CAMBRIDGE PUBLIC SCHOOL

नकुहिने आलु बनाउने अठोट लिएका अवस्थी बने ‘कृषि मास्टर’

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भेटाका खेमराज अवस्थी स्कुले विद्यार्थी थिए । स्कुले विद्याथी हुँदा घरपरिवारले सामान्य रूपमा आलुखेती गर्थे । घरमा आलु धेरै फलेपछि विद्यालय जाँदा उनलाई उतैबाट आलु बेचेर आउन घरबाट आग्रह गरियो ।

त्यसपछि उनी स्कुल जाँदा उतैबाटै आलु बेच्न बजार जान थाले । एक दिन कुहिएका आलुले उनको सर्ट भिज्यो । त्यसले गर्दा उनले त्यो दिन विद्यालयमा लास्ट बेञ्चमा बस्नुप¥यो । सधैँ पहिलो बेन्चमा बस्ने उनी सर्ट भिजेर लास्ट बेञ्चमा बस्नुपर्दा नरमाइलो लाग्यो । त्यो कुराले उनलाई ‘पिन्च’ गर्‍यो ।

त्यस दिन उनले मनमनै सोचे, ‘अब यो आलुलाई कहिल्यै नकुहिने बनाउँछु’ । बाल्यकालमा गरेको अठोट उनले कहिल्यै बिर्सिएनन् । कक्षा १० मा पढ्दैदेखि उनी व्यावसायिक कृषि पेसामा लागे । उनको सानैदेखिको सपना माटोमै रमाउने थियो । जसलाई अवस्थीले माटोमै मलजल गरे । माटोमै विभिन्न किसिमका फलफूल रोपेर तिनकै गोडमेलमा लागे ।

कृषिमा लागेका उनले सँगसँगै पढाइलाई पनि निरन्तरता दिए । पढेर नै उनले शिक्षा संकायबाट स्नातकोत्तर गरे । शिक्षा संकायबाट स्नातकोत्तर गरेका अवस्थीका कतिपय साथीहरूले देशमै सरकारी जागिर पाए भने कतिपय घरपरिवारको खर्च जुटाउनका लागि भारत तथा खाडी मुलुक गए ।

तर, उनी भने कहीँ कतै नगएर आफ्नै ठाउँमा निरन्तर रूपमा तरकारी खेतीमा लागिरहे । विदेशको रोजगारीभन्दा स्वदेशमै तरकारी खेतीमा भाग्य र भविष्य देख्दै उनी अहिले पनि यही पेसामा निरन्तर रूपमा लागिपरेका छन् ।

उनको साँझ–बिहानको दैनिकी भनेको नै तरकारी खेतीमा बित्ने गरेको छ । तरकारी खेतीबाट उनले आजभोलि मनग्य आम्दानी गरिरहेका छन् । काउली, बन्दा, आलु, भान्टा, मुला, गाजर, गोलभेँडा, काँक्रा उनले आफ्नो बारीमा प्रशस्त लगाएका छन् ।

कृषि मास्टर भनेर चिनिन थाले
शिक्षा संकायका स्नातकोत्तर अवस्थीसँग शिक्षाक्षेत्रको भन्दा बढी कृषिक्षेत्रको प्राविधिक ज्ञान छ । उनलाई डडेल्धुरामा अगुवा कृषक तथा कृषिका मास्टर भनेर पनि चिनिन्छ ।

एक रोपनीदेखि सुरु गरेको तरकारी खेती अहिले ११ देखि १४ रोपनीमा विस्तार भइसकेको छ । उनले सो जग्गामा बेमौसमी तरकारीसमेत फलाउन सफल भएका छन् । २०६१ सालदेखि तरकारी खेतीमा लागेका ३६ वर्षीय अवस्थीले कृषि पेसाबाटै आमा, बुबा, श्रीमती, भाइ गरी ७ जनाको परिवार पालिरहेका छन् ।

उनले तरकारी व्यवसायबाट वार्षिक २ लाखदेखि बढीमा ३ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन् । विद्यालयको मास्टर हुनुपर्ने अवस्थी पछिल्लो समय त जिल्लामा कृषिकै मास्टर भनेर चिनिन थालेका छन् ।

सरकारी जागिर छोडेर कृषिमा
अवस्थी जिल्ला हुलाक कार्यालय डडेल्धुरामा काम गर्थे । उनले उक्त जागिर छोडेको अहिले ६ वर्ष भयो ।

‘सरकारी जागिर कहिले यता, कहिले उता गरेर हिसाबकिताब बराबर हुन्थ्यो । कृषिबाट त मैले सम्पूर्ण खर्च कटाएर २ देखि ३ लाख रुपैँया कमाउँछु ।’ उनले सुनाए, ‘मन लागेको बेला काम गर्छु । कहिलेकाहीँ अन्य कृषकका समस्या पनि हेरिदिन्छु ।’

सुरुमा सरकारी जागिरे भए पनि उनी तरकारी खेती गर्न थालेको १७/१८ वर्षजति भयो । सरकारी जागिरभन्दा राम्रो तरकारी खेती लागेर जागिर छोडेरै यो पेसामा लागेको उनी बताउँछन् ।

‘२०६५ सालमा व्यावसायिक तरकारी खेती कसरी गर्ने ? भन्ने तालिम लिएपछि प्राङ्गारिक तरकारी उत्पादन बढाउने र परम्परागत खेतीलाई आधुनिकीकरण गर्नेतिर लागें । १५ हप्ता बाली सहजकर्ताको तालिम लिएँ । तालिम लिएर गरेको कृषि फस्टाउँदै गएपछि गाउँका सबैलाई कृषि पेसा गर्नुस् भनेर सिकाउन थालें,’ उनले भने ।

कृषिसम्बन्धी धेरै समस्या समाधन गर्न सक्ने भएपछि साविकको जिल्ला कृषि विकास कार्यालयको कृषि ज्ञान केन्द्रले कृषि पाठशाला सञ्चालनका लागि केही स्थान आफूलाई पनि दिएको उनले सुनाए ।

१५ हप्ते बाली सहजकर्ताको तालिम लिएपछि उक्त ज्ञान आफूमा मात्र सीमित राखेनन्, पूरै गाउँलाई नै तरकारीमय बनाउन उनी रातदिन लागि परे ।

उनी गाउँको मात्र नभएर अहिले जिल्लाभरि नै सरकारी तथा गैरसरकारी संस्थाहरूको सहयोगमा कृषि पाठशालासमेत सञ्चालन गर्न थालिसकेका छन् ।

अनि बने कृषकका नेता
अवस्थी अहिले किसान महासंघ डडेल्धुराका अध्यक्ष छन् । उनी आजभोलि किसानका समस्या र हक हितका लागि लागिपरेका छन् ।

उनी भन्छन्, ‘म पनि एक कृषक हुँ । कृषकका समस्याका बारेमा राम्ररी बुझेको छु । अध्यक्षको नाताले कृषकको हकहितका लागि सधै साथमा रहन्छु ।’

कृषि प्राविधिक पाउन मुस्किल
स्थानीय सरकार आएर केही संरचना फेरिए पछि कृषकले प्राविधिकहरू पाउन मुस्किल भएको उनले बताए ।

‘नयाँ–नयाँ किसिमका रोग आउँछन्, यसबारे अधिकांश नयाँ कृषि प्राविधिक सम्बन्धित क्षेत्रमा कम बुझेका हुन्छन् । तर, आवश्यकता दक्ष प्राविधिकको छ ।’ उनले भने ।

उनका अनुसार पहिले जिल्ला कृषि कार्यालयमा सबै किसिमका कर्मचारी बागवानी अधिकृतसम्म थिए । अहिले पनि छन् । तर, कम छन्, त्यसैले समस्या छ ।

उनलाई प्राविधिक सहयोग आलुको सिजनमा गर्ने गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाई कार्यालय डडेल्धुराले जनाएको छ ।

कृषि ज्ञान केन्द्र डडेल्धुराका निमित्त कार्यालय प्रमुख खेमराज पनेरु अवस्थी एक अगुवा कृषक भएको बताउँछन् । ज्ञान केन्द्रले व्यावसायिक रुपमा तरकारी खेती गर्न उनलाई सघाइरहेको उनको भनाइ छ ।

विदेशिने युवालाई सुझाव
रोजगारीका लागि विदेशिने युवालाई विदेश जाने पैसाले यहीँ लगानी गरेर पसिना बगाए यहीँ मनग्य आम्दानी गर्न सकिने अवस्थीको सुझाव छ ।

‘एक डेढ लाख लगानी गर्नुस् । प्राविधिकको सल्लाहअनुसार व्यावसायिक बाख्रा पालन, कुखुरा पालन, तरकारी खेती गर्नुस् । भारतको तरकारी खाइरहेका हाम्रै डडेल्धुरामा अर्ग्यानिक तरकारीले राम्रो बजार पाउँछ ।’ उनले भने ।

यदि युवा मिलेर तरकारी खेती गर्ने हो भने विदेशको जति कमाइ यहीँ मातृभूमिमै गर्न सकिने उनको भनाइ छ । उनका अनुसार बेमौसमी तरकारी उत्पादन गर्ने हो भने त्यसका लागि अनुदान सहयोग गर्ने धेरै संघसंस्था छन् ।

Leave A Reply

Your email address will not be published.