डडेल्धुरा : सामुदायिक विद्यालय भन्ने बितिकै अहिले जो कोहीले पनि विद्यार्थी नभएका रित्ता कक्षाकोठा, न्यून उपलब्धि भन्ने सम्झन्छन्। तर, नेपालका केही सामुदायिक विद्यालयहरू यस्ता पनि छन् जहाँ विद्यार्थीले भर्ना पाउनै मुस्किल हुन्छ। त्यसमध्येको एक विद्यालय हो, अमरगढी नगरपालिका–५ खलंगामा रहेको महेन्द्र माध्यमिक विद्यालय।
महेन्द्र माविले जिल्लामा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ। यसको श्रेय विद्यालयका प्रधानाध्यापक सुरेन्द्र ऐरलाई जान्छ। ०७४ वैशाख १८ गते महेन्द्र माविको प्रधानाध्यापक भएका ऐरले विद्यालयको स्वरुप नै फेरिदिएका छन्।
प्रस्तुत छ, विद्यार्थी तथा अभिभावकको रोजाइमा आफ्नो विद्यालयलाई पार्न सफल महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र ऐरसँग सिमाना न्युजकर्मी शेर भण्डारीले गरेको कुराकानीको सम्पादित अंश :
विद्यालयको समग्र अवस्था कस्तो छ ?
मुख्य फोकस हाम्रो सामुदायिक विद्यालयमा कसरी शिक्षाको गुणस्तर सुधार गर्ने भन्ने मै छ। हामी विशेष गरि अगाडि बढिरहेका छौं। विगत दुई वर्षदेखि संस्कारसहितको गुणस्तरीय शिक्षा, गुणस्तरीय शिक्षासँगै व्यक्तिको संस्कारलाई जोडेर संस्कारयुक्त एक असल नागरिक उत्पादन गर्न सकिन्छ भनेर जोड दिइरहेका छौं।
तर, त्यसका अलावा विद्यार्थीहरूको सर्वाङ्गिण विकास, बौद्दिक, शारीरिक र उसको क्षमता बढाउदै छौं। अहिले विश्वभर ग्लोबल भ्लेजको कन्सेप्ट आइसकेको अवस्थामा एउटा कमिटीमा मात्रै नभएर ग्लोबली रूपमा फिट हुने नागरिक एउटा दक्ष जनशक्ति कसरी उत्पादन गर्न सकिन्छ भनेर लागि परेका छौं। र अब थुप्रै समस्याहरू छन्। त्यससँग जुझ्दै शैक्षिक यात्रालाई अगाडि बढाइरहेका छौं।
बालमैत्री र सिकाइमैत्री कक्षाकोठा बनाउनका लागि भएका प्रयास केके छन् ?
मुख्य त विद्यार्थी केन्द्रीत शिक्षणलाई नै हामीले जोड दिएका छौं। त्योसँगै अहिलेको यो आधुनिक प्रविधिलाई समेत कक्षा कोठासम्म पु¥याउन सकियो भने त्यो पनि प्रभावकारी हुँदो रहेछ भन्ने अनुभव हामीसँग छ। त्यसकारण प्रत्येक कक्षालाई प्रविधि मैत्री बनाउने प्रयास गरिरहेका छौं। त्यसैको सिलसिलामा प्रत्येक कक्षा कोठामा प्रोजेक्टरहरू जडान गरेका छौं।
प्रोजेक्टरको माध्यमबाट अडियो भिज्योल मैत्री शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गरेर विद्यार्थीहरूको सिकाइलाई प्रभावकारी बनाउने दिशामा हामी अगाडि बढेका छौं। र, त्यसैगरि भौतिक पूर्वाधार, कक्षाकोठालाई प्रविधिमैत्री बनाउने, बाल केन्द्रीत शिक्षण विधिहरूको प्रयोग गर्ने कार्य गरिरहेका छौं। विद्यार्थीले पढाइमा मात्रै ए प्लस ल्याएर हुँदैन, संस्कार पनि राम्रो हुनुपर्छ।
एउटा असल भावनाबाट प्रेरित हुनु पर्यो, असल मान्छे बन्नका लागि प्रेरित हुनु पर्यो। त्यो प्रयास हामीले सुरु गरेका छौं। शैक्षिक गुणस्तर बढाउन नेपाली र अँग्रेजी माध्यमबाट पठनपाठन गरेकोले कतिपय निजी विद्यालयबाट विद्यार्थी हामीकहाँ आउने गरेका छन्। छिमेकी जिल्ला, बैतडी, डोटी र बझाङबाट विद्यार्थी आएको कारणले चाप बढेको छ।
समुदायको सहयोग कत्तिको पाउनु भएको छ ?
प्रत्येक्ष, अप्रत्यक्ष रूपमा सहयोग भइरहेको छ। तर, बाहिरी जिल्लाबाट पनि विद्यार्थी आएका छन्, डडेल्धुराकै पनि प्रायः सबै पालिकाका विद्यार्थी यहाँ छन्। त्यसैले हामीले बोलाएको अवस्थामा अभिभावकको उपस्थिति चाहिँ न्यून नै छ।
तर, असहयोग भने छैन्। उहाँहरूले विश्वास गरेर आफ्नो बालबालिकालाई हाम्रो जिम्मा छोड्नु भएको छ। निरन्तर रूपमा प्रत्येक हप्ता वा महिनाको दुई/तीन पटक बसेर अभिभावकसँग अन्तरक्रिया गर्ने त्यो सम्भावना अल्लि कति कम छ। बेलाबेला फोनबाट सम्पर्क हुन्छ। अहिले विद्यालयमा विद्यार्थीको समेत ई हाजिरी जडान छ।
ई हाजिरीको कारणले गर्दा खेरी कुनै बालबालिका कुनै दिन विद्यालयमा अनुपस्थित भयो भने अभिभावकको मोबाइलमा म्यासेज जान्छ। त्यो कारणले पनि मेरो बच्चा नियमित रूपमा स्कुल गइरहेको छकि छैन्, कता गइरहेको छ ? भन्ने सूचना अभिभावकले पाइरहेको अवस्था छ।
शिक्षक र प्रअ भएर काम गर्दाको अनुभव ?
शिक्षक हुँदा आफ्नो विषयमा मात्रै केन्द्रीत भइन्थ्यो। आफ्नो विषयमा कसरी राम्रो गर्ने भन्नेमा ध्यान जान्थ्यो भने प्रअको भूमिकामा हुँदा समग्र विद्यालयलाई कसरी राम्रो बनाउने र समग्र शैक्षिक गुणस्तरको सवालमा कसरी राम्रो बनाउने भन्नेमा ध्यान केन्द्रीत हुन्छ। चाहे त्यो भौतिक पूर्वाधार होस् वा प्रविधिमैत्री वा बालकेन्द्रीत सिकाइका कुरा।
र, अर्को कुरा आफूले सोचे जस्तो जुन आफ्नो भिजन छ त्यो भिजनलाई लागू गर्नका लागि लिडरसिपमा भएपछि सहज हुन्छ। शिक्षकको रूपमा भएपछि सुझाव मात्रै दिने हो। प्रअ भएपछि आफूले चाहेको कुरा आफ्नो भिजन अरू साथीसँग छलफल गरेर त्यो निश्चित कुराहरूलाई लागू गर्न सहज हुन्छ।
सुरु र अहिले अध्यापन गराउँदाको अनुभव ?
अहिले पनि सिकिरहेका छु। ज्ञान भन्ने कुराको सिमा हुँदैन। अहिले आउँदा खेरी ज्ञानको दायरा फराकिलो भयो, अनुभव पनि भयो, दैनिक रूपमा हजारौं विद्यार्थीसँग अन्तरक्रिया भयो।
विद्यार्थीको सामाजिक, आर्थिक, पारिवारिक अवस्था उनीहरूको रुची, क्षमता सबै कुरालाई हेरेर समाजको अपेक्षा सबै कुरालाई हेरेर हामीले त्यही किसिमले डील गर्नु पर्दो रहेछ भन्ने अनुभव बढ्दै गइरहेको छ। त्यसले गर्दा पनि केही सहज भइरहेको छ।
योभन्दा अगाडि विद्यार्थीको चाप थेग्न नसक्ने भन्दै भर्ना प्रक्रिया रोक्नु भएको थियो, अबको कदम के ?
सबभन्दा ठूलो समस्या भनेको हाम्रो दुईवटा कुरा हो। एउटा भौतिक पूर्वाधारको अभाव र अर्को जनशक्ति। कक्षाकोठा भएन भने हामी प्रभावकारी कक्षा सञ्चालन गर्न सक्दैनौं त्यसका लागि विषयगत शिक्षक पनि त्यत्तिकै चाहियो। शिक्षकहरू निजी स्रोतमा राख्न स्रोतको आवश्यक परेर स्रोत खोज्नु पर्ने हुन्छ।
गत वर्ष दुई/तीन सय विद्यार्थी फिर्ता पठाउनु परेको थियो। त्यहीँ कारणले हामी अहिलेदेखि नै चिन्तित छौं। अर्को वर्ष बढेको संख्यालाई कसरी व्यवस्थापन गर्ने भनेर। त्यसकारण अहिलेदेखि नै हामी भौतिक पूर्वाधार पनि थप्ने प्रयास गरेका छौं भने स्रोत जुटाइ रहेका छौं। अहिले निजी स्रोतमा शिक्षकहरू व्यवस्थापन गरेका छौं। र, केही स्वयम् सेवक शिक्षकहरूकोे पनि व्यवस्थापन गरेका छौं।
स्वयम् सेवक शिक्षक राख्नुका दुई वटा कारण छन्। एउटा भनेको पढे लेखेका युवाहरू त्यत्तिकै बसिरहेका छन्। शिक्षा क्षेत्रमा उनीहरूलाई ल्याउन सक्यो भने पढ्ने बानीको विकास हुन्छ केही सिक्छन्।
विद्यालयभित्रै ट्रेनिङ हुन्छ यसले युवाहरूलाई सही बाटोमा लाग्न प्रेरित गर्ने गर्छ। दोस्रो कुरा भनेको विद्यालयको आवश्यकता पूर्ति हुने। अहिले १३/१४ जना स्वयम् सेवक शिक्षक हुनुहुन्छ, उहाँहरूले काम गरिरहनु भएको छ। धेरै विद्यार्थी विद्यालयले थेग्न सक्ने अवस्था छैन्, त्यसको एउटै आधार हो प्रवेश परिक्षा।
शिक्षकहरू दलगत राजनीतिमा आवद्ध भएर शिक्षाको गुणस्तर खस्कियो भन्ने पनि सुनिन्छ, के यो साच्चिकै हो ?
यसमा केही असर परेको होला, यसलाई नकार्न सकिँदैन्। तर, अर्को सत्य के पनि हो भने मान्छे न्युटल कोही पनि हुँदैन्। राजनीतिक विचार हरेक मान्छेले बोकि राखेको हुन्छ।
तर, आफ्नो पेसालाई छोडेर प्रत्यक्ष रूपमा फूल टाइम राजनीति गर्नु भनेको हाम्रो पेसागत धर्म पनि होइन्। बहुदलिय व्यवस्था, लोकतन्त्रमा राजनीतिक आस्था र विचार हुन्छ।
तर, त्यो विचारबाट प्रभावित भएर हामीले आफ्नो पेसागत जिम्मेवारी गर्नुहुँदैन्, पेसागत रूपमा त्यसको असर पर्नु हुँदैन भन्नेनै हो। राजनीतिक रूपमा विचारलाई लादेर त्यो कुराले असर गर्यो भने शैक्षिक क्षेत्र झन् विग्रिन्छ।
शिक्षा सुधार नहुनुमा सरकारको नीतिमा समस्या देख्नुहुन्छ कि नियतमा ?
दुबैमा समस्या छ। शिक्षा क्षेत्र भनेको यस्तो क्षेत्र हो, देशलाई चाहिने हरेक जनशक्ति यही क्षेत्रले उत्पादन गर्दछ। म्यानपावर प्रोडक्सन गर्ने एउटा फ्याक्ट्री हो, शिक्षा क्षेत्र।
त्यसकारण त्यो क्षेत्रलाई सुधार कसरी गर्न सकिन्छ भन्नेमा ध्यान जानु पर्दछ। त्यो क्षेत्रलाई कसरी सुधार गर्ने, त्यहाँ भएका मान्छेलाई कसरी बढी एक्टिभ बनाउन सकिन्छ भन्ने कुरामा नीतिगत रूपमा सरकारको दायित्व हो। र, हामीले पनि त्यो दायित्वबाट पन्छिन् मिल्दैन्।
यो क्षेत्रमा काम गर्ने मान्छेले पनि सरकारले यस्तो गर्यो अब म गर्दैन् भन्न मिलेन्।
अबको योजना ?
विद्यार्थी संख्या प्रत्यक वर्ष बढी रहेको छ। त्यसकारण भौतिक पूर्वाधारलाई अझै विस्तार गर्नुपर्छ, विकास गर्नुपर्छ। त्यसका लागि हामी लागि परेका छौं। आर्थिक रूपमा यसलाई सबल र सझम बनाउनु पर्यो। शैक्षिक गुणस्तरलाई सुधार गर्नु पर्ने धेरै कुराहरू छ।
त्यो सुधार गदेै हामीले समाजलाई असल नागरिक दियो भने समाज र देशले त्यसबाट फाइदा पाउने हो। प्राविधिक रूपमा सिभिल इन्जिनियरिङको डिप्लोमा लेभल हामीले सञ्चालन गरिरहेका छौं, त्योभन्दा माथि ब्याचुलर लेभल सञ्चालन गर्न सकिन्छ कि भनेर त्यतातिर पनि ध्यान दिइरहेका छौं।
प्राविधिक रूपमा अरू फ्याकल्टी पनि सञ्चालन गर्न सकिन्छ कि भनेर त्यता तिर पनि जोड दिइरहेका छौं। अमरगढी बहुप्राविधिक शिक्षालय पनि यहीँ भित्र सञ्चालन गर्नुपर्छ भनेर भौतिक पूर्वाधारको काम चलिरहेको छ।
सदरमुकाममा भएको यो विद्यालयलाई हामीले नमूना शैक्षिक हबको रूपमा विकास गर्न सक्यौं भने जिल्लाको अरू क्षेत्र र छिमेकी जिल्लामा यसको राम्रो प्रभाव पर्छ।