CAMBRIDGE PUBLIC SCHOOL

डडेल्धुरामा हावाहुरी र पानी पर्दा जान्छ बिजुली : विद्युत्को सास्ती कहिलेसम्म ?

डडेल्धुरा :  डडेल्धुरामा हावाहुरी र पानी पर्‍यो कि बिजुली गायब हुने समस्याले उपभोक्ता हैरान छन्।

जहिल्यै हावा चल्दा बत्ती दुई तीन दिन गायब हुने पीडा  डडेल्धुरा बासीको छ।

कहिलेकाहीँ त पानी परोस् वा नपरोस् पाँच/पाँच मिनेटमा बिजुली आउने जाने भइरहन्छ।

जिल्ला सदरमुकाममा बिजुली झ्याप झ्याप हुँदा इलेक्ट्रोनिक समान बिग्रेर उपभोक्ता हैरान छन् भने ग्रामीण भेगमा  बिजुली गएपछि कहिले आउँछ भन्ने अत्तोपत्तो नहुने स्थानीय रतन बिष्ट बताउँछन्।

विद्युतको समस्याले आम उपभोक्ता मर्कामा परेको उनको भनाइ छ।

चमेलिया जलविद्युत्बाट आएको विद्युत् स्याउले सबस्टेशन हुँदै डडेल्धुरा विद्युत् कार्यालयको फिडरमा आएपछि जिल्ला सदरमुकाम क्षेत्र, बैतडी र बझाङसम्म जाने गरेको छ।

लामो लाइनको कुनै ठाउँमा पनि समस्या आउँदा लाइन पनि काट्नु पर्ने कारणले डडेल्धुरामा बिजुली सेकेन्ड सेकेन्डमा आउने जाने भइरहने डडेल्धुरा हार्डवयर व्यवसायी संघका अध्यक्ष लालमणि पन्त बताउँछन्।

बिजुली झ्याप झ्याप भइरहने गरेकोले इलेक्ट्रोनिक समान बिग्रिनुका साथै विद्युत् सेवाबाट बञ्चित हुनु परेको उनको भनाइ छ।

‘स्याउले सवस्टेसनबाट सिधै बगरकोट, डोटीघटाल, ढुनढुने, ब्यारेक र भात्तकाँडा गएको लाइनमा यो समस्या छैन्। हाकिम साफलाई समस्या राखेका थियौं,’ उनले भने, ‘दुई महिना मात्रै हावाहुरीको कारण समस्या भएको हो पछि हुँदैन भनेर सजिलो जवाफ आयो।’

अमरगढी नगरपालिकाका मेयर डिल्लीराज जोशीलाई एक वर्ष पहिला समस्याको बारेमा जानकारी गराएको उनको भनाइ छ।

उनले भने, ‘म बुझ्छु भन्नू भयो। तर, अझै बुझि सक्नु भएको छैन् कि बुझि नै राख्नु भएको छ थाहा छैन्। नगरपालिकाको कार्यालयमा विद्युत्को बैकल्पिक व्यवस्था भएकोले उहाँले यो समस्या झेल्नु परेको छैन्।’

डोटी घटाललगायत बगरकोट गएको लाइनबाट नै अमरगढीमा लाइन दिने वा स्याउलेबाट आएको लाइनमा बझाङ र बैतडीका लागि अलग प्यानल राखि लाइन डाइरेक्ट पठाउने गरेमा अमरगढीमा हुने विद्युत्को समस्या समाधान हुने पन्तको जिकिर छ।

के भन्छ प्राधिकरण ?
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख रमेश अवस्थी पनि लामो लाइनको कारण बेलाबेला समस्या आइरहने बताउँछन्।

‘स्याउलेबाट डडेल्धुरा, बैतडी हुँदै बझाङसम्म लाइन गएको छ। उता फल्ट आउँदा सिधै स्याउले ट्रिप गर्छ। प्राविधिक हिसाबले हामी प्रयास गरिरहेका छाैं,’ उनले भने, ‘बझाङको सवस्टेशन छैन्। अहिले बन्दैछ ६ महिना जति लाग्छ भन्ने छ।’

हिउँदमा समस्या नभएपनि अहिले प्रतिकुल माैसमका कारण समस्या भइरहेको अवस्थी बताउँछन्।

जनशक्ति र स्रोत साधनको अभावले पनि समस्या भइरहेको उनको भनाइ छ। अत्तरियाबाट प्राविधिक ल्याएर आइरहेको उनले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.