CAMBRIDGE PUBLIC SCHOOL

कांग्रेसलाई त्रिविका एक निरीह मास्टरकाे चिट्ठी

पार्टी सभापति शेरबहादुर देउवाज्यू,

सर्वप्रथम बिनाकारण जहाँसुकै जतिबेला पनि मारिन सक्ने र मारिनुपर्ने त्रिभुवन विश्वविद्यालय (त्रिवि) को एक निरीह मास्टरको तर्फबाट तपाईंलाई महाधिवेशनको हार्दिक शुभकामना ।

कुनै राजनीतिक दलको छाता नओढेको म त्रिविको एक मामुली शिक्षक केही र कोही पनि थिइनँ, होइन । मरणासन्न अवस्थामा पुगेर पुनः नयाँ जीवन प्राप्त गरी यो खुलापत्र लेख्दैछु । यसमा समेत तपाईंकै पार्टीका कथित् कार्यकर्ताको देन भएकाले फेरि पनि सभापतिज्यूलाई धन्यवाद ।

अब आदरणीय सभापतिज्यूलाई पत्र लेख्नुको मूल कारणतिर लैजान्छु ।

मैले भोगेको अन्यायको महाभारत तपाईंलाई नभनी अरु कसलाई सुनाऊँ ? तपाईं देशकै अविभावक पनि त हो । यस पत्रमा तपाईंले एउटा पीडित शिक्षकको चीत्कार भेट्नुहुनेछ ।

पत्र लेख्नुको उद्देश्य तपाईंको अपमान गर्ने कदापि होइन । ज्यान मार्ने उद्योगका मुख्य अभियुक्त योगेन्द्र रावल बाजुरा जिल्लाबाट कसरी तपाईंको पार्टीबाट महाधिवेशन प्रतिनिधि बनेर आए ? तपाईंहरूको पार्टी विधान, कानुनी राज्यको प्रतिबद्धताले उनलाई प्रतिनिधि बन्नबाट किन रोक्न सकेन ? यस्ता अपराधीलाई कृष्ण सिटौला, प्रदीप पौडेलजस्ता तपाईंको पार्टीका नेताले संरक्षण गरिरहँदा अपराधी छाती फुलाएर हिँडिरहेका छन् । म र मेरो परिवार भने डर, त्रास र पीडामा बाँच्नुपरेको छ ।

म रावलहरूको टार्गेटमा पर्नुको कारण यो थियो कि मैले त्रिविको समाजशास्त्र विभागमा दुई महिनादेखि लागेको ताला खुल्नुपर्छ भनेको थिएँ । आदरणीय शेरबहादुर देउवाज्यू, तपाईं त यो देशको प्रधानमन्त्री । अनि मैले पढाउने विश्वविद्यालयको कुलपति पनि । तपाईं कुलपति रहेको विश्वविद्यालयको विभागमा ताला लगाउनु हुँदैन, विद्यार्थीले पढ्न पाउनुपर्छ भन्ने एक शिक्षकलाई सुनसान ठाउँमा बाटोघाटो कुरी बाँसका चिर्पट र फलामे रडले उसको टाउकोमा हान्नु र हातखुट्टा भाँचिदिनुलाई कसरी सामान्य घटना मान्ने ? सुनियोजित त्यो सांघातिक हमलामा मेरो जीवन जुनसुकै बेला तलमाथि हुन सक्थ्यो ।

राजधानीको मुटुमा अवस्थित त्रिवि परिसरभित्रै अपराधीले यतिसम्मको आँट र हर्कत गर्नुको पछाडि यो देशको प्रहरी, न्यायालय, विश्वविद्यालय र सरकार कसैले पनि उनीहरूलाई छुन सक्दैन भन्ने विश्वास थियो । म सजिलो टार्गेट थिएँ । मलाई प्रहार गरेर विश्वविद्यालयमा भय फैलाउनु थियो । ताकि त्रिवि पदाधिकारी डरले थुरथुर भएर उनीहरूले खोजेका नियुक्ति, सरुवा, बढुवा र कलेजका सम्बन्धन सजिलै गरिदिऊन् र उनीहरूलाई त्यसबाट आर्थिक लाभ प्राप्त होस् ।

हुन पनि अहिले त्यस्तै भएको छ । उनीहरू बिचौलिया र माफियाको रूपमा स्थापित भएका छन । मलाई प्रहार गर्दा केही परे संगठनले जिम्मा लिन्छ भनिएको थियो । भयो पनि त्यस्तै । सुरुमा त कीर्तिपुरको प्रहरीले मेरो उजुरी नै लिएन । जाहेरी दिन महानगरीय प्रहरी परिसर, टेकु पुग्नुपर्‍यो । घटनाका मुख्य योजनाकार हरि आचार्य र योगेन्द्र रावल लामो समयसम्म फरार रहे । मुख्य योजनाकार पक्राउ नपर्दा षड्यन्त्रमा संलग्न विश्वविद्यालयभित्रका अरु ‘हाई प्रोफाइल’ अपराधीहरूको पोल खुलेन ।

तपाईंकै पार्टीका शीर्षस्थ पङ्क्तिका नेता कृष्ण सिटौलाको गुट अपराधी जोगाउन लागिपर्‍यो । एउटा विरासत बोकेको कांग्रेसको भ्रातृ संगठन नेविसंघले अपराधी जोगाउन आन्दोलन गर्‍यो । प्रजातान्त्रिक कानुन व्यवसायीको छाता संगठनलाई अदालतमा अपराधीको पक्षमा तर्क गर्ने जिम्मा दिइयो । सेटिङमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाले छाडिदिने सुनिश्चितता गरेपछि फरार अभियुक्तहरू (मेरा लागि अपराधी नै हुन्) अदालतमा हाजिर भए र श्राद्धमा बिरालो बाँध्ने शैलीमा थुनछेक आदेशमार्फत सामान्य धरौटीमा छाडिए ।

अन्याय भएपछि न्यायका निम्ति म कहिले पाटन उच्च अदालत त कहिले सर्वोच्च अदालतमा भौँतारिनुपरेको छ । ती अभियुक्तविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलिरहेको छ । जिल्ला अदालतले अन्तिम फैसला सुनाएको छैन ।

घटना कसले र किन गरायो भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ । प्रमाण र अपराध पुष्टि नभएका कारण होइन कि अपराधीले नेविसंघको ओत पाएको र पार्टी नेतृत्वले संरक्षण गरिरहेका कारण अदालतले तिनलाई दोषी मान्न इन्कार गरिरहेको प्रस्टै छ । तथापि तिनीहरू ज्यान मार्ने उद्योगका कसुरदार हुन् भन्ने ब्यहोरा पाटन उच्च अदालतको आदेश तथा पक्राउ पुर्जीले बोलेको छ ।

घटना भएको १४ महिना बितिसक्दा पनि मैले न्याय पाउनु त कता हो कता, उल्टै त्यत्रो जघन्य अपराधमा संलग्न योगेन्द्र रावललाई तपाईंको पार्टीले महाधिवेशन प्रतिनिधि बनायो । सम्भवतः यी अपराधीको एउटा भोट तपाईंले पनि पाउनुहुनेछ ।

म के आग्रह गर्न चाहन्छु भने यस्ता अपराधीलाई पार्टीको साधारण सदस्यबाटै अबिलम्ब निष्कासन गरियोस् र नेतृत्वबाट तिनलाई संरक्षण प्रदान नगरियोस् । शक्तिको दुरुपयोग गरी अदालतलाई अपराधी चोख्याउने थलो नबनाइयोस् । अपराधीको कुनै धर्म, जात, पार्टी र सिद्धान्त हुँदैन ।

मैले उनको महाधिवेशन प्रतिनिधि खारेजीका निम्ति तपाईंको पार्टीमा उजुरी दिएँ । बाजुराका निर्वाचन अधिकृतले प्रतिनिधिबाट निलम्बन गरे पनि केन्द्रीय निर्वाचन समितिले त्यसलाई उल्ट्याइदियो । किन ?

किनकि अपराधीको तर्फबाट जिल्ला अदालतमा बहस गर्ने वकिल साप पार्टीको केन्द्रीय निर्वाचन समितिको संयोजकमा विराजमान थिए । त्यसैले यहाँ म आफ्ना दुःख, छटपटी, अन्याय र पीडा पोख्न बाध्य छु । तर, योगेन्द्र रावलजस्ता अपराधीका निम्ति कांग्रेस महाधिवेशन दसैँजस्तै बनेको छ । एउटा विरासत बोकेको पार्टीले अपराधीलाई पार्टीमा ओत लाग्न दिँदा, जोगाउँदा र अझ उल्टै शासन गर्ने ठाउँमा ल्याउँदा आमनागरिकको जिउधनको सुरक्षा कसरी हुन्छ प्रधानमन्त्रीज्यू ?

अभियुक्त याेगेन्द्र रावल, जाे महाधिवेशन प्रतिनिधि चुनिए ।
यसरी देशकै सबैभन्दा पुरानो भनिएको पार्टीद्वारा अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण गरिनु लोकतन्त्र र कानुनी शासनको उपहास सिबाय केही होइन । २०४६ यता लामो समय सत्ताको बागडोर सम्हालेको र अब पनि शासन हाम्रै हो भन्ने कल्पना गरिरहेको पार्टीले अपराधीलाई यसरी संरक्षण गर्दा हामीजस्ता पीडितले न्याय कसरी पाउने ? समाजमा भय फैलाउन सर्वसाधारणलाई जिउँदै इँटाभट्टामा पोल्ने मोहम्मद अफ्ताब आलम एवं निर्मला कुर्मी र नन्कुन्नी धोबीका हत्यारा बादशाह कुर्मीहरूजस्ता गुन्डाहरू तपाईंकै पार्टीमा ओत लागेका छन् । हरि आचार्य र योगेन्द्र रावलजस्ता अपराधीलाई नयाँ अफ्ताब आलम र नयाँ बादशाह कुर्मी बनाउन निम्ति कसैले प्रेरित र प्रोत्साहन नगराैँ ।

आदरणीय पार्टी अध्यक्ष तथा समस्त कांग्रेसीजनलाई म के आग्रह गर्न चाहन्छु भने यस्ता अपराधीलाई पार्टीको साधारण सदस्यबाटै अबिलम्ब निष्कासन गरियोस् र नेतृत्वबाट तिनलाई संरक्षण प्रदान नगरियोस् । शक्तिको दुरुपयोग गरी अदालतलाई अपराधी चोख्याउने थलो नबनाइयोस् । अपराधीको कुनै धर्म, जात, पार्टी र सिद्धान्त हुँदैन । त्यसैले अपराधीलाई उसैको दायरामा बस्न दिऔँ, सार्वजनिक ओहोदामा पदोन्नति नगरौँ ।

चलाउने त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक हुन् ।

Leave A Reply

Your email address will not be published.