CAMBRIDGE PUBLIC SCHOOL

रुमायलका बाँझा खेत हरियाली बन्न थाले

डडेल्धुराः युवा जति रोजगारीका लागि भारत तथा अन्य देश जाँदा डडेल्धुराका धेरै गाउँ सुनसान छन् । दसैँ–तिहार जस्ता चाडपर्व बाहेक अन्य समयमा गाउँघरमा वृृद्धवृृद्धा, महिला र बालबालिका मात्रै देखिन्छन् । एसईई दिएर यहाँका धेरै युवाहरूरोजगारीकाखोजीमा भारत जान्छन् । उनीहरू दसैँ–तिहारको समयमा मात्रै घर फर्किने गर्छन् ।

तर, गन्यापधुरा गाउँपालिका–४, जिन्नकल्लाका सहदेव भट्ट व्यावसायिक तरकारी खेतीमा लागेका छन् । ५६ वर्षिय उनले चार वर्ष अघिसम्म जिन्नकल्लाका बाँझो खेत हरियाली बन्ला भनेर विश्वास नै थिएन । हामी उनको बारीमा पुग्दा उनी पोलीहाउस भित्र फलेका टमाटर टिपिरहेका थिए ।

‘मैले त जुनिभरी नै कृषि गरे । यसरी व्यावसायिक रुपमा नै कृषि गरूँला भनेर कहिले पनि सोचिन तर, मेरो इच्छा चाँही पहिलेदेखि नै थियो ।’ लटरम्म फलेका टमाटर देखाउँदै उनले भने ।

जिल्लाको गन्यापधुरा गाउँपालिका–४, रुमायलमा अहिले टनेल नै टनेल छन् । धेरैजसो स्थानीय कृषकहरू अहिले कृषि कर्ममा लागेका छन् । सहदेवले पनि ३ वर्षअघि सोही वडाको जिनकल्लामा फर्म दर्ता गरेर व्यावसायिक कृषिकर्म थालेका थिए ।

समान्य कृषि कर्म गरिरहेका उनी, आफ्नो २० लाख र मुख्यमन्त्री नमुना कृषिगाँउ कार्यक्रम मार्फत् १० लाख गरेर जम्मा ३० लाख लगानीबाट व्यावसायिक तरकारी खेती सुरु गरेको बताउँछन् । ५० रोपनी जग्गा भाडामा लिएका भट्टले आलु, टमाटर, सिमला, काँक्रा फलाइरहेका छन् ।

‘यहाँ कसैले पनि हालसम्म व्यावसायिक रूपमा तरकारी खेती गरेका थिएनन् । तर, हामीले अहिले वर्षेनि १० लाख जतिको तरकारी फलाएर बिक्री गरिरहेका छौं ।’ उनले भने ।

जिन्कल्लाका सय जना कृषक कृषि फर्ममा लागेर तरकारी खेतीमा लागेका छन् । स्थानीय मुकुन्द प्रसाद भट्टका अनुसार उनीहरू सबैले आ–आफ्नो जग्गामा तरकारी लगाइरहेका छन् ।

‘हामीेले गत वर्ष मुख्यमन्त्री नमुना गाउँ कार्यक्रम मार्फत समूहमाआवद्ध भएका किसानलाई संरचना बनाउन सहयोग, सिँचाई पूर्वाधार निर्माण, यन्त्र तथा कृषि औजार सहयोग गरेका थियौं ।’ उनले भने, ‘अहिले यहाँका सबै कृषक तरकारी खेतीमा लागेर मनग्य आमदानी गरिरहेका छन् ।’

उक्त स्थानमा सिँचाईका लागि पानी अभाव र जंगली जनावरको आक्रमण लगायतका समस्या रहेको मुकुन्द बताउँछन् । ‘हरेस नखाने अठोट छ । अहिले हामी कृषिमा लागेका छौं । नाम र दाम यसैबाट कमाइरहेका छौं ।’ उनले भने, ‘यहाँका युवाहरुलाई तरकारी खेतीमा लगाएर कृषि क्रान्ति गर्ने हाम्रो लक्ष्य छ । लक्ष्य अनुसार हामी अगाडि बढी रहेका छौं ।’

बनतोलको लेकमा फल्दैछ तरकारी
रुमायलकै विराज भट्ट १५ वर्ष भारतमा बसे । रोजगारीको शिलशिलामा भारत हानिएका उनी कोरोना कालमा घर फर्किएका थिए । भारतमा कमाउने १५ हजार भारुले घरपरिवार खर्च धान्न धौधौ हुने गरेको अनुभव उनीसँग थियो ।

रुमाइल गाँउको माथि बनलोत लेक छ । त्यहाँ विराजको पनि जग्गा छ । भारत नफर्कने निधो गरेका उनलाई त्यही लेकमा कृषि कर्म गर्ने जुक्ति फुर्यो । अनि के थियो, मनले आँटे कसले रोक्नसक्छ र !

उनले बैंकबाट ऋण निकालेर बन्तोलमा चारवर्ष अघिबाट पसिना बगाउन थाले । ३५ लाख व्यक्तिगत लगानी तथा गत वर्ष कृषि ज्ञान केन्द्रमार्फत मुख्यमन्त्री नमुना कृषि गाँउ कार्यक्रमको सहयोगमा उनले हालसम्म उक्त कृषि फर्ममा तरकारी फलाउँदै आएका छन् ।

‘मैले कार्यक्रममार्फत सिँचाई, घेरबार तथा यन्त्र पाएको थिए । अरु कृषकले पनि पाएका थिए ।’ उनी भन्छन्, ‘३५ वर्ष बाँझो रहेको यो खेतमा अहिले आलु, भन्टा, टमाटर, काउली र मकै फलाइरहेको छु । वार्षिक १२ लाखको उत्पादन हुन्छ ।’

उनले त्यहाँ भैंसी र बाख्रा पनि पालेका छन् । विराजले बनतोल, जैसेरा, मेड्डी, कुलेरी र रुमायलमा कृषिकार्य गर्न अनुदान र व्यक्तिगत लगानी गरिएको बताए ।

‘यहाँ केही हुन्न जस्तो लागेर भारत गए । त्यहाँ पुगेपछि जब घामपानी नभनेर आठदश घण्टा काम गर्नु प¥यो । तब लाग्यो यसरी नै नेपालमा काम गरेको भए मनग्य आम्दानी गर्न सकिने रहेछ ।’ उनले भने, ‘पैसा खर्च गरेर आइसकेपछि तत्काल फर्किने कुरा भएन । जेनतेन काम गरे र विदेश नजाने अठोटका साथ नेपाल फर्किए ।’

उनले पहिलो वर्ष ५० लाख, दोस्रो वर्ष ३५ लाख र हाल १० लाख लगानी गरेर तरकारी खेती भइरहेको बताए । कृषि ज्ञान केन्द्र डडेल्धुराका अनुसार गत वर्षसम्म त्यहाँ ४ वर्षे मुख्यमन्त्री नमुना कृषि गाँउ कार्यक्रम सञ्चालन भएको थियो ।

तरकारी प्रशस्त फले पनि यहाँका कृषकलाई बजारको समस्या रहेको उनी बताउँछन् । गाउँसम्म कच्ची सडक बाटो पुगेपनि वर्षातको समयमा सडक अवरुद्ध हुने समस्याले कहिले काँही त बजारसम्म तरकारी पुर्याउन नसक्दा गाईभैसींलाई खुवाउनु
पर्ने बाध्यता रहेको उनको भनाइ छ ।

‘यहाँ कृषकलाई त्यति सजिलो छैन । रोगकिराको प्रकोप त छँदै थियो । जङ्गली जनावरको आतङ्कपनि उत्तिकै छ । अब तरकारी खेती गर्नुपर्छ भनेर लागेपछि काम त गर्नु नै पर्यो ।’ उनले भने, ‘जङ्गलनजिक खेतबारी भएकै कारण बिमा कम्पनीले समेत बिमा गर्न आनाकानी गर्छन् । हामी कृषक पीडित छौं । राज्यले सहयोग गर्नुपर्छ ।’

Leave A Reply

Your email address will not be published.