नेपालमा स्थानीय तह निर्वाचन सम्पन्न भएकाे धेरै भएकाे छैन । कांग्रेसीहरूले हानेको ढुंगाले टाउको फुटेको एमाले कार्यकर्ताको घाउ अझै आलै होला । एमालेजनले माओवादीहरूलाई कुट्दा लागेको निलडाम अझै उस्तै होला । अनि माओवादीहरूले जसपा टाेलीलाई लघार्ने क्रममा त्राहिमाम् हुँदै भाग्दा गलेको ज्यानमा अझै थकान हटेको छैन होला । भोट नदिएको, चुनाव प्रचारप्रसारमा सहयोग नगरेको या अर्कै पक्षलाई सघाएको निहुँमा बोलचाल बन्द भएका छिमेकीहरूबीच अझै बोलचाल सुरु भएको छैन होला ।
अनि चुनाव प्रचारप्रसारको क्रममा बाइकहरूको लावालस्करसहित हिँड्दा कति कार्वन उत्सर्जन भयो होला । उतिखेर खपत भएको पेट्रोल डिजेल किन्न नेपाली रुपैयाँ कति बाहिरियो होला । अनि बिनास्रोतको पैसा मतदाताहरूको हातहातमा पुग्दा अवैधरूपमा आर्जित कति कालो धनले सजिलै बजारमा प्रवेश पायो होला !
गत वैशाख ३० गते सम्पन्न स्थानी चुनावमा देखिएको होला भन्नलायकका यस्ता होलावाला जिज्ञासाहरू खोतल्दै जाँदा कहिले लेखेर नसकिने किताब बन्ला । चुनावी प्रचारप्रसारदेखि मतपरिणाम आउँदासम्मका यस्तो ‘होला’ टाइपको घटनाक्रम र तथ्यहरू नदेख्ने नजान्ने शायदै कोही छौँ ।
त्यसैले नेपालको स्थानीय चुनावले उब्जाएको ‘होला’वाला जिज्ञासाहरू तपाईंहरूलाई नै छाडेर सिधै कोरियाको स्थानीय चुनावतिर लैजान चाहन्छु । नेपाली समाजले कोरियाको चुनाव प्रणाली त सिक्न र थेग्न नसक्ला तर कोरियाको चुनाव प्रचारप्रसार शैली र नागरिक चेतना नेपाली समाजले सिक्दा असाध्यै राम्राे हुन्छ ।
एक पार्टीको कार्यकर्ताले अर्को पार्टीको कार्यकर्तामाथि भौतिकरूपमा जाइलाग्नु नेपालको जुनसुकै निर्वाचनमा पनि सामान्यजस्तै बनेकाे छ । नेपालको इतिहासमा शायदै यस्तो निर्वाचन सम्पन्न भएको होला, जहाँ कुनै मान्छेकाे ज्यान नगएको होस् । कुनै मान्छेमाथि भौतिक आक्रमण नभएको र लडाइँ झगडा नभएको होस् ।
तर, कोरियामा मैले १३ वर्ष बस्दा थुप्रै निर्वाचनहरू प्रत्यक्ष देख्न पाएँ । म कोरियामा हुँदाको अवधिमा दुईपटक राष्ट्रपति निर्वाचन तथा तीन/तीन पटक संसदीय र स्थानीय निर्वाचन भयो । यी ८ वटा निर्वाचनमा मान्छेको ज्यान जाने कुरा त परै जाओस्, एक पक्षको कार्यकर्ताले अर्को पक्षको ब्यानर च्यातिदिएको, बाटो छेकिदिएकोसम्म देखिएन, सुनिएन । कोरियामा पनि नेपालमा जस्तै तीन तहको चुनाव हुन्छ । प्रत्येक ५ वर्षमा राष्ट्रपति निर्वाचन र प्रत्येक ४/४ वर्षमा संसदीय र स्थानीय निर्वाचन हुन्छ । तर, निर्वाचन बिनालफडा सम्पन्न हुन्छ । राजनैतिक विषयमा चासो नराख्ने र समाचार हेर्ने बानी नभएका धेरैजसो प्रवासी नागरिकहरूलाई कोरियामै बसे पनि कतिखेर चुनाव सम्पन्न भयो अत्तोपत्तो हुँदैन ।
यसपटक नेपाल र कोरियामा संयोगवश दुई हप्ताको फरकमा स्थानीय चुनाव सम्पन्न भयाे । नेपालमा वैशाख ३० गते स्थानीय चुनाव हुँदा कोरियामा जुन १ तारिखका दिन स्थानीय चुनाव भयो । तथापि नेपालमा अझै पूर्णरूपमा स्थानीय चुनाव सम्पन्न भइसकेको छैन ।
केही स्थानमा पुनः मतदान हुन र नतिजा आउन बाँकी नै छ । तर लगभग दुई हप्तापछि कोरियामा सम्पन्न भएको स्थानीय चुनावको अन्तिम परिणाम १२ घण्टा नबित्दै आएकाे थियाे । अर्को रमाइलो पक्ष नेपालमा निर्वाचन हुने निश्चित क्यालेण्डर नै छैन, निर्वाचन हुने/नहुने कुरा नेताहरूको तजबिजमा भर पर्छ । नेपालमा निर्वाचन हुने/नहुने भन्ने ग्यारेन्टी मतदाताले मतदान केन्द्रमा आएर भोट हाल्न सुरु गरिसक्दा समेत हुँदैन ।
अन्तिम मतपरिणाम घोषणा नभएसम्म चुनाव सम्पन्न भएको हो कि होइन निश्चित नै हुन्न । मतदान हुँदाहुँदै या मतगणना गर्दागर्दै बीचमा कसले कतिखेर बखेडा झिकेर फेरि चुनाव गराउनुपर्छ भन्ने हो निश्चित हुन्न । तर कोरियाको हरेक चुनावहरू निर्धारित क्यालेण्डरमा सम्पन्न हुन्छ्न् ।
बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकालगायत केही स्थानमा मतदानबारे अन्याेल छ । तर कोरियाले अब ४ वर्षपछि सन् २०२६ मा सम्पन्न हुने स्थानीय चुनावको मितिसमेत तय गरिसकेको छ । यसपटक नेपालको स्थानीय तहको निर्वाचन समयमा सम्पन्न हुने कुरामा धेरै संशय र विवाद थिए । केही जनप्रतिनिधिले आफ्नो ४ वर्ष कार्यकाल पूरा गर्न नपाएको भन्दै अदालतमा हालेको मुद्दाको फैसला आउनै बाँकी छ ।
हाम्रोजस्तो समयमै चुनाव सम्पन्न गराउन र छिटो मतपरिणाम घोषणा गर्न सकस पर्ने देशमा कोरियाको जस्तो कार्यकाल बाँकी रहँदै चुनाव सम्पन्न गराउन सकिने उपाय अवलम्बन गरिनुपर्छ । कोरियामा जनप्रतिनिधिहरूको कार्यकाल सकिनु दुई महिनाअगावै चुनाव गरी जनप्रतिनिधि निर्वाचित गरिन्छ ।
कोरियाको संविधानले तोकेको कार्यकालबमोजिम अवधि पुगेपछि नयाँ चुनिएका जनप्रतिनिधिले काम सुरु गर्छन् भने निवर्तमान जनप्रतिनिधिहरूले जिम्मेवारी त्याग गर्छन् ।
कोरियामा गत ९ मार्चमा राष्ट्रप्रति निर्वाचन सम्पन्न भई युन सक यल राष्ट्रपति निर्वाचित भए तर उनले निवर्तमान राष्ट्रपति मुन जे ईनको कार्यकाल सकिएपछि १० मेबाट मात्र आफ्नो कार्यभार सम्हाल्दै कोरियाको ब्लु हाउसमा बसाइँ सरे ।
नेपालजस्तो मतपेटिका गणना गर्ने स्थानमा ल्याउनै दुई दिन लाग्ने र मतपरिणाम निकाल्न दुई हप्ताभन्दा ज्यादा लाग्ने देशमा जनप्रतिनिधिहरूको कार्यकाल सकिनु कम्तिमा एक महिनाअगावै निर्वाचन गराउने व्यवस्था ल्याउन जरुरी छ ।
यसपटक कोरियाको स्थानीय चुनाव र नेपालको स्थानीय चुनाव सँगसँगै सम्पन्न भएकाले पनि दुई देशबीचको चुनाव तुलना गरेर केही लेखौँ भन्ने हेतुले यसपटकको कोरियाको आठौं स्थानीय चुनावलाई सुरुदेखि नै पछ्याइ रहेको थिएँ ।
कोरियामा म बसेको खजे सी नगरपालिका कोरियाको दक्षिणी जिल्ला ख्यङसाङ नाम्दो जिल्लामा पर्छ । यस नगरपालिका निवर्तमान राष्ट्रपति मुन जे इनको जन्मथलोसमेत भएको हुँदा अन्य स्थानमा भन्दा यहाँ धेरै चुनावी सरगर्मी हुनुपर्थ्यो । तर, खास त्यस्तो केही देखिएन ।
यहाँ जम्मा १,९३,३६९ मतदाता रहेकोमा ९९,२७३ मत मात्रै खस्यो । बरू निवर्तमान राष्ट्रपति मुन जे इनको डेमोक्रेटिक पार्टीको उम्मेद्वार वर्तमान राष्ट्रपति युङ सक यलको पीपल पार्टीको उम्मेदवारसँग ३८७ को झिनो मतान्तरले हारे ।
म बसेको नगरपालिकामा मात्र होइन। कोरियालीहरूले स्थानीय चुनाव र संसदीय चुनावमा राष्ट्रपति पदमा निर्वाचित व्यक्तिकै पार्टीप्रति रुझान देखाउने गरेका छन् । कार्यकारी सत्ता सम्हालेको पार्टीलाई नै सबै तहमा प्रमुखरूपमा स्थापित गराए काम गर्न सजिलो हुने काेरियाली जनताहरूको विश्वास रहेकेा पाइन्छ । कोरियामा अक्सर राष्ट्रपति पदमा निर्वाचित व्यक्तिको पार्टीले नै संसदीय र स्थानीय निर्वाचनमा समेत अग्रता हासिल गर्ने गरेका छन् ।
कोरियाको स्थानीय चुनावमार्फत विशेष महानगरपालिका, महानगरपालिका, नगरपालिकाको मेयर र नगर परिषद् सदस्यहरू तथा नेपालमा ठाडो नियुक्ति दिइने गभर्नर, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला/नगर क्षेत्रका शिक्षा प्रमुखलगायतका सात किसिमका पदमा राजनैतिक दल र स्वतन्त्र उम्मेद्वारहरू निर्वाचित हुन्छन् ।
कोरियाको स्थानीय तह निर्वाचनमा जम्मा १३ दिन चुनाव प्रचार-प्रसार गर्ने समय दिइन्छ । यसबीचमा उम्मेद्वारहरूले पोष्टर, ब्यानर टाँस्ने तथा सार्वजनिक स्थानमा विभिन्न कार्यक्रम गरेर चुनाव प्रचारप्रसार गर्न पाउँछन् । तथापि, अस्पताल क्षेत्र, विद्यालय क्षेत्र तथा रेल मेट्रो स्टेसनमा प्रचारप्रसारको कार्यक्रम राख्न पाउँदैनन ।
साँझ ९ बजेबाट चर्को स्वरमा आवाज दिने माइकसमेत प्रयोग गर्न पाउँदैनन् । प्रायः उम्मेद्वारहरू बीच सडकको ट्राफिक सिग्नलहरूमा एक्लै मत मागिरहेका भेटिन्छन् । उनीहरूसँग नेपालको उम्मेद्वारहरूसँग जस्तो दर्जनौं बाइक हुइक्याएर साथ दिने कार्यकर्ताको हुल हुँदैन ।
चुनावी ब्यानर र पोष्टर पनि सबै उम्मेद्वारहरूको प्रायः एकै ठाउँमा देखिन्छ । उम्मेद्वारहरूको चुनावी प्रतिबद्धता भिजिटिङ कार्डमा छापिएको हुन्छ । जम्मा तीनदेखि पाँच बुँदाभन्दा धेरै कुनै पनि उम्मेद्वारहरूको चुनावी प्रतिबद्धता पत्रमा भेटिन्न । उम्मेद्वारहरूको भाषण ५ मिनेटदेखि १० मिनेटभन्दा लामो हुन्न ।
कोरियामा निर्वाचन भएको १२ घण्टामा लगभग अन्तिम मतपरिणाम आइसक्छ । यति द्रूत गतिमा निर्वाचन सम्पन्न भएको देख्दा धेरैलाई लाग्न सक्छ- कोरियामा इलेक्ट्रिक भोटिङ मेसिनमार्फत निर्वाचन हुन्छ ।
तर होइन । कोरियामा पनि कागजी मतपत्रमार्फत नै मतदान हुन्छ । झण्डै नेपालको आधाजति जनसंख्या र मतदाता भएको राजधानीसमेत रहेको सउल विशेष महानगरपालिकाको मत परिणाम निर्वाचन भएको करिब ५ घण्टा नबित्दै आधारातमा आइसकेको थियो ।
यसपटकको स्थानीय चुनावमा सउल विशेष महानगरपालिकामा जम्मा ८३,७८,३३९ मतदाता थिए । यसमध्ये झरेको मत ३७,९१,२७४ मत गन्न ५ घण्टा पनि लागेन । कागजकै मतपत्र भए पनि कोरियाको मतगणना मेसिनमार्फत चुस्त र सटिक तरिकाले गरिन्छ ।
उम्मेद्वारहरूलाई दलहरूले अघिल्लो चुनावमार्फत प्राप्त गर्ने वरियता नम्बरको आधारमा संकेत चिन्ह दिइने मतपत्र कागजी नोटको साइजको मात्र हुन्छ । उम्मेद्वारहरूलाई प्राप्त गर्ने मत प्रतिशतको आधारमा चुनावी खर्चको हिस्सा फिर्ता दिइन्छ ।
१० प्रतिशतभन्दा कम ल्याउने उम्मेद्वारहरूको जमानत जफत गरिन्छ । कोरियामा दलको उम्मेद्वार हुन दलको आन्तरिक प्रतिस्पर्धामा श्रेष्ठता हाँसिल गर्नुपर्छ भने स्वतन्त्र उम्मेद्वार हुनलाई अग्रिम भोटिङ पोलहरूमा निश्चित मत प्रतिशत पाउन जरुरी हुन्छ । साथै उच्च शैक्षिक योग्यता र अनुभव हुन अत्यन्त जरुरी हुन्छ । निर्वाचन आयोगको उम्मेद्वारी मनोनयन सूचीमै उम्मेद्वारहरूको शैक्षिक योग्यता र अनुभव खुल्ने विवरण राखिएको हुन्छ । कोरियन मतदाताहरूले कम शैक्षिक योग्यता भएका र अनुभव नभएका उम्मेद्वारहरूलाई मत नै दिँदैनन् ।
राजनैतिक नेताहरूलाई हेर्ने हो भने कोरियाका राजनीतिज्ञहरू पनि नेपालको नेताहरूभन्दा कमीका छैनन् । आन्तरिक खिचातानी र नेताहरूबीचको बेमेल कोरियाको राजनीतिमा पनि अत्यधिक देखिन्छ । यसपटकको राष्ट्रपति निर्वाचनमा निर्वाचन हुने अघिल्लो दिनसम्मको सिनारियोमा डेमोक्रेटिक पार्टीका उम्मेद्वार इजे म्यङ्ले जीत्ने लगभग निश्चितप्राय थियो । तर रातारात तेस्रो र चौथो पोजिसनका उम्मेद्वारहरूले गठबन्धन गरी दोस्रो पोजिसनमा रहेका पीपल पावर पार्टीका उम्मेद्वार युङ् सक यललाई जिताइदिए ।
कोरियामा नयाँ राजनैतिक दल बन्नु र स्थापना हुनु नौलो विषय नै होइन । यहाँ कतिखेर कुन पार्टी कहाँ मर्ज हुन्छन् कुनै टुंगो हुन्न । अहिले कोरियामा सत्ता चलाइरहेका मुख्य पार्टीहरूमध्ये अधिकांश सन् २०१२ यता मात्रै स्थापित पार्टीहरू हुन् ।
तर कोरियाली नेतृत्वले आफूबीच जस्तोसुकै टकराव भए पनि जनताको सार्वभौमिकता, संविधान, ऐन कानुन र देशलाई बन्धक बनाउने यत्न गर्दैनन् । अनि कोरियाली सार्वभौम जनताले हरेक निर्वाचनमार्फत उच्च नागरिक चेतना प्रतिबिम्वित गर्दै कोरियाको राजनीतिलाई अगाडिको बाटो देखाउँछन् ।