम्ने, ख्याल ठट्टा गर्ने उमेरमा हरियो पासपोर्ट थामी विदेशतिर लागेँ।

यसरी रोजगारीको सिलसिलामा आफ्ना परिवारबाट टाढिएर, काँधमा घरको जिम्मेवारी बोकी, आफ्ना सपनाहरू घरपरिवारको खुसीको लागि आफ्नो खुसी त्यागेर आफ्नो आँसु पुछ्दै एयरपोर्टबाट परदेशतिर लागेँ।

कहिल्यै त्यसरी एक्लै अन्जान सहरमा नबसेको। सधैं आमाको माया र ममतामा हुर्केको म। त्यस ठाउँमा बस्दा मलाई सधैं आमाको काखमा सुतेर मीठा मीठा कुरा गरेका ती पलको सम्झना आउन थाल्यो।

‘बाबु, खाना सेलाइसक्यो, चाँडो आइज’ भन्दा झर्किने छोरा आज आफैंले पकाएर हतार हतार ड्युटीमा जान थालेको छ।

बुवाले सधैं मेरो गल्तीमा मलाई गाली गरेका ती पल सम्झिँदा बुवाको सारै याद आउने गर्छ।

आफू जन्मेको, हुर्केको गाउँको त्यो दृश्य अझै यी आँखाका नानीमा घुम्ने गर्छन्।

गाउँको त्यो स्वच्छ हावा, शान्त वातावरण र ‘जिउँदाका जन्ती र मर्दाका मलामी’ भनि चिनिने मिलनसार आफन्तहरूको माया, दु:खको पलमा दिएका साथ सहयोग बिर्सिन साह्रै गाह्रो हुँदो रहेछ।

सानो छँदा कट्टु लगाई घरबाट भागेर, मैदानमा खेल्न हिँडेको, एक अर्कालाई पिटेको, जिस्काएको ती बाल्यकालका दिनहरू सम्झिँदा फेरि त्यही उमेरमा फर्किन पाएजस्तो हुन्छ, आमा।

HARDIK AGRo NEw

यहाँ चर्को न चर्को घाममा आफ्ना पसिना बगाई, मानिसलाई रोबोट जसरी परदेशमा कम्पनी तथा साहुहरूले खटाउने गर्छन्।

कति साथीहरू अत्यधिक कामको चाप र थाकेको शरीरमा पानीको प्यास मेटाउन नपाउँदा अकालमै यस संसारबाट सधैंको लागि टाढा जान्छन्।

आफ्ना छोरा छोरी, श्रीमती र आमा-बुवाको सपना र रहरहरू पूरा गर्ने सपनादेखि आएका दाजुभाइ तथा दिदीबहिनीहरू मेसिनले पेलिएर, अग्ला अग्ला भवनबाट खसेर ह्विलचेयरमा फर्किनु परेको छ। कति दाजुभाइ तथा दिदीबहिनीहरू भने परदेशबाट स्वदेशमा रहेका परिवारको सपना पूरा गर्न नपाउँदै बाकसमा फर्किनु परेको छ, आमा।

मेरा यहाँका साथीहरू नेपालबाट वैदेशिक रोजगारीका लागि ‘राम्रो कम्पनीमा काम लगाई दिने’ भनि म्यानपावरले ठगी आफूलाई भनिएकोजस्तो जागिर नपाएर, एउटा बन्द कोठामा बस्न बाध्य भएका छन्।

कतिले घरमा समयमै पैसा पठाउन नसकेर डिप्रेसनको शिकार भई आत्महत्या समेत गर्ने गर्छन्।

यहाँ नेपाली नारीहरूको चोली र अस्मिता लुटिँदा साह्रै नराम्रो लाग्ने गर्छ।

काम गर्ने ठाउँमा आफ्नै साहु, मालिकबाट बलात्कारजस्ता महिला हिंसाको शिकारबाट नेपाली नारीहरू शोषित भएका छन्।

आखिर के हामीजस्ता परदेशमा काम गर्ने युवा तथा नेपालीहरूले स्वदेशलाई विप्रेषणमार्फत् देशको अर्थतन्त्रमात्र बलियो बनाउन सहयोग गर्ने हो?

कहिले यी समस्याबाट मुक्त हुने हो?

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि कहिले हाम्रा समस्याको समाधानको लागि राम्रो नीति र सुविधाको व्यवस्था हुन्छ?

आशा गरौं यी समस्याहरूको समाधान चाँडै हुनेछ, आमा।

२,३ वर्ष कोरोनाले गर्दा घर आउन पाइनँ,आमा। चिन्ता नलिनुस् आमा, तपाईंको छोरा यस पटक परदेशबाट कमाएको, बचेको केही रकमले स्वदेशमै आएर आफ्नै देशमा केही उदाहरणीय काम गर्ने छ।

किनभने काम कहिले पनि सानो वा ठूलो हुँदैन, त्यो त मानिसको सोचाइ र दृष्टिकोणमा भरपर्ने गर्छ। अब मजस्ता लाखौं युवाहरू स्वदेशमै बसेर, यहाँ नै पसिना बगाएर आफूले केही व्यवसाय गरी उद्योग खोली आफू र अरूलाई पनि रोजगारीको वातावरण सिर्जना गरी गरिबीको अन्त्य गर्नैपर्छ।

Ddl dental
krisigyankendra new
Jalsrot
Leave A Reply

Your email address will not be published.