CAMBRIDGE PUBLIC SCHOOL

कृषियोग्य जमिनको उर्वराशक्ति घट्दै, प्राङ्गारिक मलमा प्रोत्साहनमा कमी

डडेलधुरा : अमरगढी नगरपालिका– ९, झुकाल गाउँका कमलसिंह झुकाल लामो समय शिक्षण पेसामा कार्यरत थिए ।

शिक्षण पेसाबाट अवकाश पाएपछि उनमा खेती किसानी गर्ने हुटहुटी जाग्यो । अरु काम गर्नुभन्दा व्यावसायिक रुपमै तरकारी खेती गर्ने योजना बनाए, उनले ।

छोरा तीर्थ झुकालको सहयोगमा उनले तरकारी खेती गर्न अमरगढी नगरपालिका– ८, खुल्लेखआलीमा ६० रोपनी जमिन किने । तीर्थ, सिद्धार्थ बैंक डडेल्धुरा शाखामा कार्यरत छन् ।

उनले ‘श्री गाडलेक बहुउद्देश्यीय कृषि फर्म’ सञ्चालन गरेर विगत चार वर्षदेखि प्राङ्गारिक मलको प्रयोग गरेर व्यावसायिक तरकारी खेती गरिरहेका छन् । उनी तरकारी खेतीमा गोठेमल प्रयोग गरिरहेको बताउँछन् । जिल्लाका विभिन्न ठाउँबाट गोठेमल किनेर ल्याइरहेको झुकालले बताए । तर, उनी राज्यले प्राङ्गारिक मल प्रयोगमा प्रोत्साहन नगरेकोमा दुःखी छन् ।

‘थोरै मात्रामा डीएपी मल प्रयोग गरिरेको छु । उपभोत्ताको स्वास्थ्यलाई पनि ध्यान दिनुपर्छ । हामीले प्राङ्गारिक मल नै हाल्ने हो । रासायनिक मलले माटोको गुणस्तर बिग्रिन्छ ।’ उनले भने, ‘अहिले एक केजी हाल्यो भने अर्को वर्ष दुई केजी हाल्नु पर्दछ । नत्र उत्पादन शून्य हुन्छ । पानीको मात्रा पनि बढी चाहिन्छ ।’

तरकारी बेचेरै वार्षिक ९ देखि १० लाख रुपैयाँ आम्दानी गर्ने र अन्य खर्च कटाएर ५ देखि ६ लाख बचत गर्ने गरेको उनले सुनाए । उनी भन्छन्, ‘अहिले रासायनिक मलको प्रयोग गरेर कृषकलाई धेरै उत्पादन गरेर धेरै पैसा कमाउने भन्ने चाहना छ । तर, त्यो स्वास्थ्यको लागि हितकार छैन् । म घरमै स्थानीय स्तरमा उपलब्ध हुने झारपात तथा जडीबुडीहरुको मिश्रणबाट झोलमल बनाएर प्रयोग गरिरहेको छु ।’

झुकाल मात्रै होइनन्, अजयमेरु गउँपालिका– ४, चिपुरका करनसिंह बिष्ट गोठेमलको प्रयोग गरेर नै भटमास खेती गरिरहेका छन् ।

११ हल खेतमा भटमास लगाएका उनी गाउँमा रासायनिक मल नै नदेखेको बताउँछन् । उनी भन्छन्, ‘सबैले घरमा गाईभैंसी पालेका छन् । गोठेमल नै धेरै हुन्छ । यहाँका प्राय कृषकले रासायनिक मल नै देखेका छैनन् । हामी गोठेमल नै प्रयोग गरिरहेका छौं ।’

२०७५ सालदेखि गड्यौला मल उत्पादन गरिरहेका अजयमेरु गाउँपालिका ३ गुनपालका लक्ष्मीकान्त पनेरु रासायनिक मलको कारण गड्यौला मल बिक्रि गर्न समस्या भइरहेको दुखेसो पोख्छन् । कृषकमा चेतना नभएको कारण बजारको समस्या भएको उनको धारणा छ ।

‘गत वर्ष मल बिक्रि भएन, अन्तिममा कृषि ज्ञान केन्द्रले ५० प्रतिशतमा बिक्रि गरिदियो । यसपालि ज्ञान केन्द्रका कार्यक्रममा मल गएको छ ।’ उनले भने, ‘सरकारले नीति बनाएर रासायनिक मलको आयात रोक्नु पर्दछ र प्राङ्गारिक मलमा प्रोत्साहन दिनुपर्छ ।’

रासायनिक मलले माटोको उर्वराशक्तिमा कमी आइरहेको पनेरु बताउँछन् । ‘एकातिर स्वास्थ्यलाई असर परिरहेको छ । अर्कोतिर माटोको उर्बरा शक्तिमा कमी आउनुका साथै माटोको स्वास्थ्य समेत बिग्रिदै गइरहेको छ भने देशको अर्थतन्त्र पनि धराशायी बनिरहेको छ ।’ उनले भने ।

पनेरुका अनुसार रासायनिक मलले एक्कासी उत्पादन बढ्ने र पछि उब्जनी नै नहुने समस्या देखा परेको छ । उनी भन्छन्, ‘प्राङगारिक मलले तत्काल उपलब्धी नदेखिएता पनि भविष्यमा यसको प्रतिफल राम्रो हुने देखिन्छ ।’

जिल्लामा रहेका सरकारी तथा गैरसरकारी सङ्घ संस्थाले पनि प्राङगारिक मल प्रयोगमा प्रोत्साहन गरिरहेका छन् । लि–बर्ड अन्र्तगत ग्रेप परियोजनाका वरिष्ठ कृषि प्राविधिक गणेश ओझा अमरगढी नगरपालिका भित्र आफ्नो कार्य क्षेत्रमा कृषकलाई प्राङ्गारिक मल प्रयोगमा प्रोत्साहन गरिरहेको बताउँछन् ।

 

‘प्राङ्गारिक विषादी बनाउन झोल मल– १,२, र ३, हरियो मल, भकारो सुधार लगायतका कार्यमा हामीले सहयोग गरिरहेका छौं । उहाँहरू परम्परागत रूपमामल प्रयोग गर्दै आएका थिए ।’ उनले भने ‘अहिले हामीले कार्यक्रम लागू गरिसके पश्चात् प्राविधिक कुरा सिकाइरहेका छौं । जसकारण कृषकलाई सहज भएको छ ।’

कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख खेमराज पनेरुले धान खेतीको समयमा जिल्लामा रासायनिक मलको प्रयोग बढी हुने गरेको जानकारी दिए ।

उनले समग्र रुपमा जिल्लामा रासायनिक मलभन्दा प्राङ्गारिक मल बढी प्रयोग हुने गरेको बताए ।

‘रासायनिक मल पनि प्रयोग गर्नुपर्छ । तर, मिलाएर हाल्नुपर्छ । यसरी माटो पनि बिग्रिदैन । हामीले पनि किसानलाई रासायनिक र प्राङ्गारिक मल प्रयोगबारे सिकाइरहेका छौं ।’ उनले भने, ‘किसानलाई रासायनिक मल प्रयोगबारे जानकारी छैन । कहिलेकाहीँ अत्याधिक प्रयोग गर्नुहुन्छ । जस कारण माटोमा समस्या आउँछ ।’

‘सरकारले रासायनिक मलमा अनुदान दिने गरेको भएता पनि प्राङ्गारिक मलमा खासै अनुदान नदिने गरेको उनको भनाइ छ । उनी भन्छन्, यो देशमा उत्पादन बढाउने हो वा माटोको उर्वराशक्ति बढाउने हो भने सरकारले प्राङ्गारिक मलमा अनुदान बढाउनु पर्छ ।’

कृषि ज्ञान केन्द्र डडेल्धुराको तथ्याङ्क अनसार जिल्लामा वार्षिक २५ टन युरिया, २० टन डीएपी, १० टन पोटास र गड्यौला मल बाहेक १५ टन अर्गानिक मल प्रयोग हुने गर्दछ ।

के हो प्राङ्गारिक मल ?
प्राङ्गारिकमल पशुवस्तु र बाली विरुवाका झारपातबाट स्थानीय स्तर वा घरमा नै तयार पारिन्छ । हाम्रो देशमा तयार गरिने र प्रयोगमा ल्याइने प्रचलित प्राङ्गारिकमलहरुमा गोठेमल, कम्पोष्ट मल, हरियो मल आदि पर्दछन् ।

विशेष गरी प्राङ्गारिकमलका स्रोतहरूमा गोबर, गहुँत, बिरुवाको सढेगलेका अवशेष, कुखुराको सूली, घरको भान्साबाट फालिएका कुहिने वस्तु, खेतीपाती तथा वन्य वनस्पतिबाट प्रयोगमा आउने स्याउला, सोत्तर, हरियो मल, असुरो, खिर्रो, बासको पात, तीतेपाती, दालको जरा, धान, गहुँ, मकै, जौ जस्ताका कृषि अवशेष आदि हुन् ।

राम्रोसँग तयार पारिएको गोठेमलमा नाइट्रोजन १ देखि १.५ प्रतिशत, ०.५ प्रतिशत फस्फोरस र ०.५ देखि १ प्रतिशत पोटास पाइन्छ । राम्रोसँग तयार गरेको कम्पोष्ट मलमा १ प्रतिशत नाइट्रोजन, ०.५ प्रतिशत फस्फोरस र १ प्रतिशत पोटास पाइन्छ । माटोको नाइट्रोजनको स्तर बढाउने अर्को सरल उपाय भनेको धान रोप्नुभन्दा अगाडि दालजन्य बालीको खेती गर्नु हो । यी बालीको जराबाट वातावरणमा पाइने नाइट्रोजनलाई भण्डारण गरी माटोको गुणस्तरमा सुधार ल्याउन सकिन्छ ।

गोठेमल र कम्पोष्ट मलको भण्डारणलाई घाम र भलपानीबाट बचाउनु पर्दछ । यो घामको रापमा उड्ने र माटोबाट चुहिएर जाने हुन्छ । भकारो सुधारको प्रविधि नेपालका सबै जिल्लामा पु¥याउन क्षेत्रीय माटो परीक्षण प्रयोगशाला र जिल्ला कृषि विकास कार्यालयहरुले भकारो सुधारका प्रदर्शनहरु पनि गर्दै आएका छन् ।

प्राङ्गारिक मलका फाइदाहरु

प्राङ्गारिक मलले माटोको बनावट र गुणस्तरमासुधार ल्याउँदछ । जसबाट माटो खुकुलो भई खनजोतमा सहज हुन्छ । त्यसैगरी यसको प्रयोगले माटोमा सूक्ष्म जीवाणुको क्रियाकलाप बढ्छ ।

माटोको पानी धारण गर्ने क्षमतामा पनि स्वतः वृद्धि ल्याउँछ । यसबाट बाली विरुवालाई आवश्यक पर्ने मुख्य, सहायक र सूक्ष्म तत्वहरु उपलब्ध हुन्छन् ।

महङ्गो रासायनिक मलको खपत घटाई आर्थिक बचत गर्न सकिन्छ । माटोको उर्वराशक्तिलाई दिगो राख्न सकिन्छ ।

माटोका अन्य भौतिक गुणमा सुधार ल्याउन सकिन्छ । फोहरमैलालाई व्यवस्थित गरेर कम्पोष्ट मल बनाउन सके वातावरण सफासुग्घर हुनुका साथै रासायनिक मलको नकारात्मक प्रभावलाई समेत न्यून गर्न सकिन्छ ।

Leave A Reply

Your email address will not be published.