बालेनको आइडिया बैंकलाई दुई शब्द डोनेसन

चुनावको उधुम गर्मी पसेर शहरका मान्छेहरूको ज्यान तातेको बेला मैले निकै मान्छेहरूका मुखबाट एउटै कुरा सुनेको थेँ- हाम्रो भोट त बालेन बाबुलाई ।

मलाई यो बालेन बाबु भन्ने शब्द निकै प्रिय लाग्यो । यी मान्छेहरूको मुखबाट निस्किएको आशाको शब्द, भरोसाको शब्द, विश्वास र समृद्धिको तुरुन्तै विपना देख्न पाइने सपनाको शब्द । तिनै मान्छेहरूले अति प्रेमपूर्वक सम्बोधन गरेको, ‘बालेन बाबु’ लाई मैले पनि यस लेखमा सम्बोधन गरेँ- ‘बालेन बाबु ।’

यतिखेर यो लेख तयार गर्न लाग्दा बाबुले जितेपछि शुभकामनाको सागर भेट्नुभएको छ, मैले पनि त्यो सागरमा शुभकामनाको सानुसानु थोपो खसालिदिएको छु । भलै, यो थोपो सुन्दर निरपानी रङको भए पनि, सागरमा पुगेपछि सबै एकै रङको भैहाल्छ । ठीकै छ, त्यस्तै होस् ।

बाबुले बोलेको एउटा टेलिभिजनसँगको अन्तर्वार्ता नसुनेको हुन्थेँ भने यी शब्दहरू संकलन गर्ने जिम्मेवारीबाट टाढै हुन्थेँ होला । ‘अ’ नपढ्दाको अज्ञानी ‘अ’ पढेपछि अल्पज्ञानी भनेजस्तो म त्यस्तै मान्छेले यो मौका पाएको छु । यस कुराबाट पनि बाबुलाई धन्यवाद !

यतिखेर ठूलो कुलघरानाका निकै समय सालसम्म प्रतीक्षा गर्दा-गर्दा बल्ल नाति जन्मिएपछि छाएको खुसियालीजस्तै थुप्रै महानगरवासीहरूमा खुसियाली छाएको छ । कोही यहाँ पाहा पछारिदाझैँ एकातिर पछारिए, अमलीसरी बाटामा घोप्टो परे तापनि ‘हाम्रो भोट त बालेन बाबुलाई’ भन्नेहरूले आत्मैदेखि खुसी भएर बाबुको लौरो चिह्नमा ड्याम्मै मुड्की बजारे । अनि बाबुलाई यस नेपाल देशको मुटु काठमाडौं महानगरको मेयर पदमा ‘बाबु, अब पाँच वर्षसम्म बुद्धिमानीपूर्वक काम गर्नू ल’ भनेर हजारौँ आत्माहरूले आशिष दिँदै कुर्सीमा बसाले । ताली पड्काएर हर्षबढाइँ गरे ।

ल ठीक छ । अब म यस लेखको जन्मघरतिर लागेँ । बालेन बाबु टेलिभिजनमा बोल्दै हुनुहुन्थ्यो, ‘विचारहरू संङकलनका निम्ति आफू खाली भएर सिक्नेछु ।’ बाबुले बोल्दै गर्दा म यसरी बुज्दथेँ, ‘विचारद्वारा नै संसारका नयाँनयाँ कुराको निर्माण भएको छ ।’ मैले खुसी मानेँ, हो नि त, यो पो हो त आइडिया । अनि सारा विचारहरूको डंगुर रासलाई थन्क्याउने ठाउँलाई चाहिँ यहाँले आइडिया बैंक भन्नु भो । त्यसैले त बाबुको आइडिया बैंकलाई दुई शब्द डोनेसन दिँदै छु ।

बाबु पढेगुनेको बुद्धिमानी मानिस हुनुहुन्छ । यस कुरामा दुविधा लिनु नपर्ला । तर बाबु, बुद्धि भनेको यस्तो चीज हो, कुनैकुनै ठाउँमा त यो बुद्धि कता-कता हराइदिन्छ, देखा नै परिदिँदैन । त्यसैले त्यसको साह्रै खाँचो रहन्छ । यो कुरामा बाबुको सही आइडिया हो । आइडिया बैंकमा बुद्धिको प्रशस्त ब्लालेन्स हुनैपर्छ । भोलि काम बिग्रिएपछि त भसक्कै भैहाले छ नि भनेर लोकको चित्त बुझाउन त खोजिन्छ, तर लोकले पहिल्यै भित्तो रङ्ग्याइसक्छ, अनि एकातिर कुरीकुरी, अर्को तिर सिकारी ।

तपाईंको जितमा धेरै मानिसहरूले यस नगरमा अब केही नयाँ र राम्रो कामको थालनी हुन्छ भन्ने कुरामा आधावादी छन् । उसो त आशावादीहरूको आफ्नै-आफ्नै स्तर छ । रिङरोडमा पैदल हिँड्ने यात्रीले ठाँउठाउँमा चौतारोको आस राखेको होला, अर्बौं रकमको थैली खेलाउने उध्योगीका लागि त्यो चौतारो के काम ? मात्र यत्ति हैन, राजनीतिकै कुरा सोच्दा पनि तपाईंतिर राल चुहाउन धेरैले कसरत गर्लान् ।

एकातिर पार्टीहरूले ‘गाँठे ! बालेन बाबु हाम्रै पार्टीको सिरानीमा ढल्किदिए देखिन् हाम्रो छाती नै ठूलो हुन्थ्यो नि’ भनेर अलिअलि मोहनी नजर देखाऊलान् । अर्कोतिर दरबारतिरबाट पनि आशिष बक्साउँदै कानमा साउती पुर्‍याऊलान् । धर्मका मान्छेहरूले आस गर्लान्, ‘बाबु, यताको बोली बोलिदेऊ न, बाबुको मुखबाट यस्तो पुण्य शब्द उच्चारण भइदिए हाम्रो कर्मै बलियो हुने थियो’ भनेर पक्कै सोच्लान् ।

मलाई एउटै कुराको अलि बढी चिन्ता लागेर आउँछ । ‘विचार संकलनका लागि खाली भएर सोच्नेछु’ भनेकोमा त्यो खाली ठाउँको मौका छोपेर अटेसमटेस हुने गरी विचारको ओइरो खाँदेर बालेनबाबुलाई कुनै एकले आफ्नै खोकिलामा पुर्‍याए भने त ‘हाम्रो बालेन’ भनेर छाती फुलाउनेहरूका छातीले न दिउँसो आराम पाउँछन्, न राति । त्यसैले तपाईंको आत्मामा एउटा यस्तो नाङ्लो जडान हुनुपर्छ, जुन नाङ्लोले कनिका विचार एकातिर, भुस विचार एकातिर, बियाँ विचार एकातिर, सग्ला-सग्ला छाँटेको चामल विचार अर्कोतिर हुनुपर्छ । निष्कर्षमा भन्नुपर्दा बालेन बाबु तपाईं आफूभित्रको प्रधानसेनापति आफैँ भैरहनुपर्छ ।

यो काठमाडौं शहरभित्रको लाम्टोभित्र गुँडुल्किँदै बितेको समयलाई हिसाब गर्दा तीन दशक बित्नलाई ठिक्क पारिसकेछ । बाफ्रे ! के चानचुन समय हो त ? खुसी नै लाग्छ, दु:ख गरेर यस शहरलाई माया गरेको छु मैले । यहाँको कला साहित्य, राजनीतिशास्त्र, समाजशास्त्र, मास्टरशास्त्र, विद्यार्थीशास्त्रदेखि लिएर भट्टी, टट्टीसम्मको शास्त्र विशाल छ । यो सारा शास्त्र बुझ्नका लागि मेरो मजदुरी जिन्दगीको एक चम्चा गिदीले आधीको पनि आधी चम्चा पगालेन होला । अब पगाल्नै पर्दा पनि यति एउटा लेखमा कत्ति नै पगाल्न सकौँला र ? सबभन्दा पहिले घरीघरी नाकमा आइरहने शास्त्र भनेको यस शहरको दुर्गन्धशास्त्र नै हो ।

केही समयपहिला यस दुर्गन्घशास्त्रका बारेमा सामाजिक चेतना तथा बहुउद्देश्यीय विकास समूह नेपालका कार्यकारी निर्देशक देवेन्द्र अधिकारीसँग भनेथेँ, ‘यो दुर्गन्धशास्त्रलाई पार लगाउने अर्को कुनै सुघन्धशास्त्र छैन ?’ यस प्रश्नको उत्तरमा आफ्नो सानो प्रयासद्वारा निर्माण भएका रिसाइक्लिन्ड सामान देखाउँदै उहाँले भन्नुभा’थ्यो, ‘शास्त्र छ नि । ल हेर्नुस्, यी हामी यही दुर्घन्धशास्त्रबाट चियापत्तीजस्तो मल बनाउँछौँ । कोही यस्ता अनेक सामान बनाउँछौँ, यसका लागि पहिलो कुरा फोहोरको डंगुरभन्दा विशाल फोहोरको डंगुर कतिपय मानिसको चेतनामा थुप्रो लागेको छ । त्यो फोहोरलाई सफा पार्नका निम्ति आत्मैदेखि इच्छाशक्ति भएको सम्बन्धित क्षेत्रको लिडर चाहिन्छ, हाम्रो प्रयास त सानो थोपोबराबर मात्रै त हो नि ।’

यस कुरामा त बालेन बाबुको चारडाँडा थर्काउनी उद्घोष नै छ, ‘हेर्दै जानु न, यो फोहोरलाई म कसरी तह लगाउँछु ।’ मेयर भएपछि बाबु सिस्डोलवासीका आवाज सुन्न त्यस डाँडामाथि उक्लँदै गर्दा सबैभन्दा बढी दुर्गन्ध केको पाउनु भो, राजनीतिक विचारको कि फोहोरको ? तर बालेन बाबु, यो कुहिने फोहोरजतिलाई चाहिँ घरघरमै सामान्य बाल्टी, ड्रममा कुहाएर मल बनाउने चेतना, प्राविधिक विकास र त्यो मललाई बजारीकरण गरिदिने कुनै निकाय भैदिने हो भने यो कुरा ठीक हुँदैनथ्यो होला र ? यसो गर्दा पनि एउटा छुट्टै रोजगारीको विकास हुने थियो । आफ्नो घरमा मल बनाउन नचाहनेहरूको घरबाट अर्को कुनै मजदुरले त्यो फोहोर सित्तैँमा पाउँथ्यो, त्यही प्रशोधित मल बेचेर त्यो मजदुरले परिवार पाल्थ्यो । फोहोर व्यवस्थापनको सजिलोभन्दा सजिलो उपायका लागि यस्तैयस्तै प्रेरणादायी कार्यक्रम ल्याउनुपर्ने पो हो कि । यो त भयो फोहोरको दुर्गन्धशास्त्रलाई सुगन्धशास्त्रमा परिणत गर्ने कुरा । अनि अर्को कुरा पनि साह्रै दिक्क लाग्ने कुरा छ क्या ।

म यसो कोही बेला भूगोलपार्कको भित्तामा अडेस लागेर गालामा हात लगाउँदै सोच्ने गर्छु, यस शहरमा एकबारको जुनी पाएका अनेक औकात र अनेक औतारका मान्छे छन् है ! आँखैअगाडि एउटा भलाद्‌मी बडो सानसँगले आफूभन्दा पछाडि हिँड्नेका नाकमा चुरोटको धुवाँ सुँघाउँदै हिँड्छ भन्या । यो भिडभाडमा चुरोट खाने तरिका यस्तै हो त ? शिखर चुरोट खानेहरूको बुद्धिचाहिँ खोँचमा पुगेन भन्या । लौ न के पो गर्ने होला ?

अब त बालेन बाबुको समय सुरु भएको छ । सबै मिलेर चुरोट खानेलाई नमस्कार गरेर लाज पो पारिदिने हो कि । नगर प्रहरी भाइबहिनीहरूले नाकै अगाडि डन्डी उठाउनुपर्ने पो हो कि । नगरमा कतै-कतै निश्चित ठाउँ तोकेर धुवाँ निल्ने ठाउँ बनाइदिनुपर्ने पो हो कि । चुरोटका नाम पनि सूर्य, शिखर, पाइलटजस्ता राख्नाले तिनको आत्मबल बढेर यस्तो फुर्ती आएको हो भने चुरोटका नाम फेरेर क्यान्सर, खोकी, घ्यार-घ्यार, हर्टएट्याक राख्नुपर्ने पो हो कि । त्यसरी चुरोट खानेहरूलाई ठाउँको ठाउँ समाएर यो धुवाँ प्रीतिवाल विद्यार्थी, शिक्षक, कर्मचारी, व्यापारी को रहेछ, सबै विवरण लिएर एउटा फोटो खिचिक्क खिचिदिने पो हो कि । कसो पो गरिदिने होला ?

बेलुकाबेलुकाको समय हुन्छ । यो समयमा यो शहर निकै थाकेजस्तो लाग्छ । विचरा यो शहरले यतिखेर कस्तो अनुहार बनायो होला ? म यसो चोकतिर निस्कन्छु, सडक पेटीमा अस्तव्यस्त, फुटपाथमा पसल, मान्छेहरूको भिडभाड देख्दा, साँच्चिकै थकित छजस्तो लाग्छ । यो फुटपाथलाई अलिकति शान्ति दिन के गर्ने होला ? यस विषयमा बालेन बाबुले पक्कै पनि असली चाँदी पाराले सोच्नुभएकै होला ? तर, मेरो सानु सिलाभरि कुरा के भने, ती फुटपाथमा पसल गर्नेहरूलाई ठाडै लखेट्ने त कुरै भएन । उनीहरूका जीविका चलाउने बाटो त्यहीँ छ, त्यसैले उनीहरूलाई बेलुकाको समयमा सम्बन्धित पाएक पर्ने ठाउँमा स्कुल/कलेजको आँगनमा पसल गर्न दिनी, त्यसबापत् केही शुल्क पनि लिने । त्यो पैसाले त्यसै स्कुलमा पढ्ने गरिब दु:खी विद्यार्थीलाई सहयोग पुर्‍याउने, केही पैसा नगरपालिकाले एउटा भलाइ कोष राखेर पैदलयात्रीका लागि नि:शुल्क शौचालय, खानेपानी, आकस्मिक सेवा सुविधा पुर्‍याउँदा कसो होला ? जस्तै; रत्नपार्क-सुन्धारातिरका फुटपाथ त्यतैतिरका स्कुल/कलेजको आँगनमा राख्दा के फरक पर्छ ? अलिक दिन केही कुरा अप्ठ्यारो होला, बिस्तारै सहज बन्दै गइहाल्छ, अथवा योभन्दा उत्तम कुरो अर्को छ भने त्यही कुरालाई सदर गरौँ, कि कसो ?

बालेन बाबु, अर्को कुरा पनि सुटुक्क राखौँ है । यो शहर सञ्चालनका निम्ति महत्त्वपूर्ण अंगहरूमध्ये एउटा अंग हो, यो शहरको डेरावाल । घरवालाहरूका पनि आफ्नै खाले सास्ती छन् । तर, डेरावालहरूका सास्ती पनि चानचुने छैनन् । डेरावालको प्रसङ्ग किन उठाइरहेको छु भने, बाबुलाई यस चुनावी मैदानमा विजयी हिरो बनाउनेहरूमध्ये यो देशका कुनाकाप्चाबाट आएका सयौँ डेरावालहरूको महत्त्वपूर्ण भूमिका छ । अब प्रश्न यो छ कि, अब तिनीहरूको यो गुणलाई अलिअलि मात्रै भए पनि कसरी तिर्ने विचार गर्नुभा’छ ? विद्युत् प्राधिकरणको मूल्य एउटा हुन्छ, डेरावालले तिर्ने मूल्य अर्कै हुन्छ । मरिचको दाना जत्रो कोठा हुन्छ, रछ्यानमा सप्रेको फर्सीजत्रो भाडा हुन्छ । कोही घरबेटी त साह्रै मनकारी हुन्छन्, कोही त साह्रै कण्टकारी । मनकारीको संख्या अलिकति, कन्टकारीको संख्या भलिभाँती । अनेक समस्याका बावजुदमा परेर पनि डेरावालहरूको बाध्यता यो छ कि ‘जसो-जसो घरबेटी उसै-उसै जाति’ भनेको छ । यस विषयमा बाबुको आइडिया बैंकमा कति कुरा सञ्चित छ कुन्नि । डेरावालहरूको समस्यालाई नगरपालिकाले सेतो चस्मा लगाएर हेर्नु त जरुरी छँदै छ । बेलाबेलामा छापातिर वैज्ञानिक भाडादरको पनि कुरा चल्यो । त्यो कस्तो खालको वैज्ञानिक भाडादर हो, सर्वसाधारणका लागि त त्यो कुरा आइन्स्टाइनकै खोपडीजस्तै बुझ्नै गाह्रो भयो ।

बिरही बाबु ढुंगेल ।
अर्को के कुरा मेरो मनमा खसखसाउँछ भने, हुन त यस कुराले सम्पूर्ण डेरावालका समस्यालाई हल गर्न गाह्रो छ, तर पनि नगरपालिकाले खाली रहेका सार्वजनिक जग्गाको अध्ययन गरी त्यस्तो ठाउँमा डेरावालहरूको आवास क्षेत्रमा निर्माणका लागि अलिअलि लगानी गरेर एउटा नयाँ प्रयासको सुरुवात गरिदिँदा एउटा राम्रो कामको सुरुवात हुन्थ्यो कि । ती आवास क्षेत्रमा कम आयस्रोत भएका मानिसहरूलाई कम शुल्कमा बस्न मिल्ने अवस्था भएमा त्यो शुल्क पनि सिधै नगरपालिकाको कोषमा जम्मा हुने थियो । त्यस्ता आवासक्षेत्रमा केही भोजनालयहरू खुलाई कम आयस्रोत भएका व्यक्तिहरूका लागि सर्वसुलभ तरिकाले भोजन गर्न पाउनु पनि उत्तम कुरो हुन्थ्यो । अझ यस कुरोमा हुनेले दिने, नहुनेले खाने, अभियान पनि ल्याउन पाए, यो कुरो पनि काइदै हुने थियो । यो अभियानमा मुलुकपारिका दाताको सहयोग नमागीकन हाम्रै देशका उदार हृदय भएका संघ, संस्था, व्यक्ति, अझ यो देशमा भएका धार्मिक समुदाय, सबै धार्मिक समुदायले मानवको कल्याण गर्नुपर्छ भन्छन् । लौ अब साँच्चिक्कै आफ्नो उपस्थितिलाई पहिलेको भन्दा अहिले सशक्त भएर देखाऊँ भन्दा कसो होला ?

नगरपालिकाभित्र अनगिन्ती टोल सुधार समितिका बोर्डहरू देखिन्छन् । समितिहरूले टोल सुधारका निम्ति आफ्नो हुतीले भ्याएसम्म लागेका होलान् । यस कुरामा धन्यवाद भनौँ । प्रश्न यो छ कि, सुध्रिएको टोल भनेको कस्तो टोल हो ? मैले एक जना टोलवासीलाई एउटा प्रश्न गरेको थिएँ, ‘यो टोल सुधार समितिले केके काम गर्छ दाइ ।’ उनले भनेका थिए, ‘यस्ता समितिले अरु त त्यस्तै हो, ढल सुधारको काम चाहिँ राम्रै गरेका छन् ।’ कतैकतै म टोलको यस्तो अवस्था देख्छु, दिउँसै भट्टीबाट बाहिर निस्किएको झोलकाइँलो अलिकति ओर्तिर आएर भित्तामा तातोपानीले सिँचाइ गर्न नली निकाल्छ । यस्तो देख्दा हाम्रा दिदीबहिनीहरूले उसको गल्तीमा आफूले लाज मान्नुपर्छ । कतैकतै आचीका रासहरू पनि भित्तामा लुकेका हुन्छन् । कतैकतै झोल काइँलीका मुखबाट पनि प्रशस्तै अश्लील शब्द फलाकेको सुनिन्छ ।

अर्कोतिर गाँजाका अम्मलीहरूले अलिकति कुनु खोजेर फुईं-फुईं धुवाँ उडाइरहेका हुन्छन् । त्यही टोलमा एकैछिनमा हानाहान पर्छ । खबर सुनिन्छ, यहाँ यस्तो भयो रे, त्यहाँ त्यस्तो भयो रे । अनुशासित र मर्यादित जीवनशैली अपनाउनका लागि टोल सुधार समितिले अपनाउन सक्ने थप अरु केही कुरा छैन भन्या ? त्यसै टोलमा त्यहाँ कोही कलाकार छन्, कोही लेखक छन्, कोही पत्रकार छन्, कोही प्रशासनिक क्षेत्रका व्यक्तिहरू छन्, विभिन्न संघ संस्था, धार्मिक निकाय त्यही टोलमा छन् । टोल समितिले यी सबैसँग सक्दो कार्यगत एकता गरेर टोलमा हुने अप्रिय गतिविधिलाई निषेध गर्ने र सुन्दर सफा टोलको अनुहार देखाउने प्रयत्न गर्न सक्दैन होला र बालेन बाबु । टोलसुधार समितिलाई यस्तैयस्तै जिम्मेवारी थपिदिएर उत्कृष्ट काम गर्ने समितिलाई सम्मान तथा पुरस्कारको व्यवस्था गर्न पाए कसो होला ? यस विषयमा बाबुको आइडिया बैंकमा के-कसो कुरो छ कुन्नि ।

बालेन बाबु ! अरु थुप्रै कुरा एउटा लेखमा सम्भव भएन है, अहिलेलाई यत्ति नै । भन्नै लाग्दा अलिकति कुरा थप्न मन लाग्यो । बाबु, यसो बेलुकाको चार गाँस भोजनपछि सिरानीमा टाउको टेकाएर पनि पक्कै सोच्नुहुन्छ होला । ‘गाँठे ! यो महानगरको मेयरमा उभिएर कसरी सर्पजस्तो चलाख र ढुकुरजस्तो निर्दोष भएर यो देशका कुनाकाप्चासम्म ‘मेयर हुनु त बालेन बाबुजस्तो’ भन्ने सुसन्देश पुर्‍याउँदै अरु थुप्रै हितैषी बालेनहरू खोज्ने होला ?’ भन्ने विषयमा त चिन्तित हुनुहुन्छ होला नि है !

Leave A Reply

Your email address will not be published.