CAMBRIDGE PUBLIC SCHOOL

किवी खेतीले मनग्य आम्दानी

डडेल्धुरा : १२ वर्ष अघि अर्थात् २०६९ सालमा तत्कालिन कृषि विकास कार्यालय हालको कृषि ज्ञान केन्द्रले डडेल्धुराका १२ जना कृषकलाई किवी खेती बारे तालिम दिएको थियो ।

सो समयमा डडेल्धुराका कृषकले किवी फल देख्नु त परको कुरा नाम समेत सुनेका थिएनन् ।

उनीहरूलाई तालिम दिनुुको एउटै लक्ष्य थियो, व्यावसायिक रूपमा किवी खेती तर्फ अग्रसर गराउने । तालिममा पहिलो पटक किवी खेतीका बारेमा सुनेका कृषकले किवी खेती गर्ने आँट नै गरेनन् ।

तर, सोही तालिममा सहभागी डडेल्धुराको अमरगढी नगरपालिका– १, दहका गणेशबहादुर ऐर भने किवी खेती गर्न तयार भए । सुरुमा उनले ५ लाख लगानी गरेर एक सय बोट किवी लगाए ।

अहिले उनको बारीमा पाइप र फलाम गाडिएको छ । तर, तिनै पाइप र फलामको आडमा जेलिएका छन् किवीका लहरा अनि लहरामा झुलेका छन्, लटरम्म किवी ।

ऐरको बारीमा पुग्ने जो कोहीको पनि मन लोभ्याउँछ किवी खेतीले । अहिले उनले बारीमा दुई सय बोट किवी लगाएका छन् । ऐरका अनुसार उनी किवी खेती गर्नु अघि भारतमा रोजगारी गर्न जान्थे । किवी खेती सुरु गरेपछि भने उनले भारत जानु नपरेको बताए ।

व्यवसायिक रूपमै किवी खेती गरिरहेका ऐरको बारीमा दुई सयभन्दा बढी किवीका बिरुवा छन् । उनी छोराछोरीको पढाइ खर्चदेखि लिएर घरपरिवारको जीविकोपार्जन पनि यसै पेसाबाट चलाइरहेका बताउँछन् । किवी खेती गर्नुभन्दा पहिले आफू भारतमा गएर काम गर्ने गरेको उनको भनाइ छ ।

‘किवी खेती गर्ने कुनै सोच थिएन । जिल्ला कृषि विकास कार्यालयले दोलखाबाट यो योजना लिएर जिल्लामा तालिम दियो । हामी १०–१२ जना त्यस तालिममा सहभागी थियौं । तर, किवी खेती गर्न कसैले रहर देखाएनन् ।’ उनले भने, जिल्लामा पहिलो पटक मैले यो फलको खेतीको थालनी गरेको हुँ । सुरुमा एक सय बोट लगाए । अहिले त जिल्लामा किवी खेती गर्ने ३०–४० किसान पुगिसके ।’

किवी लगाएकै ठाउँमा तरकारी पनि लगाउन सकिने भएकाले मनग्य आम्दानी गरिरहेको उनले बताए ।

उनी भन्छन्, ‘अरु समयमा आफै काम गर्छु । गोडमेल र फल टिप्ने बेलामा कामदार लगाउँछु । मैले गरेको किवी खेतीबाट अरुलाई पनि रोजगारी दिन पाउँदा खुसी छु ।’

किवी भण्डारणका लागि जिल्लामा कोल्ड स्टोर नहुँदा भने आफूहरूलाई समस्या भएको दुखेसो उनको छ । ‘यहाँको किवी काठमाडौंसम्म पुग्छ । तर, बेमौसमी समयसम्म राख्न सक्यो भने बजार मूल्य पनि राम्रो पाइन्थ्यो । कोल्ड स्टोर नभएर समस्या छ ।’ उनले भने ।

ऐर मात्रै होइनन्, डडेल्धुरामा किवी खेतीका लागि उपयुक्त वातावरण भएकाले यहाँका अन्य कृषक यस पेसातर्फ आकर्षित भएका छन् । डडेल्धुराको अमरगढी नगरपालिका–२, चिम्रिकोटका हिक्मत खडायतले ९ रोपनीभन्दा बढी जमिनमा किवी खेती गरिरहेका छन् ।

किवी भन्दाअघि उनले सुन्तला, जुनार, कागतीजस्ता फलफूलको खेती गरे । डडेल्धुरामा किवी खेतीको राम्रो सम्भावना देखेर यो व्यवसायमा लागेको उनले बताए ।

जिल्लामा किवीका बिरुवा नपाइने भएपछि टर्कीबाट ल्याउने गरेका कृषकलाई मध्यनजर गर्दै उनले नर्सरी स्थापना गरि हेवार्ड, एलिसन र रेड किवी गरी तीन प्रजातिको किवीको बिरुवा पनि उत्पादन गरिरहेका छन् ।

‘बजारमा किवीको मूल्य र माग दुवै रहेको छ । किवी रोपेर नै पाँच जनाको परिवार पालिरहेको छु ।’ उनले भने, ‘बेर्ना हुर्कन कम्तिमा पनि एक–डेढ वर्ष लाग्छ । रोपेको करिब ३ वर्षदेखि ५०–६० वर्षसम्मै किवीले आम्दानी दिने सुनेको छु ।’

किवी खेतीबाटै घर खर्च कटाइ वार्षिक १–२ लाख बचत गर्ने गरेको उनले सुनाए ।

कृषि ज्ञान केन्द्र डडेल्धुराका कृषि प्राविधिक तारीसिंह ठकुराठी जिल्लामा कृषकले हेवार्ड, एलिसन जातका किवी लगाउने गरेको बताए ।

उनकाअनुसार पछिल्लो समय अन्य जातको किवीभन्दा रेड किवी मिठो हुने भएकोले कृषकले रेड किवी पनि लगाइरहेका छन् ।

सुरुमा एक पटक लगानी गरेपछि ४०–५० वर्षसम्म उत्पादन दिइरहने र बजारको समेत अभाव नहुने भएपछि हाल कृषकहरू यसको खेतीतर्फ आकर्षित भएको ठकुराठी बताउँछन् ।

किवी खेती मौसमका अनुसार पनि डडेल्धुरा जिल्ला उपयुक्त मानिने हुँदा त्यसतर्फ बढी आकर्षित भई यो खेती थालनी भएको उनको भनाइ छ ।

के हो किवी फल ?
किवी फल लहरामा फल्ने बहुवर्षीय, हिउँद महिनामा पात झर्ने भएकोले हिउँदे तथा पतझर फलफूल अन्तर्गत पर्दछ । किवी फलको बहुउपयोगी गुणले गर्दा संसारको सबै फलफूल भन्दा उत्कृष्ट फलको रूपमा चिनिएको छ ।

यो फलको खेती तथा उपभोग दर विस्तारै बढ्दैरछ । यसलाई शुरुमा चाइनिजमा गुजबेरी भनिन्थ्यो भनेपछि न्यूजील्याण्डको राष्ट्रिय चरा किवीको नामबाट यस फलको नामाकरण किवी गरिएको हो ।

नेपालको पूर्वी पहाडी जिल्लाहरूमा धेरै समय अगाडिदेखि खुवाइने गरेको र फल अचारको रूपमा पनि प्रयोग हुँदै आएको छ ।

यस फललाई नेपाली भाषामा ठेकी फल भनिन्छ भने शेर्पा भाषामा फेमियाल्दो भनिन्छ । हालसम्म विश्वमा ७६ प्रकारका किवी फलका प्रजातिहरूको पहिचान भैसकेको छ । यस फलको उत्पतीस्थल चिनको याङ्गजे नदिको नजिकै हो ।

महत्व :
किवी फलमा मानव शरीर स्वस्थ रहनको लागि अति उपयोगी खाद्य तत्व धेरै परिमाणमा रहेको छ । किवी फलमा पाइने एक्टिनिडिन नामक इन्जाइमले पाचन
प्रक्रियामा सहयोग गर्दछ । यसमा प्रशस्त मात्रामा रेशा पाइने भएकोले पाचन प्रक्रिया तथा आन्द्रामा समस्या आउन दिँदैन ।

मुटु तथा उच्च रक्तचाप, दम र डाइबेटिज रोगीका लागि यो फल उपयोगी मानिन्छ ।

हालको बजार स्थिती विश्लेषण गर्दा सबै फलफूल भन्दा धेरै आम्दानी दिने फल मध्ये किवी फल हो । यो फल रोपेको चौथो बर्षदेखि नै केहि आम्दानी दिन शुरु गर्दछ र प्रति बोट कम्तिमा पनि सरदर ५० केजी फल्दछ ।

हावापानी :
नेपालको सन्दर्भमा १२०० मिटरदेखि माथी २४०० मिटरसम्मको उचाईमा किवी फलको खेती गर्न सकिन्छ । किवी बगैंचा स्थापना गर्नुपर्ने जग्गा धेरै उचाईमा हुनुपर्छ भने दक्षिण तर्फ पहाडको मोहडा उपयुक्त हुन्छ ।

१२०० देखि १६०० मिटर उचाई भएको स्थानमा उत्तर पूर्व फर्केको मोहडा राम्रो मानिन्छ । असिना पर्ने स्थानमा यसको खेती गर्दा असिना अवरोधक नेटको प्रयोगबाट फल जोगाउन सकिन्छ । यो फल चिसो हावापानीमा राम्रो हुन्छ ।

फागुन–चैत महिनामा तापक्रम वृद्धि हुँदै जाँदा कलिलो मुना पलाउन शुरु गर्दछ, मुनाहरूमा मुनाहरूमा फूल फुल्दछ, फल लाग्न सुरु हुन्छ, हागाँहरूको वृद्धि हुन्छ र असोज, कात्तिक लागेपछि वृद्धि रोकिन्छ ।

मङ्सीर, पुस महिनामा तापक्रम घट्न थालेपछि यसको पात झर्दछ र सुषुप्त अवस्थामा जान्छ ।

किवी फलको नयाँ पालुवा पलाउनका लागि चिसो तापक्रम हुनुपर्दछ । हिउँद महिनामा औषत न्यूनतम तापक्रम १३ देखि १४ डिग्री सेल्सियस र औषत अधिकतम तापक्रम १३ देखि २५ डिग्री सेल्सियस किवी खेतीको लागि उपयुक्त मानिन्छ ।

वार्षिक वर्षा १५०० देखि २००० मिलिमिटर र ७६ देखि ७८ प्रतिशत सापेक्षिक आद्रता किवी खेतीको लागि उपयुक्त मानिन्छ ।

किवीफलका नेपालमा पाइने जातहरू :
हरियो गुदि भएका पोथी जातहरू : हेवार्ड, एलिसन, मोन्टी, ब्रुनो र एवोट
भाले जातहरू : मचुवा र टिमोरी
पहेलो गुदि भएका जातहरू : जेस्पिरी गोल्ड
रातो गुदि भएका जातहरू : रेड किवि (पोथी) कोहि किवी (भाले)

Leave A Reply

Your email address will not be published.