CAMBRIDGE PUBLIC SCHOOL

व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बन्दै कलावती

आठ सयको फर्सी बेच्दा मख्ख

डडेल्धुरा : रातदिन खेतबारीको काम गर्दा उब्जनि न्यून हुन थाल्यो । रोग किरा र प्राकृतिक प्रकोपको मार त छँदै थियो ।

त्यसैमा दिउँसो बाँदर र राती बँदेल तथा दुम्सीले लगाएको अन्नबाली खाइदिन थालेपछि पहाडमा बाँच्न सकिन्न भन्ने लागेर डडेल्धुराको अमरगढी नगरपालिका–५ सेलागाउँकी कलावती अवस्थी कञ्चनपुरको शुक्लाफाटा नगरपालिका झरिन् ।

कलावतीको शुक्लाफाटामा पुर्खेयौली सम्पत्ति पनी थियो । खेतबारीमा रातदिन रगत पसिना बगाउँदा पनि उब्जनी नहुने देखेपछि कलावतीले पती जगन्नाथसँग कञ्चनपुर जाने कुरा गरिन् । उनको कुरामा जगन्नाथ पनि सहमत हुन्छन् ।

सेलागाउँमा भएको ६ रोपनी जमिन छोडेर कलावती दम्पत्ती दुई छोरा लिएर तराई हानिए । पहाडको माटोमा खाइखेली हुर्किएका कलावती दम्पत्तीलाई तराईको उखरमौलो गर्मीमा बस्ने रहर थिएन । तर, पहाडभन्दा तराईमा उब्जनी बढी हुन्छ भन्ने सुनेकै कारण आफूहरू तराई झरेको कलावती बताउँछिन् ।

सेलागाउँका अधिकांश स्थानीय घर खेत बाँझो छोडेर तराई तथा छिमेकी देश भारत हिँडी सकेका थिए । यहाँ घर मात्र होइन खेत समेत पूरै बाँझो हुन थालेको थियो । डडेल्धुरा सदरमुकाम नजिकको यो गाउँमा रहेका नागरिक, नजिकको बजारबाट तरकारी किनेर खाने अवस्थामा पुगिसेका थिए ।

कुनै समय सेलागाउँको तरकारीले बजार भरिभराउ हुन्थयो । तर, पछिल्लो समय तरकारी किनेर खानुपर्ने अवस्था आउन थालेपछि यहाँका केही स्थानीयले ‘असिग्राम कृषि समूह तथा पशुपालन कृषक समूह’ गठन गरेर व्यावसायिक तरकारी खेती गर्ने निर्णय गरे ।

उनीहरूले आफ्नो प्रस्ताव कृषि ज्ञान केन्द्र डडेल्धुरा समक्ष पेश गरे । कृषकको प्रस्ताव ज्ञान केन्द्रले पनि स्वीकार गर्यो । त्यसैमा अमरगढी नगरपालिका, आलु सुपरजोन कार्यक्रम, आइडीएस, ली−बर्ड जस्ता संघसस्थाहरू उनीहरूसँग हातेमालो गर्न पुगे ।

कृषिमा आवद्ध संघ संस्थाले सेलागाउँमा तरकारी बाली उत्पादनमा सहयोग गरिरहेको कुरा कलावतीको कानसम्म पुग्यो । तराईमा रहेका छिमेकीले सामाजिक सञ्जालमा देखेर भने पछि थाहा पाएको उनले सुनाइन् ।

सेलागाउँका कृषकले तरकारी उत्पादन गरिरहेको र मल, बीउ, घेरबार लगायतका सामग्री निःशुल्क पाइरहेको कुरा उनले साँझ पती जगन्नाथलाई सुनाइन् । र, पुनः पहाड फर्किने कुरा गरिन् ।

कलावतीकै करले तराई पुगेका उनका श्रीमान् सहजै पहाड फर्कनतयार भए । चार वर्ष तराईमा बसेर घर समेत बनाइसकेका अवस्थी दम्पत्ती घर बाँझो छोडेर पुनः पहाड फर्किए ।

‘हामी बुढाबुढीलाई फेसबुक भनेको पनि थाहा छैन् । हामी चलाउँन पनि जान्दैनौं । छिमेकीले पहाडमा गाउँलेले व्यावसायिक तरकारी खेती गरिरहेका छन् भनेपछि थाहा पाए ।’ उनले भनिन्, ‘त्यसपछि पहाड फर्किएर तरकारी खेती गर्ने निधो गरेर आएँ ।’ कलावतीले खुशी हुँदै बताइन् ।

आठ सयको फर्सी बेच्दा मिलेको खुसी
२०७९ माघमा सेलागाउँ फर्किएका हुन्, अवस्थी दम्पत्ती । गाउँमा फर्किएपछि कलावती ‘असिग्राम कृषि समूह तथा पशुपालन कृषक समूह’मा आवद्ध भइन् । छ रोपनी जमिन खनजोत गरेर उनीहरूले तरकारी खेती सुरु गरे ।

अहिले घर नजिकै बारीमा उनीहरूले पोलि हाउस समेत बनाएका छन् । सुरुमा ५० बोट फर्सी लगाएर आठ सयको फर्सी बेचेको उनी बताउँछिन् । तराईमा दैनिक तरकारी किनेर खाने गरे पनि यहाँ आठसयको फर्सी बिक्रि गरेर खुसी छिन्, उनी ।

पहिलो पटक आठसयको फर्सी बिक्रि गरे पनि अब आठ हजारको बिक्रि गर्ने योजनामा रहेको उनी बताउँछिन् । उनले खेतमा टमाटर, फर्सी, सिम्ला, खुर्सानी लगाएतका तरकारी बाली लगाएकी छिन् ।

‘मलाई तरकारीको बीउ, समूहबाटै मिलेको थियो । फर्सी बाँदरले खाइदिने भएपछि काँडाले घेरबार गरेर फर्सी लुकाएर राखेको थिए ।’ उनले भनिन्, ‘आठ सयको फर्सी बेचे, अझै बेच्ने तयारीमा छु । बिस्तारै आम्दानी पनि बढ्दै छ । तरकारीबाट मनग्य आम्दानी गर्ने योजनामा छु ।’

घेरबारको माग
सेलागाउँ बाँदर र बँदेलको आक्रमणले आजित छ । अवस्थी दम्पत्ती जस्तै यहाँका कृषकलाई जङ्गली जनावर धपाउन र अन्नबाली जोगाउन धौ धौ छ ।

जुन समस्याले दुःख पाएर तराईं झरेका उनीहरू, सोही समस्या फेरि आइलाग्छ कि भन्ने चिन्तामा छन् ।

जगन्नाथ भन्छन्, ‘अरूलाई तार जाली दिए जस्तै हामीले पनि पाए हुन्थ्यो भन्ने अपेक्षामा छौं । अझै हामीलाई तरकारी बाली फलाउन सहज हुन्थ्यो ।’

नगरकै पहिलो जलवायु मैत्री कृषि गाउँ
डडेल्धुराको अमरगढी नगरपालिका–५ मा पर्छ, सेलागाउँ । यो गाउँमा नगरकै पहिलो जलवायु मैत्री कृषि नमूना गाउँ कार्यक्रम सञ्चालन भएको हो । यहाँ आलु सुपरजोन कार्यालय डडेल्धुराले ११ सय मिटर जग्गामा तारजालीले घेरबार लगाएको छ ।

जसकारण उक्त क्षेत्र भित्र आलु प्राथमिक बालीसँगै कृषि ज्ञान केन्द्र, डडेल्धुराको समन्वयमा अमरगढी नगरपालिका कृषि शाखा तथा गैरसरकारी संस्था एकिकृत विकास समाज र ली−बर्डको साझा कार्यक्रम अन्र्तगत ताजा तरकारीका बेर्ना तथा जैविक मल तयारीसँगै प्राङ्गारिक तरकारी उत्पादन पकेट क्षेत्र बनाउन जलवायु मैत्री कृषि नमूना गाउँ कार्यक्रम सञ्चालन भइरहेको हो ।

‘असिग्राम कृषि तथा पशुपालन समूह’मा सेलागाउँका अवस्थी परिवार, तल्लो जिलोडाका पाठक परिवार र मल्लो जिलोडाका ओझा परिवार गरि ५३ जना कृषक आवद्ध छन् । ५३ जना कृषकहरूका लागि कृषि आवद्ध संघ संस्थाले सयुक्त रूपमा काम गरिरहेको कृषि ज्ञान केन्द्र, डडेल्धुराका निमित्त कार्यालय प्रमुख खेमराज पनेरू बताउँछन् ।

‘बजारबाट नजिकको गाउँ, तरकारी खानलाई पनि नफलाउने, व्यवसायीक तरकारी खेती गर्न इच्छुक त्यहाँका स्थानीयलाई सँगै बसालेर समुदायमा गयौं,’ उनले भने, ‘समुदायसँग बसेर छलफल गरी, उनीहरूलाइ विस्वस्त बनायौं । पछि, उनीहरू तयार भए ।’

प्रमुख पनेरूका अनुसार कृषि ज्ञान केन्द्रको पाँच लाख रुपैयाँमा स्थानीय स्रोत साधनको प्रयोग गरेर २५ प्लाष्टिकका हाउस बनाइएको छ, भने आइडीएसले विउ बिजन तथा तालिमको व्यवस्था गरिदिएको छ ।

ली−बर्डले गड्यौला मल, जैविक विषादी, मल्चिङ प्लाष्टिक, भकारो सुधारका क्षेत्रमा काम गरिरहेको छ भने आलु सुपरजोनले घेरबार र आलुमा अनुदान दिइरहेको पनेरुले बताए ।

विषादी रहित तरकारी उत्पादन
करिव दुईसय रोपनी बाँझो जमिन प्रयोगमा ल्याएर यहाँका स्थानीय विषादी रहित तरकारी उत्पादनमा जोड दिइरहेका छन् ।

भारतबाट आयातित विषादीयुक्त तरकारी खान बाध्य नेपालीहरुले विषादी रहित तरकारीको विकल्प खोजीरहेका बेला सेलागाउँका कृषक प्राङ्गारिक तरकारी उत्पादनमा लागेका हुन् ।

बजारमा विषादी युक्त तरकारीको विकल्पमा आफूहरूले विषादी रहित प्राङ्गारिक तरकारी बेच्दै आएको असिग्राम कृषि तथा पशुपालन समूहका अध्यक्ष चन्द्रादेवी अवस्थीले बताइन् ।

‘कृषिमा सम्भावना देखेरै लगानी गरेका छौं । अहिले सुरुवात चरणमा छौँ । विषादी रहित तरकारी उत्पादनमा जोड दिएका र्छौं ।’ उनले भनिन्, ‘सबैको साथ सहयोग पाइरहेका छौं । बजारको पनि तत्काल समस्या छैन् ।’

तरकारी खेतीमा हाइटेक प्रविधिको उपयोग गरी मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्ने योजना रहेको चन्द्रादेवीले सुनाइन् । तरकारी खेतीमा थोपा सिँचाई र प्लाष्टिक छापोको प्रविधि प्रयोग गरिएको छ ।

कृषि पेशामा युवाहरुको आकर्षण बढाउनका लागि कृषि उत्पादन केन्द्रमा किसान पाठशाला कार्यक्रम पनि सञ्चालनमा रहेको आइडीएसका कार्यकारी निर्देशक पदमा गुरुङ्गले जानकारी दिइन् ।

‘कृषि तथा पशुपालन कार्यमा परम्परागत रूपले जीवन निर्वाह गरिरहेका यस क्षेत्रका कृषकलाई व्यवस्थित रूपले कृषि र पशुपंक्षी पालनमा गोठ सुधार, भकारो सुधार, पशुचौपायाको मलमूत्र व्यवस्थापन एवम् जैविक बिषादी तयार तथा प्रयोग विधिका बारेमा जानकारी दिइरहेका छौं ।’ उनले भनिन्।

कृषकहरूका लागि टमाटर, भेडे खुर्सानी, बैगन, लौका, फर्सी, काँक्रा, तितेकरेला, काउली, मूला लगायतका १३ प्रकारका ताजा तरकारी बालीलाई प्राविधिक परामर्शसहित उत्पादनलाई गुणस्तरिय, प्राङ्गारिक र अधिकतम उत्पादन बृद्धिमा जोड दिने गरि पाठशाला सञ्चालन भइरहेको प्रशिक्षक पदमबहादुर ऐरले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.