डडेल्धुरा : आलिताल गाउँपालिका–४ ओखलढुगांका मानबहादुर गिरीले ०५२ सालमा एउटा घारबाट मौरी पालन थाले ।
ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) ले दिएको तालिम पश्चात उनले मौरी पालन सुरु गरे ।
एकघार मौरी पाल्नुभन्दा अगाडि गिरीले बाख्रा पालन व्यवसाय गरिरहेका थिए । बाख्रासँगै मौरी पाल्न सुरु गरेका उनी पहिलो पटक घारबाट मह काड्ने समयमा लोभिए । कारण थियो, घारबाट टन्नै मह आउनु ।
महले लोभिएका गिरीलाई लाग्यो बाख्राभन्दा मौरी पालनमा फाइदा छ । उनले बाख्रा हटाएर मौरी पालन थाले र घारको संख्या बढाए । त्यसपछि विस्तारै मौरी पाल्न थालेका उनका अहिले ७० घार मौरी पुगेका छन् ।
उनले एकपटक ८० घारसम्म पुर्याएका थिए । तर, विभिन्न ठाउँबाट माग आएकोले विक्रि गर्दा ७० घारमा झरेका हुन । अझै घार बढाउने योजनामा उनी छन् । उनको व्यवसायमा सहयात्री बन्न पुगेको छ, कृषि ज्ञान केन्द्र, डडेल्धुरा ।
व्यवसाय अगाडि बढाउन ज्ञान केन्द्रले ५० प्रतिशत अनुदान दिएको छ । मौरी पालन व्यवसायबाट नामसँगै दाम पनि कमाइरहेको गिरी बताउँछन् । गिरीलाई अहिले सफल उद्यमीका रुपमा चिनिन्छ ।
उनको परिचय कृषकमा मात्रै सिमित रहेन अब उनी प्रशिक्षक बनिसके । जिल्लामा रहेका सरकारी तथा गैर सरकारी संस्थाले मौरी पालन सम्बन्धि तालिम दिँदा उनलाई प्रशिक्षकको रूपमा बोलाउने गरेका छन् ।
उनको व्यवसायमा श्रीमती र छोराले सहयोग गरिरहेका छन् । मह बिक्रि गरेर वार्षिक चारपाँच लाख आम्दानी गर्ने गरेको उनी बताउँछन् । गिरीको पुर्खयौली घर प्युठान हो । बुवाबाजे प्युठानबाट सरेर डडेल्धरा पुगेको उनको भनाइ छ ।
‘अहिले उत्पादन राम्रो छ । नामसँगै दाम कमाइरहेको छु । तर, महको उत्पादन बढ्यो भने बजारको समस्या देखेको छु ।’ उनले भने, अहिले त खासै समस्या छैन् । मुडे घारभन्दा आधुनिक घारमा उत्पादन बढी छ । ७/८ सय रुपैयाँ प्रति केजीमा बिक्रि गरिरहेको छु ।’
जलवायु परिवर्तनमा परेको असरले मौरी पालनमा समस्या भएको कृषकको गुनासो छ । जलवायु परिवर्तनले ०७९ सालमा चिउरीमा फूल नै नलाग्दा मह उत्पादन नै नभएको मानबहादुर बताउँछन् ।
‘समयमै फूल नफूल्ने र फूलेको फूलमा मह नहुने समस्या छ । जलवायु परिवर्तनले अन्य व्यवसाय जस्तै हाम्रोमा पनि असर गरेको छ ।’ उनले भने ।
बुवाबाजेले परम्परागत रुपमा मौरी पालन गर्दै आएका थिए । घरको प्रयोजनको लागि त्यो पर्याप्त थियो । महको उत्पादनबाट राम्रै आमदानी होला भन्ने लागेर आलिताल गाउँपालिका–२ सुन्तडीका जयराज जोशीले २०७२ देखि व्यावसायिक रूपमा आधुनिक घारमा मौरी पाल्न सुरु गरे ।
अहिले उनीसँग आधुनिक र मुडे गरि २८ वटा घार रहेका छन् । मह बिक्रि गरेर नै उनले मनग्य आमदानीका साथै घर खर्च चलाइरहेका छन् । वार्षिक डेढदेखि दुई कुइन्टल मह बिक्रि गर्ने गरेको सुनाउँछन्, उनी ।
जेठ असारको मह मानिसले खासै नरुचाउने गरे पनि असोज कार्तिकको महबाट आम्दानी राम्रो हुने उनको भनाइ छ ।
जोशी र गिरी यहाँका प्रतिनिधि कृषक हुन् । यी जस्तै यहाँका थुप्रै कृषक व्यावसायिक मौरी पालनमा लागेका छन् । यहाँका कृषकले स्थानीय ‘एपी सेरेना’ जातको मौरीपालन गर्दै आएका छन् ।
४ वर्ष मलेसिया बसेर नेपाल फर्कीएका आलिताल गाउँपालिका–४ चुँडापानीका बिष्णु जोशी पनि व्यावसायिक मौरी पालनमा लागेका छन् ।
जोशीले ०७२ सालदेखि मौरी पालन व्यावसाय सुरु गरेका हुन् । उनी मौरीको महसँगै घार पनि बिक्रि गर्ने गर्छन् ।
‘पहिले त ४०/५० घारबाट वार्षिक दुई, तीन लाख कमाउँदै आएको थिए । अहिले परिवारमा श्रीमती बिरामी भएकोले उपचारमा व्यस्त हुँदा घटाएको छु ।’ उनले भने, ‘समय अनुकुल भए फेरी बढाउने योजनामा छु ।’
चिउरी, पैयुँ जस्ता दुदिलो प्रजातिका रूखहरु नासिँदै र गाउँघरतिर तोरी खेती गर्ने चलन हराउँदै जाँदा मौरी चरन क्षेत्रको अभाव भएको बिष्णु बताउँछन् ।
डडेल्धुराको मह काठमाडौंसम्म
भित्रि मधेश क्षेत्र अन्र्तगत पर्ने आलिताल गाउँपालिकालाई मौरी पकेट क्षेत्र नै घोषणा गरिएको छ ।
पालिकाको १ नम्बर वडादेखि ४ नम्बरसम्म मौरी पकेटका कार्यक्रम गर्दै आएको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख खेमराज पनेरुले जानकारी दिए ।
उनले आर्थिक वर्ष ०८०/८१ मा १५ लाखको मौरी विकास कार्यक्रम रहेको र त्यस अन्र्तगत साढे ६ सय जति मौरी घार वितरण गरेको बताए ।
‘हामीले प्रत्येक वर्ष लेबलिङ र प्रशोधित गर्ने मेशिन दिएका छौं । यहाँको मह काठमाडौंसम्म जाने गरेको छ । योलाई हामी विशुद्ध आर्गनिक मह भनेर भन्छौं ।’ उनले भने, ‘यहाँको महमा मिसाबट छैन् । नेपाल सरकारले पनि यस्तो कृषकलाई ध्यानमा राख्नु पर्दछ ।’
जिल्लामा झन्डै ६ हजारको हाराहारीमा घारको संख्या रहेको र वार्षिक ८३ हजार किलो मह उत्पादन हुने गरेको तथ्याङ्क कृषि ज्ञान केन्द्र, डडेल्धुरासँग छ ।
महको महत्व
मह एक पौष्टिक आहार हो । यो बहुउपयोगी औषधीय गुण भएको खाद्य पदार्थ पनि हो । मह शरिरका लागि पनि निकै उपयोगी छ । मह खानपान र तागतका लागि मात्र नभई चिकित्सा, सौन्दर्य आदिका लागि परापूर्व कालदेखि उपयोग गरिँदै आएको छ । यसलाई भगवान्का् आहारासमेत मानिएको छ ।
आयुर्वेदले महलाई एक प्रकारको खाद्य एवं औषधिका रुपमा लिएको छ । महमा पोषक तत्त्वको भण्डार हुन्छ । यसमा भिटामिन ‘ए’, ‘बी’, ‘सी’, सोडियम, क्याल्सियम, फस्फोरस, आयोडिन, आइरन आदि पाइन्छ ।
महलाई शक्तिवर्धक र रोगनिरोधक क्षमता भएको खाद्य तत्व मानिन्छ । प्राचीनकालदेखि नै महलाई जीवाणुरोधी (एन्टिब्याक्टेरियल) तत्त्व मानिँदै आएको छ । यसमा भएको एन्टिब्याक्टेरियल, एन्टिमाइक्रोबियल गुणले केही ब्याक्टेरियालाई फैलिन दिँदैन ।
यसै कारण हाम्रो समाजमा महलाइ पोलेको र काटेको शारीरिक अंग र घाउमा समेत दल्ने गरिन्छ । महमा भएका पौष्टिक तत्त्वबाट घाउ निको पार्न र तन्तुको वृद्घिमा मदत पुग्छ भन्ने धारणा छ ।
यसले क्षतिग्रस्त छालाको उपचारमा सघाउँछ । दिनहुँ मह सेवन गर्दा हाम्रो शरीरमा शक्ति, स्फूर्तिसँगै रोगप्रतिरोधक क्षमता समेत बढ्छ । दम र कफ हटाउनु परे महको उपयोग निकै राम्रो मानिन्छ । उच्च रक्तचाप नियन्त्रण, मुटु सम्बन्धी रोगबाट जोगिन पनि मह सेवनबाट फाइदा मिल्छ ।